कांग्रेसका ‘सुहाङ’हरु के चाहिरहेछन्, के खोजिरहेछन् ? – Nepal Press

कांग्रेसका ‘सुहाङ’हरु के चाहिरहेछन्, के खोजिरहेछन् ?

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम नै किटेर सहकारी ठगीमाथि छानबिन समिति बनाउनुपर्छ भनेर संसद चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्ततः नाम लेखाउन नसके पनि गृहमन्त्रीको सिम्बोल नम्बर राख्न सकियो भन्दै संसदको गतिरोध टुंग्याएको छ । प्रतिपक्षीका कारण संसद अवरुद्ध भएको यो पहिलो पटक होइन । पटक पटक भइसकेका छन् । देशको कानून बनाउने थलो यो वा त्यो बहानामा बन्द हुनु दुःखद पक्ष हो । यसमा नाफाभन्दा घाटा धेरै छ । आवधिक चुनावबाट चुनिएका जनप्रतिनिधिहरुको काम गर्ने थलोले काम नगर्दा त्यसले जनताको चाहनाको सम्बोधनलाई दरकिनार गर्छ ।

त्यसकारण संसद अवरुद्ध पार्ने परिपाटीलाई बन्द गरिनुपर्छ । काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धरानमा हर्क साङपाङ, धनगढीमा गोपी हमालको सत्तारोहणको उत्साहपछि जन्मिएको रास्वपाको उदयले नेपाली संसदको अनुहारमा केही परिवर्तन ल्याएको छ । यसले नेपाली जनतामा युवा र नयाँले मात्रै देश बनाउन सक्ने मनोविज्ञान बढ्दै गएको छ ।

रास्वपासँगै नेकपा एमालेलगायतका दलबाट संसदमा युवा र नयाँ अनुहारहरुको उपस्थिति उल्लेख्य मात्रामा छ । सुहाङ नेम्बाङ, पदम गिरी, महेश बर्तौला, सुनिता बराल, तोसिमा कार्की, सविता गौतम, विनिता कठायत, निशा डाँगी संसदमा चिनिने युवा अनुहार हुन् । उनीहरुको शैक्षिक पृष्ठभूमि र क्षमताले आमयुवा झैं संसारका कुनै पनि विकसित मुलुकमा गएर भविष्य सुरक्षित गर्न सक्छन्, तर उनीहरुको राजनीतिक क्षेत्रको रोजाइले आफूमात्र नभई समग्र युवालाई देश बनाउनुपर्छ र सकिन्छ भन्ने सन्देश दिइरहेको छ । उनीहरुमध्ये धेरै जना पहिलो पटक संसदीय अभ्यास गरिरहेका छन्, तर नेपाली कांग्रेस- जो आफूलाई देशको एकमात्रै लोकतान्त्रिक पार्टी भएको दाबी गर्छ, उसले यसरी संसद अवरुद्ध गर्दा सुहाङहरु के सोचिरहेका होलान् ?

जबकि यसअघि आफू सत्तासीन हुँदा एमालेलगायतका प्रतिपक्षी दलले संसद अवरुद्ध पार्दा यसो गर्न नहुने र जनताको कानून बनाउने थलो बन्धक हुनु र जेका लागि व्यवस्था भएको हो, त्यो काम गर्न नपाउनु जनतामाथिको धोका हो भन्ने आवाज बुलन्द गरेको थियो, तर प्रधानमन्त्री पुष्पकमल दाहालको काँध फेराइसँग सरकारबाट अनिच्छित बहिर्गमन भएको कांग्रेसले रास्वपा सभापति सहकारी हिनामिनामा संलग्न रहेको आरोप लगाउँदै संसद अवरुद्ध गरेको थियो । जबकि सहकारी ठगीको विषय ऊ सरकारमा रहँदा नै सार्वजनिक भइसकेको विषय थियो । त्यतिखेर सत्ताको स्वादमा भूलेको कांग्रेसका लागि त्यो छानबिनको विषय हो भन्ने दूरदूरसम्म थिएन ।

कांग्रेसको सरकारमा हुँदा एउटा र नहुँदा अर्को चरित्र प्रस्तुत गर्ने शैली संसदमा पहिलो पटक पुगेका सुहाङहरुले यसको विकल्प सोच्नुपर्छ र अबको संसद यो रुपमा चल्न हुँदैन भनेर नै सोचिरहेको हुनुपर्छ ।

कांग्रेसको सरकारमा हुँदा एउटा र नहुँदा अर्को चरित्र प्रस्तुत गर्ने शैली संसदमा पहिलो पटक पुगेका सुहाङहरुले यसको विकल्प सोच्नुपर्छ र अबको संसद यो रुपमा चल्न हुँदैन भनेर नै सोचिरहेको हुनुपर्छ । यसरी संसदलाई आफ्नो जुँगाको लडाइँ गर्ने रणस्थल बनाउने कामले युवा सांसदहरुलाई कस्तो सन्देश गइरहेको छ त ? यो एउटा मननीय प्रश्न हो । के यो अभ्यासले नेपालको संसदीय प्रणाली परिस्कृत र थप विकसित होला ? के यसले जनतामा आशा भर्ला ? के देश विकास र लोकतान्त्रिक अभ्यासको समृद्धिको लक्ष्यतर्फ अगाडि बढ्ला ? के संसद अवरुद्ध नगर्ने कुनै विकल्पको खोजी हुनसक्दैन ? पक्कै पनि यतिबेला सुहाङहरुले यस्तै प्रश्न गरिरहेको हुनुपर्छ ।

युवा सांसदहरुलाई यसको उत्तर दिन दलहरुले ढिला गर्नुहुँदैन । उनीहरुको केही गर्ने ऊर्जालाई मुर्झाउन दिनुहुँदैन । विभिन्न कालखण्डमा भएका प्रगतिशील राजनीतिक परिवर्तनका सिपाही र साक्षीसमेत रहेका ठूला दलका वर्तमान नेतृत्वले युवा सांसदहरुलाई संसद नै चलन नदिइ बन्धक बनाइराख्ने र आफ्नो अडाउन मनाउने शैलीभन्दा फरक अभ्यासको बाटो देखाउनुपर्छ । यसो हुँदा संसदले आफ्नो बिजनेस गर्न पाउनेछ भने युवा सासंदहरुले आफ्नो ऊर्जालाई सिजर्नशील बनाउने मौका पाउनेछन् । उमेर पुगेको भनिएका नेताहरुको राजनीतिक अनुभव युवा सांसदका लागि पथप्रदर्शक हुनुपर्छ ।

देशमा अहिले मिसन ८४ को धेरै चर्चा भइरहेको छ । यस्तो यो वा त्यो बहानामा संसद अवरुद्ध गर्ने अभ्यासको ठूलो घाटा परम्परागत दललाई हुने देखिन्छ । उनीहरुले आफ्ना युवा मतदातामा चुम्बकीय आकर्षण कायम राखिराख्ने हो भने यस्ता अभ्यासलाई छोड्नैपर्छ । अहिलेको युवा पुस्ता रफ्तार चाहन्छ, तर यो रफ्तारको बाटोमा स्पिड ब्रेक प्रशस्तै छन् । पुराना दलले आफ्ना युवा सासंदलाई उनीहरुको रफ्तारको सन्तुलनका लागि प्रेरणा दिनुपर्छ ।

पहिलो पटक संविधानसभामा गगन थापा निर्वाचित हुँदा युवाहरुमा देखिएको उत्साह र शान्तिपूर्ण राजनीतिमा आएर संविधानसभा छिरेको माओवादी त्यतिबेला युवा अनुहार नै थियो । गगन, गुरुराज घिमिरे, प्रदीप पौडेलहरुको राजतन्त्रमाथिको ठाडो चुनौतीको साहस धेरै युवाका लागि एउटा उत्साह थियो । कांग्रेस नेतृत्वले राजतन्त्रको विकल्प खोज्ने औपचारिक घोषणा गर्नुअघि गगन, गुरु र प्रदीपहरुले देखाएको त्यो साहसले अबको नेता कस्तो हुनुपर्छ भन्ने एउटा तस्विर दिने काम गरेको थियो, तर कालान्तरमा त्यो साहसको ऊर्जा हराइरहेको महसुस हुन्छ ।

विभिन्न कालखण्डमा भएका प्रगतिशील राजनीतिक परिवर्तनका सिपाही र साक्षीसमेत रहेका ठूला दलका वर्तमान नेतृत्वले युवा सांसदहरुलाई संसद नै चलन नदिइ बन्धक बनाइराख्ने र आफ्नो अडाउन मनाउने शैलीभन्दा फरक अभ्यासको बाटो देखाउनुपर्छ ।

राजनीतिक दलले परिवर्तनको हावा बुझेर त्यसलाई सही दिशा दिन नसक्दा कांग्रेसले आफ्नो पकड गुमाउँदै गइरहेको छ भने अर्को प्रमुख दल एमालेले भने महसुस गर्न सुरु गरिसकेको छ । कम आँकिएका बालेन, हर्कले देखाइरहेको साहस र गरिरहेको कामले पुराना र स्थापित भनिएका दलहरुको मताधार हल्लिने क्रम सुरु भएको छ । यहाँ बालेन र हर्कले क्षमता प्रदर्शन गरिरहँदा अनुभवले लेस पार्टीहरुले युवा जमातलाई आफूमै समेट्ने कुरामा ध्यान दिनु अति जरुरी भइसकेको छ ।

यतिबेला कांग्रेसले बहुमत नल्याएको २५ वर्ष पुगिसकेको छ । एमालेले माओवादी केन्द्रसँगको एकीकरणपछि पाएको अवसर केपी ओली, माधव नेपाल र प्रचण्डको सत्ता आकांक्षाले दुर्घटनामा पर्‍यो । आफ्नो पकड बनाउन अन्यलाई भन्दा यी पार्टीलाई सहज र कम समय भए पुग्छ । बलियो कार्यकर्ता पंक्ति भएको कांग्रेस र क्याडरबेस पार्टीले शक्तिशाली रहँदै आएको नेकपा एमालेले नेपाली राजनीतिमा आफ्नो पकड र सान्दर्भिकता कायम राख्ने हो भने यो ८० को दशकमा सुहाङहरुको शक्तिलाई प्रयोग गर्नुपर्छ । र, त्यो शक्ति भनेको जिम्मेवारी हस्तान्तरण हो ।

सोही कुरालाई अनुसरण गर्न थालेको एमालेले तल्लो तहदेखिका सबै कमिटीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । यसै वर्षको सुरुमा कांग्रेसका शालीन नेतामा पर्ने गुरुराज घिमिरेले दुई वटा लेखमार्फत कांग्रेसको सत्ताशक्तिमाथिको पुनरागमनका लागि गर्नुपर्ने कामको सुझाव दिँदा बेलायतको १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बनेको प्रसंगलाई उल्लेख गरेका छन् ।

गुरुले उदाहरण दिँदै ब्लेयरले कसरी प्रचण्ड बहुमत ल्याएर प्रधानमन्त्री बनेको कुरा लेखेका छन् । गुरुका अनुसार त्यतिबेला ब्लेयरले प्रचण्ड बहुमत ल्याउनुको एउटै कारण भनेको ‘लेबर पार्टीलाई समयको आवश्यकताअनुरूप न्यु लेभलमा परिणत गर्ने ब्लेयरको अठोट एवं ऐतिहासिक सफलता र नीति तथा कार्यक्रममा व्यापक परिमार्जन’ हो ।

कांग्रेस नेतृत्वले राजतन्त्रको विकल्प खोज्ने औपचारिक घोषणा गर्नुअघि गगन, गुरु र प्रदीपहरुले देखाएको त्यो साहसले अबको नेता कस्तो हुनुपर्छ भन्ने एउटा तस्विर दिने काम गरेको थियो, तर कालान्तरमा त्यो साहसको ऊर्जा हराइरहेको महसुस हुन्छ ।

आज कांग्रेस यस्तै परिवर्तनको पर्खाइमा छ । गगन, विश्वप्रकाशले बेलाबेलामा यसमा काम गर्न खोजे पनि संस्थापनका अगाडि कमजोर रहेका उनीहरुको माग सुनुवाइ भएको छैन । यसको कारण हो- संस्थापनको पहिलो रोजाइमा पुनः सत्तारोहण रहेको छ । कांग्रेसको यो अभिष्टमा जसपा फुटले ‘ब्रेक’ लगाइदिएको भए पनि पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कसरत छाडेका छैनन् । उनले गरेको कसरत मधेशी दल र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसँग गरेको भेटघाटबाट स्पष्ट भइसकेको छ । यसले कांग्रेस संस्थापन अझै पनि परिवर्तनको पक्षमा नरहेको देखाएको छ । यसले कार्यकर्तामा उत्साह आउन सकेको छैन, असन्तुष्टि बढ्दै गएको छ । स्वर्णिम वाग्लेको बहिर्गमन तथा हालै सम्पन्न उपनिर्वाचनका नतिजाहरुले ८४ मा एक्लै लड्दा कांग्रेसको ‘हालत’का बारेमा केही संकेत पक्कै गरेको छ ।

गुरुले आफ्नो लेखमा यही चिन्ता व्यक्त गरेका छन् । यस्तै आमनिर्वाचनमा प्रचण्ड-देउवा-माधव गठबन्धनसँग लगभग एक्लै भिडेको एमालेले पछिल्लो समय आफूलाई ‘करेक्सन’ गर्न सुरु गरिसकेको छ । बालेन र हर्कको उदयलाई सतर्कतापूर्वक नियालिरहेको यो ‘तातो हावा’लाई आफू अनुकूल पार्न आफ्नो युवा पंक्तिलाई फ्रन्टलाइनमा ल्याउन सुरु गरिसकेको छ । यसैको कारण एमाले नेतृत्व पहिलेभन्दा कम आक्रामक, बढी संयमित र थप परिपक्व भइरहेको छ । युवाहरुलाई प्रदान गरिरहेको प्रमुख जिम्मेवारी यसैको संकेत हो ।

प्रमुख सचेतकमा महेश बर्तौला, सचेतकमा सुनिता बरालको छनोट तथा इलाम- २ मा सुहाङलाई उम्मेदवार बनाइनु, सूर्य थापालाई संसदीय छानबिन समितिको संयोजक बनाउने कुरा तर समितिका लागि पदम गिरीले गरेको समन्वयकारी भूमिकाले एमालेले आफूलाई थप ऊर्जाशील र सक्रिय बनाएको सजिलै बुझ्न सकिन्छ । पार्टी अध्यक्ष ओलीले दुईदुई वटा मृगौला प्रत्यारोपणपछि महसुस गरिरहेको युवा शक्ति अभिव्यक्ति र काममा देखिइरहेको छ । यसै वर्षको वैशाखको पहिलो साता गोदावरीस्थित सनराइज हलमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठकमा ओलीले पछिल्लो साढे दुई वर्ष पार्टी निक्कै प्रतिकूल परिस्थितिमा रहेको बताए ।

कांग्रेस-माओवादी गठबन्धन भत्काएर बनेको आफूहरु सम्मिलित गठबन्धनले पार्टी सहज अवस्थामा आएको र केही सन्तोषको सास फेर्न पाएको उल्लेख गरेका थिए । उनका यी अभिव्यक्तिमा पार्टी सशक्तीकरण र सुदृढीकरणमा उनको प्रतिबद्धता थप बलियो हुँदै गएको बुझ्न सकिन्छ । उता कांग्रेस व्यापक पुनरुत्थानको पर्खाइमा छ भने एमाले ८४ सम्म एक्लै भिड्ने तयारीमा जुटिसकेको छ । यी दुबैका लागि अध्यक्ष ओलीले युवा अनुहार र सही कार्यदिशा समातिसकेका छन् । उदाउँदो रास्वपा र बालेन तथा हर्कले खोल्ने अनुमान गरिएको नयाँ पार्टीसँग गर्नुपर्ने सम्भावित चुनौतीको सामना प्रमुख हो । यसका लागि एमालेलाई सत्ताबाट सुशासन र विकासमा काम गरेर देखाउने मौका छ । त्यागसहित सत्तामा रहेको एमाले जस्तो प्रगतिशील पार्टीका लागि फेरि यो ठूलो चुनौती होइन । मात्र के हो भने आफूहरु परिवर्तनकामी नै रहेको कुरा बोलीमा भन्दा व्यवहारमा देखाउने काम एमालेले गर्नुपर्छ न कि गुरुराज घिमिरेले भने जस्तै कांग्रेसले आफ्ना हारहरुमाथि राखेको संस्थागत मौनता र संसद बन्धक गर्ने अलोकप्रिय कदम ।

कार्यकर्तामा उत्साह आउन सकेको छैन, असन्तुष्टि बढ्दै गएको छ । स्वर्णिम वाग्लेको बहिर्गमन तथा हालै सम्पन्न उपनिर्वाचनका नतिजाहरुले ८४ मा एक्लै लड्दा कांग्रेसको ‘हालत’का बारेमा केही संकेत पक्कै गरेको छ ।

संसद बन्धक बनाउँदा कांग्रेसलाई घाटा नै पुगिरहेको छ । गत आमनिर्वाचनमा रास्वपामा सरेको भोट कांग्रेसी भोट भएको तथ्य सार्वजनिक नै छ । विशेषतः उसको युवा मत हलचलमा छ । कांग्रेसले संसद अवरुद्धले रास्वपा, हर्क र बालेनको शक्ति बढाउने काममात्र गर्छ भन्ने कुरा जति चाँडो बुझ्यो, त्यति राम्रो । जुन कुरा एमालेले बुझिसकेको छ ।

छिमेकी राष्ट्र भारतमा कांग्रेस आईको हविगत सम्झँदा धेरै कुरा ठीक होला । संसारकै ठूलो लोकतन्त्रको सारथि मानिने पार्टीमाथि भारतीय जनता पार्टी (भाजपा)को शक्ति आर्जनले यतिबेला लोकतन्त्रमाथि भइरहेको धावाको कारण उसले आफूलाई समयानुकूल परिवर्तन नगर्नाले नै भएको हो । हाल मत परिणामको हावा कांग्रेस आईतिर सरेको चर्चा र अनुमान जारी निर्वाचनका क्रममा आइरहेको छ । यो कति सत्य हो जुन ४ बाट सुरु हुने मत गणना परिणामले देखाउने नै छ । नेपाली कांग्रेसले यो नतिजालाई बेलैमा बुझेर अघि बढ्नु जरुरी छ ।

पछिल्लो संसद अवरुद्ध गर्ने कदम कांग्रेसका लागि उल्टो सावित भएको छ । कारण जुन रुपमा उसले आक्रामक रुपमा सदन अवरुद्ध ग¥यो, पछि उसका लागि सुरक्षित अवतरण खोज्नुपर्ने अवस्था आइलाग्यो । जसका कारण संसदीय छानबिन समिति रविको नाम नै किटेर चाहियो भनेको उसले सिम्बोल नम्बर राख्न सफल भइयो भन्ने तर्क दिँदै फेस सेभिङ गर्नुपर्‍यो । अब कांग्रेसले युवा पंक्तिलाई अघि लगाइ संसद अवरोध जस्तो ‘आउटडेटेड’ कार्यशैलीभन्दा पर रहेर पार्टी र सदनमा आफूलाई परिवर्तनको बाटोमा हिँडेको सन्देश दिन ढिला भइसकेको छ ।

बझाङ र इलाम- २ को जीतसँगै सत्ता गठबन्धन भत्काएर सत्तारोहण गरेको एमाले अहिले हौसिएको छ । अब उसले सत्ताको सदुपयोग र एमाले युवा तथा परिवर्तनको संवाहक हो भन्ने सन्देश दिन थालिसकेको छ । यो सुरुवातले ओलीले ‘मेरा दाह्रीजुँगा काला हुन लागे’ भन्ने भनाइलाई गराइमा ‘भिजिबल’ बनाउन सुरु गरिसकेको देख्न सकिन्छ । एमालेले आफ्ना सुहाङहरुलाई सँगै हिँडाउन सुरु गरिसकेको यस अवस्थामा कांग्रेसले आफ्ना ‘सुहाङहरुले के चाहिरहेका छन्’ भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी भइसकेको छ । उसका सुहाङहरु उत्तरको पर्खाइमा छन् । कम्तीमा उनीहरु संसद बन्धक भएको हेर्न चाहिरहेका छैनन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसका ‘सुहाङ’हरु के चाहिरहेछन्, के खोजिरहेछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *