दोस्रो सातामा ‘पुजार सार्की’ र ‘फर्की फर्की’, बक्स अफिस कलेक्सन खै ?
काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गतेदेखि एकसाथ प्रदर्शनमा आएका दुई चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गरेका छन्।
प्रदर्शनमा आएदेखि नै बक्स अफिस कलेक्सन सार्वजनिक नगरेको यी दुवै चलचित्र यति बेला बक्स अफिसकै कारण चर्चामा छन्।
एक साताको बक्स अफिस कलेक्सन एकै पटक सार्वजनिक गर्ने हल्लाबिच चलचित्र भने बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको छ।
चलचित्रले पहिलो साता सुखद व्यवसाय गरेको थियो। दोस्रो साताबाट भने चलचित्रको व्यापार केही सेलाएको छ। बक्स अफिस कलेक्सनकै कुरा गर्ने हो भने पनि जति दुई चलचित्र र कलाकारहरूको चर्चा भएको थियो, त्यहीँ अनुरूपको व्यापार भने भएको छैन। बुझिए अनुसार चलचित्रले लगानी उठाउनु भन्दा बढी फाइदा भने गरेको छैन।
दुवै चलचित्रका वितरकहरूले चलचित्रले राम्रो व्यवसाय गरेको बताए पनि कति गर्यो भनेर अहिलेसम्म खोलेका छैनन्। यता, दर्शकहरू भने चलचित्रको बक्स अफिस कलेक्सन कहिले सार्वजनिक हुन्छ भन्ने पर्खाइमा छन्।
जे भए पनि चलचित्र भने दोस्रो सातामा प्रवेश गरेको छ। दुवै चलचित्रले दोस्रो साता पनि राम्रो शो पाएका छन्।
सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको छ।
रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेको ‘फर्की फर्की’ ‘टाइम लुप’ कथामा बनेको लभस्टोरी चलचित्र हो।
सोही मितिबाट लागेको अक्रो चलचित्र हो,‘पूजार सार्की’। आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य भूमिकामा रहेको चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन।
चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । सुवास भुसालले निर्माण गरेको चलचित्रले जातीय विभेदविरुद्ध आवाज उठाएको छ।