स्थानीय तहमा मनमौजी लगानी, तिलोत्तमामा करोडौंको सिटी कलेज अलपत्र – Nepal Press

स्थानीय तहमा मनमौजी लगानी, तिलोत्तमामा करोडौंको सिटी कलेज अलपत्र

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १३ मा २ विगाह क्षेत्रफलमा ५ वर्षअघि साढे ४ करोडभन्दा बढी लागतमा बनेको सुविधासम्पन्न तिलोत्तमा सिटी कलेज अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको छ ।

यति ठूलो लगानीमा बनेको यो भवन अहिले प्रयोगविहीन मात्रै बनेको छैन, यहाँ रहेका सिसा फोडिएका छन् भने झ्यालहरु समेत फुटाइएका छन् । वरिपरी सामान्य अवस्थामा रहेको पर्खालसमेत भत्कन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

‘स्थानीय स्तरमा भवन अभावमा धेरै समस्या भएको अवस्था छ तर यहाँ भवन भएर प्रयोग नभएको चिन्ताले हामीलाई सताएको छ, भवन सबै खाली छ, प्रयोगविहीन छ, संरक्षण छैन, अस्तव्यस्त भयो’ स्थानीय महेश घिमिरेले भने ।

स्थानीय तहमा अघिल्लो कार्यकालमा यो भवन सिटी कलेज संचालन गर्ने योजनाका साथ बनेको थियो तर भवन बनेपनि न त यहाँ कुनै शिक्षण संस्था आयो न त यसको प्रयोग नै भयो ।

०७६ फागुनमा निर्माण सुरु भएर ०७७ फागुनमा काम सकिए पनि अहिलेसम्म कुनै प्रयोगमा नआएको तिलोत्तमा नगरपालिकामा वरिष्ठ इन्जिनियर प्रदीप वनले बताए । उनका अनुसार पहिले भवन बनाउँदा ३ करोड ५१ लाख ५४ हजार लागेको थियो भने पछि वरिपरीका पर्खाल तथा थप भवन निर्माणमा १ करोड रकम खर्च भएको छ ।

तत्कालीन अवस्थामा नगरपालिकाले सिटी कलेज बनाउने र टियुबाट सम्बन्धन लिने योजनाका साथ यो भवन बनाइएपनि यसका लागि आफ्नै अस्पताल चाहिने बाध्यकारी नियम भएकाले पाउन नसकेको दावी नगरपालिकाका कर्मचारीको छ । टियुबाट सम्बन्धन पाउन नसकेपछि सिटिइभिटीबाट सम्बन्धन लिएर संचालन गर्न खोजिएपनि त्यो पनि पूरा हुन सकेको छैन ।

स्थानीयले बिनाकुनै योजनाबिना केही जनप्रतिनिधि र कर्मचारीको स्वार्थ पूरा गर्न यस्ता योजनामा सरकारी रकम खर्च गरेका कारण यस्ता अवस्था आएको विश्लेषण गरेका छन् । नगरपालिकाका कर्मचारीहरु पनि जनप्रतिनिधिको योजनाविहीन कामले यस्तो अवस्था आएको स्वीकार गर्छन् ।

‘आफ्नो क्षेत्रमा जस लिने होडबाजीले भवन बने तर योजना नबन्दा अलपत्र परेको अवस्था हो, अझै नयाँ जनप्रतिनिधि आएपछि पुराना जनप्रतिनिधिले अघि सारेका योजना रोक्ने र अलपत्र पार्ने काम सबैतिर मौलाएको छ’ स्थानीय भरत अधिकारीले भने ।

चालु आर्थिक वर्षमा मात्रै होइन यसअघि पनि बजेट तथा नगरपालिकाको कार्यक्रममा यसबारै केही सम्बोधन गरिएको छैन ।तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले प्राविधिक र व्यवसायिक शिक्षा पढाउन नगरपालिकाले यति ठूलो लगानी गरेपनि अहिलेसम्म यसको प्रयोग हुन नसकेको बताए ।

उनका अनुसार यसलाई प्रयोग गर्न मात्रै होइन आफूहरुले संरक्षण गर्न समेत नसकेको अवस्था छ । ‘करिब ५ करोड लगानी भएर संरचना तयार भयो, टियु र सिटिइभिटीले कुनै सम्बन्धन दिएन, लुम्बिनी विश्वविद्यालयमा पनि प्रस्ताव गरेको हो, केही भएन, अहिले त्यो संरचनाको संरक्षणसमेत गर्न सकेका छैनौं, सबैतिर तोडफोड भएको छ, क्षति भएको छ’ उनले भने । उनले यो विषयमा कर्मचारीले भन्दा पनि जनप्रतिनिधिले नै समाधानको पहल गर्नुपर्ने बताउँछन् ।

तर यही अवधिमै दाङको तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालय/तुलसीपुर मेट्रो कलेजको स्थापना गरेर संचालन गरेको छ । आधारभूत तथा मध्यमस्तरका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका उपमहानगरपालिकाले शिक्षालयको स्थापना गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कानुनी व्यवस्था भए बमोजिम सबै खालका प्राविधिक शिक्षा प्रदान गर्नका लागि सिटिइभिटीको साझेदारीमा २०७५ सालदेखि शिक्षालय सञ्चालनमा आएको तुलसीपुर मेट्रो कलेज प्रमुख वसन्त आचार्य बताउँछन् । प्रदेश सरकारको ९ करोड, संघीय सरकारको ५ करोड र स्थानीय सरकारको ६ करोड गरी २० करोड लगानी पुगेको यो कलेजमा अहिलेसम्म १२३६ जना विद्यार्थी यो कलेजमा आवद्धता रहेका छन् ।

२०७५ चैत २४ गते स्थापना भई २०७६ माघ ८ गते तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्ररेलले यसको औपचारिक उद्घाटन गरेका हुन् । प्रारम्भमा डिप्लोमा तहको एउटा कार्यक्रम र २२ जना विद्यार्थीहरूबाट सञ्चालनमा आएको कलेजमा हाल विभिन्न तहका १० वटा कार्यक्रमहरू सञ्चालनमा छन् ।

यो कलेजलाई डिप्लोमा, प्रिडिप्लोमा र छोटो अवधिको तालिम सञ्चालन गर्नका लागि तुलसीपुर बहुप्राविधिक शिक्षालय नामाकरण गरिएको छ भने स्नातक तह र सो भन्दा माथिल्लो तहको कार्यक्रम सञ्चालनका लागि तुलसीपुर मेट्रो कलेज नामाकरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा तुलसीपुर मेट्रो कलेजको सञ्चालन गरिएको हो । कलेजमा २०७६ सालदेखि बि.ए.एलएल.बी. कार्यक्रम सञ्चालन हुँदै आएको छ । कानुनी शिक्षाको आवश्यकता र सो अनुसारको जनशक्ति उत्पादनका लागि कलेजले कानुनी शिक्षाको कार्यक्रम सञ्चालनमा आएको हो । कलेजले चिनिया विश्वविद्यालयको सहकार्यमा थप अन्य कार्यक्रम सञ्चालनको तयारी गरिरहेको प्राचार्य आचार्य बताउँछन् ।

कलेजका संस्थापक अध्यक्ष पूर्व नगरप्रमुख घनश्याम पाण्डे प्राविधिक शिक्षालय सञ्चालनको हुटहुटीले सिटिइभिटीसँग समन्वय गरेर आवश्यक कानुन संशोधन गर्दै साझेदारी शिक्षालय सञ्चालनको अवधारणा अगाडि बढाएको बताउँछन् । तुलसीपुर बहुप्राविधिक शिक्षालय स्थानीय सरकार र सिटिइभिटीको साझेदारीमा सञ्चालित नेपालको पहिलो शिक्षालय भएको र यहाँ सञ्चालन गरेपश्चात् विभिन्न स्थानीय सरकारहरूले शिक्षालय सञ्चालन गर्न थालेको उनले बताए ।

प्राविधिक शिक्षामा संघीयता कार्यान्वयनका दृष्टिले यो निकै महत्वपूर्ण उपलब्धि रहेको उनले बताए । स्थानीय सरकार आफैले विश्वविद्यालय सञ्चालनको पहलकदमी लिन सक्दछ भन्ने उदाहरण पेश गरेको पाण्डेले बताउँछन् ।

तुलसीपुर मेट्रो कलेजले विद्यार्थीहरूलाई प्राविधिक ज्ञान मात्रै प्रदान नगरेर स्थानीयस्तरमा आवश्यक जनशक्ति व्यवस्थापनमा पनि उल्लेखनीय भूमिका बहन गरेको उपमहानगरका नगरप्रमुख टिकाराम खड्का बताउँछन् ।

छोरीहरूलाई प्राविधिक शिक्षामा आकर्षित गराई आत्मनिर्भर बनाउनका लागि सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छोरीहरूलाई प्राविधिक शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेकाले ठूलो संख्यामा सो क्षेत्रका छात्राहरूले प्राविधिक शिक्षा अध्ययन गरिरहेका र यसले महिलाहरूको अवस्थामा सुधार ल्याउनका लागि राम्रो हुने खड्का बताउँछन् ।

कलेज स्थापना भएको ४ वर्षमा पूरा हुँदासम्म कलेजले विद्यार्थीहरूलाई प्राविधिक ज्ञान मात्रै प्रदान नगरेर स्थानीयस्तरमा आवश्यक जनशक्ति व्यवस्थापनमा पनि उल्लेखनीय खेलेको र कलेजलाई केवल प्राज्ञिक खालका प्राविधिक विषय अध्ययन गर्ने केन्द्र मात्रै नभएर छोटो अवधिका तालिमहरू समेत प्रदान गर्ने केन्द्रका रूपमा विकास गरेको प्राचार्य आचार्यको भनाइ छ ।

यहाँ अहिले वन विज्ञान डिप्लोमा सिटिइभिटी ४०, बाली विज्ञान डिप्लोमा सिटिइभिटी ४०, फुड एण्ड डेरी टेक्नोलोजी डिप्लोमा सिटिइभिटी ४०, मेकानिकल इन्जिनियरिङ्ग डिप्लोमा सिटिइभिटी ४०, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग डिप्लोमा सिटिइभिटी ४०, फार्मेसी डिप्लोमा सिटिइभिटी ४०, सूचना प्रविधि प्रि डिप्लोमा सिटिइभिटी ३०, मेकानिकल इन्जिनियरिङ्ग प्रिडिप्लोमा सिटिइभिटी २०, इलेक्ट्रिकल इन्जिनियरिङ्ग प्रिडिप्लोमा सिटिइभिटी २०, विल्डिङ्ग इलेक्ट्रिसियन, मोबाइल रिपेयरिङ्ग, बेमौसमी तरकारी खेती, बेकरी, मोटरसाइकल मर्मत आदि छोटो अवधिको तालिम सिटिइभिटी २०, बि.ए.एलएल.बी. स्नातक तह लुम्बिनी बौद्ध विश्वविद्यालय ७० जनाको सीट संख्या तोकेर यहाँ नियमित कक्षा संचालन भएका छन् ।

कलेजमा हाल पूर्वमा सप्तरीदेखि पश्चिम कञ्चनपुरसम्म करिब ३७ जिल्लाका छात्र÷छात्रा यस शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् । संख्यात्मक रूपमा हेर्ने हो भने दाङ, सल्यान, पश्चिम रुकुमका विद्यार्थीको संख्या उल्लेखनीय रहेको र देशभरका विद्यार्थी पठनपाठनको लागि आउने क्रम जारी रहेको जनाइएको छ ।

शिक्षालयमा दाङसँगै सल्यान, रोल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बर्दिया, बाँके, सुर्खेत, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, बाजुरा, बझाङ, दैलेख, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, बारा, सिराहा, सप्तरी, रौतहट, नवलपरासी पश्चिम, गुल्मी, चितवन, कञ्चनपुर, दार्चुला, कैलाली, मकवानपुर, काभ्रे, रसुवा, काठमाण्डौ लगायतका जिल्लाका विद्यार्थीहरूले विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेका छन् ।

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले भने रुपन्देहीको तिलोत्तमा कलेज संचालन प्रकृया रोकिएको विषय शिक्षा मन्त्रालयले सम्बन्धन नदिएकाले समस्या भएको बताउँछन् । उनले तुलसीपुरले पहिले नै प्रकृया पुराएर संचालन गरेपनि तिलोत्तमामा त्यो प्रकृया नपुगेर रोकिएको र यो समस्या अन्य ठाउँमा पनि रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर