कृषिमा यान्त्रीकरण गर्दै सुनकोशी, १४ हजारमै ट्याक्टर पाएपछि किसानहरू खुसी (तस्बिरहरू) – Nepal Press

कृषिमा यान्त्रीकरण गर्दै सुनकोशी, १४ हजारमै ट्याक्टर पाएपछि किसानहरू खुसी (तस्बिरहरू)

सिन्धुपाल्चोक । कृषिमा यान्त्रीकरण गर्दै कृषिमा सुधार ल्याउने उद्देश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरूलाई मिनिटेलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार कृषकहरूका लागि सहुलियतमा २ सय १० कृषकहरूलाई मिनी टेलर उपलब्ध गराएको हो ।

गाउँपालिकाले मिनी टेलर खरिदका लागि विद्युतीय प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनी टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनी टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।

कुल २८ हजार ८ सय रुपियाँमा मिनी टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४ हजार ४सय उपलब्ध गराएको र कृषकहरूले पनि ५० प्रतिशतको १४ हजार ४ सय रुपियाँ गाउँपालिकाको खातामा जम्मा गराएपछि कृषकहरूलाई मिनी टेलर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा मिनी टेलर लिनका लागि आएका कृषकहरू असाध्यै कम रकममा अनुदानमा मिनी टेलर पाएपछि खुसी भएका थिए ।

बजारमा न्यूनतम ४० देखि ५० हजार सम्म पाउने यस्ता मिनी टेलर गाउँपालिकासँगको सहकार्यमा १४ हजार २ सयमा नै पाउँदा आफूलाई खुसी लागेको सुनकोशी–१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताए ।

गाउँपालिकाले ७ हर्षपावरको मिनी टेलर कृषकहरूलाई उपलब्ध गराएको छ । जिल्लाका १२ स्थानीय तह मध्ये ठुलो परिणाम र सस्तोमा मिनी टेलर उपलब्ध गराउने सुनकोशी गाउँपालिका मात्रै हो ।

यो वर्ष गाउँपालिकाले पहिलो प्राथमिकतामा समूहहरूको लागि मात्रै मिनी टेलर उपलब्ध गराउने भने पनि समूह बाहिरबाट पनि मिनी टेलरको माग आएकाले आवेदन दिने सबैलाई मिनी टेलर उपलब्ध गराइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।

 

आउने वर्ष गाउँपालिकाले आवश्यकताको आधारमा सबैलाई मिनी टेलर उपलब्ध गराउने र त्यसको संरक्षण गरेर कृषिमा सुधार ल्याउनका लागि गाउँपालिका अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर