‘संघीय निजामती विधेयक कर्मचारीमैत्री बनाउन सरकार प्रतिबद्ध’ – Nepal Press

‘संघीय निजामती विधेयक कर्मचारीमैत्री बनाउन सरकार प्रतिबद्ध’

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले संघीय निजामती विधेयकलाई कर्मचारीमैत्री बनाउन लाग्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) शिक्षा विभागीय समितिले गरेको कर्मचारी बधाई, बिदाइ तथा शुभकामना कार्यक्रममा स्वकीय सचिव मल्लले जनसेवालाई अझै प्रभावकारी बनाउन कर्मचारीहरुसमक्ष आग्रह गरे ।

सरकार निजामती कर्मचारीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा शिक्षा सेवा हुँदै सहसचिवमा नाम निकाल्न सफल दीपेन्द्र सुवेदी, कृष्ण पौडेल र महेन्द्र पराजुली तथा शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका तारा पाण्डे, युवराज अधिकारीलगायतलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । त्यस्तै उमेर हदका कारण सेवानिवृत्त डा. कुलप्रसाद खनाल, डम्बर आङदाम्बेलगायतलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठन (निजामती)का अध्यक्ष अम्बदत्त भट्टले संघीय निजामती कर्मचारी ऐनका मस्यौदा सच्याउन पहल भइरहेको जानकारी दिए ।

शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बढुवा भएका कर्मचारीलाई बधाई दिँदै इमानदार र कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले सेवानिवृत्त कर्मचारीहरुलाई रिटायर्ड भए पनि टायर्ड नभई क्रियाशील भइख्न शुभकामना दिँदै बढुवा भएका कर्मचारीलाई कर्तव्यनिष्ठ, इमानदार र सिर्जनशील बन्न तथा तटस्थता कायम राखिराख्न आग्रह गरे ।

सहसचिवमा बढुवा भएका शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदीले संघीय निजामती ऐनको मस्यौदाले १० वर्षसम्म प्रदेश र स्थानीय तहका कर्मचारी बढुवा नहुने व्यवस्था गरेकाले त्यो सच्याउनुपर्ने धारणा राखे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (शिक्षा)का अध्यक्ष गोपालनारायण श्रेष्ठले संगठन सदैव कर्मचारीको हकहित र अधिकारको पक्षमा लडिरहने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर