विश्वकपमा नेपालका यस्ता छन् ४ प्रतिस्पर्धी, सुपर ८ मा पुग्ने लक्ष्य कति कठिन ? – Nepal Press

विश्वकपमा नेपालका यस्ता छन् ४ प्रतिस्पर्धी, सुपर ८ मा पुग्ने लक्ष्य कति कठिन ?

काठमाडौँ । अमेरिका र वेष्टइण्डिजमा शनिवारदेखि आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । दोस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले विश्वकपअघिका खेल सकिएका छन् । अमेरिकासँगको दोस्रो औपचारिक वार्मअप खेल वर्षाका कारण प्रभावित भएसँगै नेपालको विश्वकप अघिको तयारी सकिएको हो ।

विश्वकप शनिवारबाट सुरु हुने भएता पनि नेपालले मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् ।

आइसीसीको टी–२० वरियतामा दक्षिण अफ्रिका सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ स्थानमा छन् । नेदरल्यान्ड्स १५औँ स्थानमा रहँदा नेपाल १७ औँ स्थानमा छ । पाँच टीममध्ये दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । नेदरल्यान्ड्स भने एसोसिएट राष्ट्रको सूचीमा शीर्ष स्थानमा छ ।

यी पाँच राष्ट्रमध्ये बलियो राष्ट्र दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले एडेन माक्ररमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । दक्षिण अफ्रिकालाई उपाधि दाबेदारको रूपमा पनि हेरिएको छ । दक्षिण अफ्रिकाले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । नेपालले पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै छ ।

हालसम्म टी–२० विश्वकपको सबै संस्करणमा सहभागी भएको दक्षिण अफ्रिका २००९ र २०१४ मा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो पटक दक्षिण अफ्रिका समूह चरणमा शत प्रतिशत नतिजा निकाल्दै सुपर ८ मा पुग्ने सम्भावना देखिन्छ । दक्षिण अफ्रिकाको टोलीमा अनुभवी ब्याटर क्विन्टन डी कक, एडेन मार्करामदेखि बलिङतर्फ कागिसो रबाडाजस्ता विश्व स्तरीय खेलाडी समावेश छन् ।

सोही समूहमा रहेका श्रीलङ्का र बङ्गलादेशको पछिल्लो समयको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । विश्वकपको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलङ्कालाई २० रनले पराजित गरेको थियो । यस्तै केही दिन अघि भएको टी–२० सिरिजमा अमेरिकाले बङ्गलादेशलाई दुई खेलमा पराजित गरेको थियो । क्यानडासँग पराजित भएको नेपालको अमेरिकासँगको दोस्रो खेल भने वर्षाका कारण प्रभावित भएको थियो । पछिल्लो तीन टी–२० खेलमा श्रीलङ्काले दुई र बङ्गलादेशले एक खेलमा जित निकालेका थिए ।

टी–२० विश्वकपमा नेपालले बङ्गलादेशसँग दोस्रो पटक खेल्दै छ । २०१४ मा भएको टी–२० विश्वकपमा नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित भएको थियो । बङ्गलादेशसँग रन रेटमा पछि पर्दै नेपाल दोस्रो चरणमा पुग्नबाट वञ्चित भएको थियो । सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको श्रीलङ्काले गत वर्ष भारतमा भएको एक दिवसीय विश्वकपमा खराब प्रदर्शन गरेको थियो । नेपालले श्रीलङ्कासँग पनि पहिलो पटक खेल्न लागेको हो ।

नेदरल्यान्ड्स नेपालको प्रतिस्पर्धी हो । यी दुई टोलीबिचको खेलमा मिश्रित नतिजा आउने गरेको छ । नेपालमा गत फेब्रुअरीमा भएको आइसिसी विश्वकप लिग–२ मा एकएक खेल जित्दा टी–२० सिरिजमा भने नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेका थिए । २०२२ मा भएको टी–२० विश्वकपमा नेपालबाहेकका सबै टोली सुपर १२ बाट बाहिरिएका हुन् ।

नेपालले पहिलो खेल जुन ४ मा अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी भ्यु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्समाथि जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ ।

पछिल्लो समय टेस्ट राष्ट्रलाई समेत पराजित गरेको नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्दै सुखद सुरुआत गर्ने दाउमा छ । ५ टीम रहेको समूह डीबाट शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् । सुपर ८ मा पुग्ने सम्भावना कायमै राख्न कम्तीमा दुई खेलमा जित अनिवार्य हुन्छ । दुई जितपछि पनि अन्य टीमको नतिजाले अर्को चरणको टुङ्गो लाग्नेछ ।

नेपाललाई ओपनिङ र डेथ ओभरको चिन्ता

नेपाललाई सधैँ टाउको दुखाई बन्दै आएको छ, ओपनिङ पार्टनरसिप । यदि ओपनिङ पार्टनरसिप मजबुद हुन सक्यो भने मध्यम क्रममा आउने व्याटरलाई प्रेसरभन्दा माथि उठेर खेल्न सजिलो हुन्छ । अहिले नेपालको ओपनिङ कुशल भुर्तेल र आसिफ शेखले गर्दा आएका छन् । एकाधबाहेक अधिकांश खेलमा नेपालको ओपनिङ राम्रो हुन सकेको छैन ।

टी–२० विश्वकपको औपचारिक वार्मअप खेलमा नेपालले १८ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । एसिसि प्रिमियर कपमा हङकङ, युएई र साउदी अरेबियाविरुद्ध लगातार शून्य रनमा नेपालले पहिलो विकेट गुमाएको थियो । विश्वकपअघि ओपनिङसँगै नेपालका ब्याटिङ खासै चल्न सकेको छैन ।

अर्को डेथ ओभर बलिङ पनि नेपालको टाउको दुखाई बन्दै आएको छ । डेथ ओभर स्पेशलिष्ट अभिनास बोहरा लगातार महँगो साबित हुँदा डेथ ओभरको बागडोर कसले सम्हाल्ने भन्नेमा चिन्ता थपिएको छ ।

क्यानडाविरुद्धको वार्मअप खेलमा पछिल्लो ३ ओभरमा नेपालले ५५ रन खर्चिएको थियो । फास्ट बलरको रूपमा रहेको सोमपाल कामी र करण केसी पनि डेथ ओभरका चक्का दिन सकेका छैन । उनीहरूको बलले डेथ ओभरमा लाइन, लेन्थ र भेरियसन पाउन सकिरहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर