तपाईंको मोबाइल चार्ज स्लो छ ? यसरी गर्न सकिन्छ फास्ट – Nepal Press

तपाईंको मोबाइल चार्ज स्लो छ ? यसरी गर्न सकिन्छ फास्ट

काठमाडौं । अहिले स्मार्टफोन खरिद गर्दा बाहिर बनावटसँगै धेरै कुरा हेर्नुपर्ने हुन्छ । स्मार्टफोन खरिद गर्दा धेरैजसोले क्यामरा, पर्फमेन्स, स्मुथनेस, ब्याट्री, रिफ्रेसरेटलगायत हेर्ने गर्छन् । प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसारको स्मार्टफोन खोज्ने गर्छन् ।

स्मार्टफोनको एउटा विषय कमन अर्थात् सबैको लागि एउटै हुन्छ । त्यो हो, मोबाइल चार्जिङमा लाग्ने समय । त्यसैले स्मार्टफोन खरिद गर्नुभन्दा अघि सबैजसो चार्ज गर्दा कम समय लाग्ने अथवा छिटो चार्ज हुने मोबाइल छान्ने गर्छन् ।

स्मार्टफोन अत्यधिक समय चलाउने र गेम खेल्ने प्रयोगकर्ताहरूले मोबाइल खरिदअघि नै चार्जरको वाट हेर्ने गर्छन् । चार्जर वाट भनेको मोबाइलको ब्याट्री चार्ज गर्दा कतिको किलोवाट पावर प्रतिसेकेन्ड ब्याट्रीमा जान्छ भन्ने हो । स्मार्टफोनको चार्जरको वाटअनुसार मोबाइल चार्ज हुन्छ । स्मार्टफोनमा प्रयोग गरिने चार्जरको वाट जति बढी हुन्छ, त्यति नै छिटो स्मार्टफोन चार्ज हुन्छ ।

बजारमा ५ देखि १२० वाटका फास्टर चार्जर उपलब्ध छन् । आजभोलि केही केही स्मार्टफोनहरूमा २०० देखि ३०० वाटसम्मका चार्जर पनि उपलब्ध गराइएको छ । जुन ल्यापटपहरुमा प्रयोग हुन्छ । ठूला र अलि महँगा ब्याट्रीहरूमा मात्रै १०० वाटभन्दा बढीको चार्जर प्रयोग गरिने गरिन्छ ।

कुन रेन्जको चार्जर कति सुरक्षित ?

सामान्य रूपमा हेर्दा ५ देखि १० वाटको चार्जरलाई ‘लो’ अर्थात् न्यून लेबलको चार्जर मानिन्छ । यस्ता चार्जरले अहिलेका स्मार्टफोनहरू चार्ज गर्न ८ देखि १० घण्टा लाग्छ । कम वाटका चार्जरहरू सामान्यतया आधारभूत चार्जिङ आवश्यकताको लागि हो । हतार नभएको अवस्थामा यस्ता चार्जरहरु नै उपयुक्त हुन्छ । १० वाटसम्मको चार्जरले ब्याट्रीमा कुनै जोखिम निम्त्याउँदैन, तरहतार गर्ने र अत्यधिक स्मार्टफोन चलाउनेहरुका लागि उपयुक्त छैन।

१० देखि २० वाटसम्मका चार्जरलाई स्ट्याडर्ड मानिन्छ । यस्ता चार्जरहरू अत्यधिक प्रयोग हुन्छन् । यो सुरक्षित पनि मानिन्छ । ब्याट्रीको लागि चार्जको गति र सुरक्षाबीच सन्तुलन हुनुपर्छ । औसतमा यस्ता चार्जरहरूले फोन मोडेल र ब्याट्री क्षमताको आधारमा करिब १ देखि २ घण्टामा चार्ज फुल हुन्छ । दैनिक प्रयोगको लागि यो रेन्ज एकदमै राम्रो मानिन्छ ।

१८/२० देखि ७० वाटसम्मको चार्जरलाई फास्टर चार्जर मानिन्छ । ७० वाटभन्दा बढी ३०० वाटसम्मका सबै फास्टर चार्जर हुन् । यद्यपि फास्टर चार्जरको सबैभन्दा प्रयोग र उपलब्ध हुने रेन्ज भनेको २० देखि ७० वाट हो ।

तीव्र रूपमा उपग्रेड भएका स्मार्टफोनहरुका लागि यस्ता फास्टर चार्ज उपयुक्त मानिन्छ । नयाँ र अत्यधिक क्षमता भएका स्मार्टफोनहरूमा कम्पनीहरूले उपयुक्त चार्जर उपलब्ध गराएको हुन्छ । फास्ट चार्जरले सामान्यतया ३० मिनेटमा ५० देखि ८० प्रतिशतसम्म चार्ज गर्नसक्छ ।

यसबाहेक १०० देखि २००/३०० वाटसम्मका चार्जर पनि बजारमा उपलब्ध छ, जसले ५ देखि १० मिनेटमै फुल चार्ज गर्नसक्छ । केही स्मार्टफोन कम्पनीहरूले मात्रै १०० भन्दा बढी वाट चार्जरसहितका मोबाइल बजारमा ल्याएका छन् ।

स्मार्टफोन खरिद गर्दा नै उपलब्ध वाटअनुसारको चार्जर प्रयोग गर्दा तपाईंको मोबाइल ब्याट्रीलाई कुनै पनि समस्या आउँदैन । स्मार्टफोन कम्पनीले उपलब्ध गराएको चार्जरले धेरै समय चार्जमै जाने समस्या हुँदा प्रयोगकर्ताहरु वैकल्पिक चार्जर प्रयोग गर्न बाध्य छन् ।

स्मार्टफोनको ब्याट्री क्यापासिटीअनुसार चार्जर प्रयोग गर्नु बुद्धिमानी हुन्छ । त्यसैले आफ्नो स्मार्टफोनको लागि कति वाटसम्मको चार्जर सुरक्षित हुनसक्छ भनेर पनि सर्च गरेर हेर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर