राष्ट्रियसभा : जेठ मसान्तसम्मको बैठकको कार्य तालिका सार्वजनिक – Nepal Press

राष्ट्रियसभा : जेठ मसान्तसम्मको बैठकको कार्य तालिका सार्वजनिक

आइतबारदेखि बजेटमाथिको छलफल सुरु हुने

काठमाडौं । राष्ट्रिय सभाको जेठ मसान्तसम्मको बैठकको कार्य तालिका सार्वजनिक भएको छ । शुक्रवार सिंहदरबारमा सम्पन्न राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको कार्य तालिका टुंगो लगाएर सार्वजनिक गरेको हो ।

कार्य तालिका अनुसार अब जेठ मसान्तसम्ममा राष्ट्रिय सभाको पाँच दिन बैठक बस्नेछ । अब २० गते आइतबार बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु हुनेछ ।

२० गते नै लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निणर्यार्थ प्रस्तुत हुने, मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने र सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ ।

२१ गते, २२ गते पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल नै जारी हुनेछ । २२ गते नै राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।

२८ गते सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल तथा मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइने कार्य तालिका छ ।

महिनाको अन्तिम बैठक अर्थात् २९ गते राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश हुने तथा सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्य तालिका छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद भट्टराईले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर