‘भाजपाई मिडिया मण्डली’ का एक्जिट पोलको भ्रममा नपर्न अखिलेश यादवको आह्वान
नयाँ दिल्ली । भारतको समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भोलि शनिवार निर्वाचन सकिए लगत्तै भारतीय टेलिभिजनहरूबाट आउने एक्जिट पोलको विश्वास नगरी मतपेटिकाको रक्षा गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
उत्तर प्रदेशको प्रभावशाली दल समाजवादीका अध्यक्ष यादवले शुक्रवार वक्तव्य जारी गर्दै एक्जिट पोलमार्फत विपक्षी दलका कार्यकर्ताको मनोबल गिराएर मतगणनामा धाँधली गर्ने भाजपाको विगतदेखि कै रणनीति रहेको दाबी गरेका छन् ।
उनले भनेका छन्- म मेरो कार्यकर्ता र हिँडिया गठबन्धनका सबैलाई यो अपिल गर्दै छु कि, भाजपावालाले भोलि साँझ चुनाव सकिनासाथ आफ्ना मिडिया मण्डलीका विभिन्न च्यानलबाट भाजपा लगभग ३०० सीटका आसपास पुगिसकेको छ भनेर एक्जिट पोलका नाममा भ्रम फैलाउने योजना बनाएका छन् । जुन सरासर झुट हो । यसबाट तपाईँहरूको मनोबल कमजोर बनाउने र भ्रष्ट कर्मचारीको आडमा मतगणनामा धाँधली गरेर जित्ने उनीहरूको योजना छ ।
यादवले भाजपाई एक्जिट पोलको बहकाबमा नआउन र पुरै सतर्क भएर मतगणना स्थल र मतपेटिकामा नजर लगाइराख्न आह्वान समेत गरेका छन् । उनले मतगणना सकेर जितको प्रमाणपत्र नलिएसम्म चनाखो रहन भन्दै चुनाव जितेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।