मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकामा कार्यरत इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब-इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं सातका तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिका ७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको पाइएको छ ।

अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न माग दाबी गरेको प्रवक्ता घिमिरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *