सर्वोच्चको न्यायाधीश नियुक्तिमा वरीयता मिच्न चलखेल, रिक्त ४ पदका लागि ८ जना दाबेदार – Nepal Press

सर्वोच्चको न्यायाधीश नियुक्तिमा वरीयता मिच्न चलखेल, रिक्त ४ पदका लागि ८ जना दाबेदार

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त भइरहेका ४ न्यायाधीशको नियुक्ति प्रक्रिया आनन्दमोहन भट्टराईको अवकाशभन्दा अघि उनीसहितको न्यायपरिषद् बैठकबाट गर्ने प्रयास अघि बढेको छ ।

प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ र वरिष्ठतम न्यायाधीश भट्टराईको कुरा मिल्ने भएकाले उनी हुँदै ४ न्यायाधीश नियुक्ति टुंग्याउन खोजिएको हो । भट्टराईपछि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत हुनेछन् । यद्यपि राजनीतिक पृष्ठभूमिका व्यक्तिको नियुक्तिमा विश्वम्भर र प्रकाशमान पनि एक ठाउँमा आउने व्यक्ति हुन् ।

चार न्यायाधीशका लागि यसपटक कानून व्यवसायीबाट एकजना र अन्य तीन न्याय सेवाकै व्यक्ति छानिने सम्भावना छ । कानून व्यवसायीबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल एक नम्बर दाबेदार हुन् ।

यसअघि नै न्यायाधीश नियुक्तिका लागि नाम गएर पनि वरिष्ठ अधिवक्ता नभएको भनेर ईश्वर खतिवडाले अडान लिएका कारण पोखरेल रोकिएका थिए । यसपटक फुलकोर्टमा पेश भएका वरिष्ठ अधिवक्ता उपाधि पाउनेको सूची पोखरेल पनि छन् ।

पोखरेल न्यायाधीश भए भने ३ वर्ष प्रधान न्यायाधीश बन्ने भएकाले उनलाई रोक्न न्याय सेवाकै उच्च अधिकृतदेखि न्यायाधीशहरू पनि लागेका छन् । पोखरेललाई विवादमा पार्नका लागि केही दिनअघि रवि लामिछाने र उनीविरुद्ध एउटा रिटसमेत सर्वोच्चमा दायर भएको छ ।

सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशमध्ये एक नम्बरका नृपध्वज निरौलासहित रमेश राजभण्डारी र लोहितचन्द्र शाह प्रमुख दाबेदार हुन् । तर, प्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठतम न्यायाधीश भट्टराईले पछिल्लो वरीयताका श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापाको नाम लिएपछि वातावरण भाँडिएको चर्चा छ । कांग्रेसले नित्यानन्द र शान्ति सिंहको नाममा प्रधानन्यायाधीशलाई दबाब दिँदैछ भने शान्ति सिंहको लागि आनन्दमोहनले पनि अडान लिँदैछन् ।

एकमात्र मुख्य न्यायाधीश रहेका बेला समेत निरौलालाई यसअघि पनि रोकिएको थियो । यसपटक पनि उनलाई रोकेर वरियता मिचिए अन्याय हुने भन्दै निरौलाप्रति पुर्वाग्रह नराख्न न्यायाधीशहरूले पनि सुझाएका छन् । कानूनमन्त्री पदम गिरी वरीयता मिच्ने कुराको विपक्षमा छन् ।

यता कानूनमन्त्री पदम गिरीले यदि वरीयता मिचेर न्यायाधीश नियुक्त गर्ने अवस्थामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको नाममा अडान लिने सम्भावना छ । उनी मुख्य न्यायाधीश नभए पनि कार्यक्षमता र दक्षतामा अब्बल मानिन्छन् ।

कुँवर मन्त्री गिरीको गृहजिल्ला पर्वतका बासिन्दासमेत भएकाले वरीयता मिचिने अवस्थामा उनको नाम अघि सार्ने सम्भावना छ । यसअघि मुख्य न्यायाधीश छुटाएर उच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना र महेश शर्मा पौडेल सर्वोच्चको न्यायाधीश भइसकेका छन् ।

त्यस्तो अवस्थामा निरौला, रमेश राजभण्डारी, लोहितचन्द्र शाह र टेकनारायण कुँवरमध्येबाट मौका आउन सक्छ । राजभण्डारी प्रधान न्यायाधीशका नातेदारसमेत हुन् । उनी अहिले उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश छन् भने लोहितचन्द्र शाह सुर्खेतका मुख्य न्यायाधीश छन् ।


प्रतिक्रिया

One thought on “सर्वोच्चको न्यायाधीश नियुक्तिमा वरीयता मिच्न चलखेल, रिक्त ४ पदका लागि ८ जना दाबेदार

  1. बरिस्ठहरू मध्येको बरिस्ठ र हर बिषयमा निर्विवाद नियुक्ति होस् पार्टीको गन्ध नलागोस शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *