नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने निश्चित, लोसपा पनि छलफलमा – Nepal Press

नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने निश्चित, लोसपा पनि छलफलमा

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी (एस)पार्टी सहमतिमा आएसँगै मधेश प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बन्ने निश्चित भएको छ । पहिलो चरणमा सरकारको नेतृत्व जनमत पार्टीले गर्नेछ ।

मधेशमा अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । जसपा नेपाल विभाजन भएको केहीदिनमै मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन् ।

उनले संवैधानिक व्यवस्था अनुसार जेष्ठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन् । तर त्यसअघि नै जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सत्ता गठबन्धनका नेताहरु बताउँछन् । त्यसका लागि गठबन्धनमा आवद्ध दलका सांसदहरु काठमाडौं पुगेर दौडधुप गरिरहेका छन् ।

दुई दिन अगाडि जनमत, एमाले र माओवादीबीच जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने लिखित सहमती भएको थियो । जुन बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत स्वयं उपस्थित थिए ।

तीन दलले गरेको लिखित सहमतिमा नेकपा एस र लोसपा पनि नयाँ सरकारमा सहभागी हुने उल्लेख थियो । उक्त सहमतिमा लोसपाले आपत्ति पनि जनाए । नेकपा एसका सांसदहरु पनि नयाँ सरकारबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका थिए । तर यी दुवै दल सरकारमा जाने लगभग टुङ्गो लागेको छ ।

सत्तारूढ नेकपा एसले मधेशमा नयाँ सरकार बनाउन आनाकानी गरेपछि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरे । स्रोतका अनुसार भेटमा अध्यक्ष नेपालले सत्ता गठबन्धनमै रहने र मधेशमा नयाँ सरकार बनाउन सकारात्मक रहेको बताएका थिए ।

ओली र प्रचण्ड भेट्नुअघि अध्यक्ष नेपाललाई एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादव, माओवादी मधेश संसदीय दलका नेता भरत प्रसाद साह र जनमतका मधेश संसदीय दलका नेता महेश प्रसाद यादव पनि भेटघाट गरेका थिए । उनीहरुलाई पनि अध्यक्ष नेपालले मधेशमा नयाँ सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ ।

नेकपा एस नयाँ सरकार बनाउन सहमतिमा आइसकेपछि लोसपा पनि सकारात्मक देखिएको छ । माओवादी संसदीय दलका उपनेता यूवराज भट्टराईले लोसपासंग पनि संवाद भइरहेको बताए । उनले भने, ‘लोसपा पनि नयाँ सरकारमा सहभागी हुन्छ । त्यसमै लागेका छौं । आज लोसपाका सांसदहरु काठमाडौं आउदैछन् ।’

स्रोतका अनुसार सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेता र उपनेताहरु नयाँ सरकारबारे सबैथोक फाइनल गरेर आजै काठमाडौंबाट जनकपुरधाम फर्किने छन् । उनीहरु बेलुकासम्म प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने बहुमत आफूहरुसंग रहेकाले नयाँ सरकार गठनको आह्वान गर्न ध्यानाकर्षण गराउने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर