मधेशको मुख्यमन्त्री पाए प्रचण्ड सरकारमा फर्किन्छ जनमत ? – Nepal Press

मधेशको मुख्यमन्त्री पाए प्रचण्ड सरकारमा फर्किन्छ जनमत ?

काठमाडौं । तीन दलबीच भएको सहमतिअनुसार मधेश प्रदेश सरकारको नेतृत्व पाए डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने संकेत गरेको छ । पछिल्लो सहमतिअनुसार नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारको नेतृत्व जनमतलाई दिन तयार छन् ।

त्यहीअनुसार अहिले मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भइरहेको छ । यद्यपि, तीन दलमात्रै मिल्दा सरकार गठनको लागि बहुमत भने पुग्दैछ । अध्यक्ष राउतले सार्वजनिक गरेको पछिल्लो सहमति अनुसार नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको पनि आफूहरूलाई समर्थन रहेको उल्लेख गरेका छन् ।

यद्यपि, यी दुवै पार्टी अहिलेसम्म कुनै औपचारिक निर्णय नगरेर पर्ख र हेरको अवस्थामा छन् । मधेश सरकारमा भएपछि पछिल्लो सहमति अनुसार मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी भइरहेको जनमतका प्रवक्ता डा. शरद यादवले बताए ।

यो पनि पढ्नुहोस् : जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने तीन दलको सहमति

उनले भने, ‘हिजो शीर्ष तहमै सहमति भएपछि प्रदेशमा साथीहरूले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । अब नेकपा एस र लोसपाले पनि समर्थन गर्ने कुरा छ । भएसम्म आजै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी हुँदैछ ।’

मुख्यमन्त्रीको दाबी पेस गर्नको लागि तत्काल नेकपा एस वा लोसपाले पनि समर्थन गर्नुपर्ने हुन्छ । १०७ सदस्यीय प्रदेशसभामा एमालेको सभामुखबाहेक २४, जनमतको १३, माओवादीको ९, लोसपाको ८ (एकजना निलम्बित) र नेकपा एसको ७ सांसद छन् ।

तर, नेकपा एस र लोसपामध्ये पर्ख र हेरको अवस्थामा अडिग रहे जनमतलाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुग्दैन । नेकपा एस अहिले पनि सरकारमा जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव नेतृत्वको सरकारमा सहभागी छ ।

यो सरकार टिकाउन उपेन्द्र यादवले नेपाली कांग्रेस, नेकपा एस र लोसपाको साथ खोजेका छन् । यी चार दल एकैठाउँमा उभिए यादव नेतृत्वको सरकार टिक्नेछ भने जनमतको प्रयास विफल हुनेछ ।

बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा मधेश सरकार टिकाउनेबारे छलफल भएको थियो त्यो बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि सहभागी थिए । त्यहाँ जसपाको १९, कांग्रेसका २२, लोसपाका ८ र नेकपा एसको ७ गरी सरकार टिकाउन पर्याप्त बहुमत छ ।

उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर जनमतले सरकारमा जाने बाटो तय गरिसकेको छ ।

प्रवक्ता यादव भन्छन्, ‘हाम्रो मुख्य प्राथमिकता मधेश सरकारको नेतृत्व हो । अहिले हामी त्यता केन्द्रित भएका छौं। मधेश सरकार गठनपछि संघमा प्रचण्ड नेतृत्वको सरकार जान सकिन्छ। तर, अहिलेसम्म हामीले त्योबारेमा छलफल गरेका छैनौं ।’

६ सांसद भएको जनमतले संघमा एउटा मन्त्रालय पाउने निश्चित छ । यसअघि नयाँ समीकरण बन्नुअघि पनि जनमतले एउटा मन्त्रालय लिएर सरकारमा गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर