जीवन संघर्ष कि आनन्द ?
संसारले आजसम्म धेरै किसिमका दार्शनिकहरू देखेको छ । मान्छे दुःख र कष्टमा परेर शोकमग्न भएको देखेर अनवरत अट्टहास गरिरहने र अनवरत रोइरहने दुवै खालका अनौठा दार्शनिकहरूलाई संसारले भोगेको छ, देखेको छ । त्यसैले पनि संसार के हो र जीवन के हो भन्नेबारेमा संसारका दार्शनिकहरूमा एकमत छैन । विविधताले युक्त रहेको संसारमा जीवनलाई कसैले संघर्षको उपमा दिन्छ । किनकि जीवनमा जन्मेदेखि मृत्युपर्यन्त दुःख छ, कष्ट छ । त्यसैको निवारणका खातिर मानव अनवरत संघर्षरत छ । कोही भने जीवन आनन्द हो । यसलाई उत्सवको रूपमा लिनुपर्ने र त्यहीअनुसार जिउनुपर्ने तर्क दिन्छन् । सुखको यो चाहनामा आजको मानिस आकाशमा पखेटा लगाइ उडिरहेछ भने जलमा गोता पनि लगाइरहेछ । प्रस्तुत आलेखमा जीवन संघर्ष हो कि आनन्द हो, जीवनको उद्देश्य संघर्ष गर्नु नै हो अथवा आनन्द प्राप्ति हो भन्नेबारेमा केही उल्लेख गर्न खोजिएको छ ।
‘जीवन’ शब्द नेपाली भाषामा संस्कृत भाषाबाट आएको तत्सम शब्द हो । संस्कृत भाषामा प्राणधारणको अर्थमा ‘जीव्’ धातुमा ‘ल्युट्’ प्रत्यय लागेर बन्छ । जन्मेपछि मर्नैपर्ने विधिको विधानमा जीवन संघर्ष हो र संघर्षपछिको आनन्द प्राप्ति नै जीवनको अन्तिम लक्ष्य हो । यसैका लागि जीवन जिउनुपर्ने हो भन्नेहरू एकातिर छन् भने अर्कोतिर जीवन आनन्द हो, उत्सव हो तथा ईश्वरको वरदान पनि भएकाले दुःख र सुख दुवै अवस्थामा आनन्दित भएर जीवन जिउनुपर्छ भन्नेहरू पनि छन् । दुःखको अवस्थामा पनि आनन्द लिन सक्नु जीवनको सच्चा कला हो । त्यसैले जीवन संघर्ष होइन अपितु उत्सव हो, आनन्द हो भन्ने तर्क पनि पाइन्छ, तर जीवनको वास्तविक अर्थ वा वास्तविक आनन्द के हो भन्ने कुरामा कसैको पनि मतैक्य छैन । यही विविधताको बीचमा रहेर जीवनमा आनन्द के हो र आनन्दको प्राप्तिका बारेमा केही उल्लेख गरिनेछ ।
जीवन केका लागि त ? दुःखका लागि ? संघर्षका लागि ? अथवा आनन्दका लागि ? स्व(आत्मा)को बोधका लागि त ? संसारको इतिहासमा आजसम्म कुनै बच्चा हाँसीहाँसी जन्मेको छैन । हरेक बच्चा रूँदै रूँदै जन्मन्छ । यसको यो अर्थ पनि हो कि संसारमा दुःख छ । संघर्ष छ । सबैतिरबाट दुःखले घेरिएको र दुःखलाई हटाएर आनन्द लिनमै जीवन व्यतित भइरहेको पनि छ । संसारमा दुःख नभएको भए यत्रो भौतिक उपलब्धि हुने नै थिएन । यत्तिका धेरै आविष्कार आखिर दुःखलाई विस्थापन गर्नकै खातिर त भएका हुन् । यदि दुःख नै हुँदैन थियो भने संसारमा सुख र आनन्दको परिकल्पना पनि हुने थिएन । जीवनमा दुःख छ र दुःखलाई संघर्ष गरेरै हटाउनुपर्छ । त्यसपछि आनन्द लिनुपर्ने भएकाले जीवन एक संघर्ष हो भन्ने मनासिब तर्क पनि पाइन्छ, तर संसारमा सबै मानिस रूँदै रूँदै वा आत्तिँदै मरेका भने छैनन् । कोही कोही यस्ता उदाहरणीय व्यक्तिहरू पनि संसारको इतिहासमा छन्, जसले जीवनको अन्तिम क्षणसम्म पनि दुःखलाई पन्छाएर मृत्युलाई हाँसीहाँसी अँगाल्ने गर्छन् ।
जीवन केका लागि त ? दुःखका लागि ? संघर्षका लागि ? अथवा आनन्दका लागि ? स्व(आत्मा)को बोधका लागि त ? संसारको इतिहासमा आजसम्म कुनै बच्चा हाँसीहाँसी जन्मेको छैन । हरेक बच्चा रूँदै रूँदै जन्मन्छ । यसको यो अर्थ पनि हो कि संसारमा दुःख छ । संघर्ष छ ।
यसैलाई आधार बनाएर पनि हामी भन्न सक्छौं कि जीवन एक उत्सव हो । जीवन आनन्द पनि हो । सृष्टिको सर्वोत्कृष्ट प्राणी भएकाले पनि मानव जीवन आनन्दले युक्त छ । यही मानव जीवनमा प्राप्त आनन्दका लागि नै त देवताहरूले पनि धर्तीमा आफ्नो अवतार लिएर मानवलाई जीवन जिउन सिकाएका विविध उदाहरण संसारका लगभग सबै धार्मिक शास्त्रहरूमा पाइन्छ । यदि दुःखैदुःखको महासागरका रूपमा संसार चर्चित भएको भए दुःखै गर्न देवताहरू किन आतुर हुन्थे र ? संसारमा दुःख गर्न कसलाई पो रहर हुन्छ र ? यसरी तर्कको कसीमा राखेर हेर्दा सांसारिक दृष्टिले हेर्दा मानव जीवनमा दुःख छ र जीवन संघर्ष पनि हो । त्यस्तै गरेर जीवन आनन्द पनि हो । जीवन उत्सव पनि हो । यसलाई ईश्वरको वरदान मानेर उत्सवका साथमा नै जिउनुपर्छ । यी दुवै तर्क यथास्थानमा ठीक नै छन् ।
दुवै भनाइमा आपसमा विरोध पनि देखिँदैन, तर पनि अलिक फरक हिसाबले हेर्ने र सोच्ने हो भने जीवनको सार्थकता दुःखमा छ त ? अथवा तपाईंको जीवन दुःख गर्न, संघर्ष गर्न नै उत्पत्ति भएको हो त ? के प्रत्येक मातापिताले आफ्ना सन्ततिले दुःख गरून्, संघर्ष गरून् भन्न नै सन्तानलाई जन्म दिएका हुन्छन् त ? पक्कै त्यसो त होइन । जानाजान आफ्ना सन्तानलाई दुःख परोस् भनेर कुन चाहिँ मातापिताले चाहना गर्लान् र ? त्यसैले पनि तपाईंको जीवन दुःख गर्न वा संघर्ष गर्न वा मर्नमात्रै चाहिं सृष्टि भएको होइन । जीवन एक आनन्द हो । किनकि जीवनको सार्थकता दुःखमा छैन । संघर्षमा पनि छैन । यदि दुःखमा, संघर्षमा मात्रै पनि जीवनको सार्थकता रहन्थ्यो भने मानिसले सुखको, आनन्दको परिकल्पना अवश्यै गर्ने थिएन । जीवन दुःख गर्न वा मर्नमात्रै पनि भएको होइन । जीवनको परम लक्ष्य अर्कै छ । जीवनको ध्येय अर्कै छ । तपाईंलाई एउटा सिङ्गो जीवन मर्न वा दुःख गर्नमात्र पक्कै दिइएको होइन । आफूलाई बोध गर्नु अर्थात् आत्मबोधको अवस्थामा हुनु र जीवनलाई एक परम आनन्दको शिखरमा पुर्याउनु नै तपाईंको जीवनको मुख्य लक्ष्य हो । जीवन त्यही आनन्दको प्राप्तिका लागि नै सृजित भएको हो ।
त्यसो भए त्यो परम आनन्दको प्राप्ति कसरी हुनसक्छ त ? अथवा आफूलाई बोध कसरी गर्न सकिन्छ त ?
यो निर्विवाद सत्य कुरा हो कि जबसम्म जीवनमा दुःख, कष्ट रहन्छ, तबसम्म जीवनमा आनन्दको प्राप्ति हुन सक्तैन । जीवनमा यत्तिका धेरै दुःख किन छ ? किन त यत्तिका धेरै कष्ट छ ? यसको सहज उत्तर हो- जीवनमा जुन आनन्दको प्राप्ति हुनुपर्ने हो, त्यो आनन्दको प्राप्ति हुन नसक्दा जीवनमा दुःख छ । जबसम्म जीवनमा आनन्दको प्राप्ति हुन सक्तैन, तबसम्म जीवनमा ती सबै दुःख, कष्ट यथावत रहन्छ । आनन्द व्यक्तिको खोज होइन न व्यक्तिले त्यो आनन्दलाई निर्माण नै गर्न सक्छ । त्यसैले आनन्द भन्ने कुरा इन्द्रीयहरूले भेट्टाउन नसक्ने कुरा हो ।
यदि दुःखैदुःखको महासागरका रूपमा संसार चर्चित भएको भए दुःखै गर्न देवताहरू किन आतुर हुन्थे र ? संसारमा दुःख गर्न कसलाई पो रहर हुन्छ र ? यसरी तर्कको कसीमा राखेर हेर्दा सांसारिक दृष्टिले हेर्दा मानव जीवनमा दुःख छ र जीवन संघर्ष पनि हो ।
यो आनन्द भन्ने चिज व्यक्तिलाई स्वतः प्राप्त हुने हो । जस्तोः सम्पूर्ण प्राणीको जीवनमा भोक, प्यास तथा निद्रा स्वतः प्राप्त छ । त्यस्तै गरेर यो आनन्द भन्ने चिज पनि स्वतः नै प्राप्त छ । आनन्दको बारेमा मानिसले सोचे पनि, नसोचे पनि मानिसको स्वाभाविक झुकाव सदैव आनन्दको प्राप्तितर्फ नै रहेको छ । यो आनन्द उसले भोकाएको बेला खानाबाट, निद्रा लागेका बेला सुतेर तथा प्यास लागेको बेला प्यास मेटेर प्राप्त गर्छ । यस्तै गरेर अन्य विविध उपायबाट दुःखको निवृत्ति गरेर मानिस आनन्द प्राप्तिको चाहनामा पुग्छ । आनन्द भन्ने चिज प्रत्येक व्यक्तिको अभीप्सा हो । जीवनमा नैसर्गिक रूपले प्राप्त चिज हो । यो चिज प्रत्येक प्राणीले जन्मजात रूपले नै प्राप्त गरेको छ भने यही आनन्दको प्राप्तिको चाहनाले नै संसारमा धर्मको जन्म हुन पुग्छ ।
अब तपाईंलाई धर्मको पनि जन्म हुन्छ र भन्ने लाग्नसक्छ । हो, धर्मको पनि जन्म हुन्छ, तर धर्मको जन्म कसैको व्यक्तिगत चिन्तनमननबाट भएको भने होइन । कसैको सोचविचारको परिणाममा धर्मको जन्म भएको पनि होइन । धर्मको स्फुरण, आविर्भाव तथा उत्पत्ति मानव मनको नैसर्गिक आनन्दको प्राप्तिको चाहनाले गर्दा नै सम्भव भएको हो । सम्प्रदायहरू धर्म होइनन्, ती त धर्मका अभिव्यक्ति हुन्, धर्मका अङ्ग हुन् । धर्मलाई बुझ्न सम्प्रदायभन्दा माथि उठ्नुपर्छ भने धर्मभन्दा माथि उठेर नै जीवनको नैसर्गिक आनन्दको प्राप्ति हुन सक्छ । सम्प्रदाय धर्मका शरीर हुन्, धर्म मन हो भने आनन्द नै आत्मा हो । आनन्द नै मुख्य सर्जक हो । त्यही आनन्द अर्थात् आत्मा अर्थात् ‘स्व’को बोध हुनु नै वास्तविक जीवनको लक्ष्य हो । किनकि आत्मा नै सद्घन, चिद्घन र आनन्दघन स्वरूपले अवस्थित छ । आनन्दको प्राप्तिका लागि जीवनमा शरीर र मनभन्दा माथि उठेर विचार गरिनुपर्छ । सुखदुःखको कारण नै मन हो र धर्म पनि मनकै गुण हो । संसारमा आजसम्म जति पनि हिंसा र विध्वंश भएका छन्, ती सबै मनको कारण अर्थात् धर्मकै कारणले भएको हो । त्यसैले पनि ‘स्व’को बोधका लागि धर्मभन्दा माथि उठेर सोच्नुपर्ने हुन्छ, तर त्यही धर्म विस्तृत, व्यापक अनि हितकारक भएर संसारको नियन्त्रण, उन्नयन र शान्तिमा महत्त्वपूर्ण योगदान गर्ने पनि हुन्छ ।
आनन्दको मूलभूत स्वरूप नै ‘स्व’ अर्थात् आत्मा हो । त्यो आनन्दलाई धर्मले अर्थात् संस्कृत मनले उपयुक्त तरिकाले विनियोजन गर्ने हुन्छ । सम्प्रदायको अहङ्कारले भने त्यो आनन्दको मूलभूत स्वरूपलाई अग्निलाई धूवाँले ढाके जस्तै गरेर छोपिदिने हुन्छ । आत्मबोधको दिशातर्फ अर्थात् आनन्दको दिशातर्फ उन्मुख जीवन नै सच्चा अर्थमा सार्थक जीवन हो र जीवनको सार्थकता पनि आनन्दमै रहेको बुझ्न सकिन्छ । किनकि जीवनको मूल स्रोत पनि आत्मा अर्थात् ‘स्व’ नै हो ।
तपाईंको जीवन दुःख गर्न, संघर्ष गर्न नै उत्पत्ति भएको हो त ? के प्रत्येक मातापिताले आफ्ना सन्ततिले दुःख गरून्, संघर्ष गरून् भन्न नै सन्तानलाई जन्म दिएका हुन्छन् त ? पक्कै त्यसो त होइन । जानाजान आफ्ना सन्तानलाई दुःख परोस् भनेर कुन चाहिँ मातापिताले चाहना गर्लान् र ?
जब व्यक्तिको सम्बन्ध धर्मसँग हुन्छ । धार्मिक ग्रन्थहरूसँग मात्रै हुन्छ । धार्मिक सम्प्रदायहरूले उसलाई घेर्ने हुन्छ । व्यक्तिको सम्बन्ध पनि धार्मिक भनिने व्यक्तिहरूसँग हुन्छ । तर्कहरूसँग उसको सम्बन्ध स्थापित हुन पुग्छ । जब व्यक्तिको जीवनको आधार शारीरिक तहसँग मात्रै रहन्छ । त्यस्तो अवस्थामा व्यक्तिको जीवन कष्टसँग संघर्ष गर्ने हुन्छ । भौतिक कष्ट र अभावले सारा जीवन ग्रस्त हुने हुन्छ । त्यसभन्दा एक तह माथि उठेर मनको तहमा जिउँदा व्यक्तिको सम्बन्ध सुख र दुःखसँग हुन्छ भने आत्माको तहमा जिउँदा व्यक्तिको सीधा सम्बन्ध परमानन्दसँग हुन्छ । यही परमानन्द नै जीवनको प्रमुख खोज हो, प्रमुख सोच हो र प्राप्य चिज पनि यही नै हो ।
जबसम्म व्यक्तिलाई आफूभित्र कृतार्थता, सार्थकताको महसुस हुँदैन, तबसम्म व्यक्तिको जीवन शान्तिपूर्ण र आनन्दपूर्ण हुन सक्तैन । आफूभित्र कृतार्थता, सार्थकताको महसुस गर्न नसकेका व्यक्तिहरूभित्र एक किसिमको चरम अन्धकारले बास गरेको हुछ । त्यो अन्धकार अत्यन्तै निराशायुक्त हुन्छ । एक किसिमको गजबको खालीपन रहेको हुन्छ । यही उदासी, यही निराशा र यही खालीपनबाट बच्न व्यक्तिले आफूलाई सकेसम्म व्यस्त राख्ने र आफूलाई भुलाउने तथा यत्तिकैमा आफ्ना जीवनका अमूल्य समयलाई व्यतित गराइदिने खालको हुन्छ । यही कारण कोही पनि व्यक्ति एक्लै हुन रुचाउने हुँदैन र जीवनमा साथीको महसुस सदैव गरिरहने चाहनाको हुन्छ ।
के तपाईं यस्तो जीवनलाई पनि जीवन भन्न सक्नुहुन्छ ? अहँ, यो त जीवन हुँदै होइन । यो त जीवनदेखिको पलायन हो । अमूल्य जीवनको बर्बादीमात्रै हो । यस खालको पलायनले, यस खालको जीवनले तपाईंमा शान्ति र परमानन्दको अनुभूति दिलाउन सक्तैन, तर यसको ठीकविपरीत जुन दिन व्यक्तिले आफूभित्र कृतार्थता, सार्थकता, आनन्दपनको महसुस गर्छ । जब व्यक्तिलाई यी सबै कुरा प्राप्त हुन्छन्, तब व्यक्तिको जीवन जिउने कला नै अर्कै हुन्छ । जीवनशैली नै फरक हुन्छ भने जीवन पनि सार्थक र परमानन्दमय हुन पुग्छ, तर हाम्रो जीवनको जुन दुःख छ, जुन कष्ट छ, त्यसलाई के गरेर हटाउने र के गरेर त्यस्तो परम आनन्दको प्राप्ति गर्न सकिन्छ त ? मुख्य कुरो यही आएर अड्कन्छ ।
जीवनमा यत्तिका धेरै दुःख किन छ ? किन त यत्तिका धेरै कष्ट छ ? यसको सहज उत्तर हो- जीवनमा जुन आनन्दको प्राप्ति हुनुपर्ने हो, त्यो आनन्दको प्राप्ति हुन नसक्दा जीवनमा दुःख छ । जबसम्म जीवनमा आनन्दको प्राप्ति हुन सक्तैन, तबसम्म जीवनमा ती सबै दुःख, कष्ट यथावत रहन्छ । आनन्द व्यक्तिको खोज होइन न व्यक्तिले त्यो आनन्दलाई निर्माण नै गर्न सक्छ ।
व्यक्तिको जीवनमा जुन दुःख छ । त्यसलाई व्यक्तिले कहिल्यै पनि परास्त गर्न सक्तैन । दुःखलाई परास्त गर्ने कुनै साधन पनि छैन । दुःखलाई दूर गराउने एउटैमात्र उपाय हो- जीवन जिउने तरिका पूर्ण रूपले परिवर्तन गर्नु । किनकि व्यक्तिको जीवनमा जुन किसिमको दुःख छ, त्यसको कुनै बाहिरी कारण छैन । कसैले दुःख दिएर तपाईंलाई दुःख हुन सम्भव छैन । जीवनमा दुःखको मूल कारण व्यक्तिभित्रको आन्तरिक स्थिति नै हो । भौतिक कष्टलाई अर्थात् अभावलाई त व्यक्तिले संघर्ष गरेर, अनेक किसिमको बुद्धिको उपयोग गरेर हटाउन सक्छ । किनकि ती सारा कष्ट भौतिक जीवनसँग मात्रै सम्बन्धित छन्, तर जुन किसिमको मानसिक दुःख छ, ती सारा दुःख जस्ताको तस्तै रहन्छन् । निश्चित परिधिगत रहने अभावको नाम कष्ट हो भने केन्द्रगत सन्तापको नाम नै दुःख हो । त्यसैले जीवनका सारा कष्ट हटे पनि दुःख हटाउन सहज छैन । दुःखलाई हटाउने माध्यम नै ‘स्व’को बोध हो । दुःख कुनै प्रकारको असुविधा नभएकाले यसलाई साधनले हटाउन सकिँदैन । दुःख अज्ञान हो । आत्मप्रकाश वा आत्मबोधले नै जीवनको दुःखलाई हटाउन सकिन्छ । अन्य कुनै उपायबाट जीवनमा केन्द्रगत रूपले रहेको सन्तापलाई हटाउन सकिँदैन ।
आत्मप्रकाश वा आत्मबोध भन्नाले ‘स्व’को उपलब्धि अर्थात् आनन्दको प्राप्ति हो । आनन्दभन्दा ठूलो अर्को कुनै सम्पत्ति छैन । किनकि यो आनन्द प्रत्येक व्यक्तिको अन्तर्निहित सम्पदा हो । दुःखको बोध र दुःखलाई अतिक्रमण गर्ने मानव चाहनाले पनि यो कुरा व्यक्त गरिरहेको छ कि मानव जीवन दुःखका निमित्त सृजित भएको होइन । दुःख वा संघर्षमात्रै जीवन होइन । दुःखलाई गरिने अस्वीकारले पनि यो कुरा बुझाउँछ कि व्यक्तिको भित्र जुन किसिमको दुःख छ, त्यो दुःख नभएर त्यसको निरोधको प्रयास हो । मानव मनको आनन्द प्राप्तिको चाहनाले नै आनन्द भन्ने चिजको अस्तित्व कतै न कतै अवश्यै छ र त्यो पाउन सकिन्छ भन्ने कुराको पुष्टि गर्छ । श्रीमद्भगवाद्गीतामा उल्लेख छ- ‘नासतो विद्यते भावो नाभावो विद्यते सतः ।’ अर्थात्, ‘सत्यको अभाव छैन र असत्यको अस्तित्व नै छैन ।’
जीवनका सारा कष्ट हटे पनि दुःख हटाउन सहज छैन । दुःखलाई हटाउने माध्यम नै ‘स्व’को बोध हो । दुःख कुनै प्रकारको असुविधा नभएकाले यसलाई साधनले हटाउन सकिँदैन । दुःख अज्ञान हो । आत्मप्रकाश वा आत्मबोधले नै जीवनको दुःखलाई हटाउन सकिन्छ ।
जति पनि कल्पना छन्, जति पनि विचार छन्, ती सबैको अस्तित्व कुनै न कुनै रूपमा विद्यमान रहेकै हुनाले नै तत्तत् कुराको परिकल्पना सम्भव हुन्छ । त्यसैले पनि हामी भन्न सक्छौं कि जीवनमा आनन्दको प्राप्ति हुन सम्भव छ । किनकि जीवनको सार्थकता, सफलता र पूर्णता पनि त्यही आनन्दमै छ । जबसम्म जीवनमा इच्छा, कामना, वासना विद्यमान रहन्छ, तबसम्म जीवनमा दुःख त अनिवार्य रूपले रहने नै भयो ।
भौतिक उन्नतिसँगै मानवको जीवनशैलीमा आमूल परिवर्तन आएको छ । आजको मानव जाति सर्वोच्च शक्तिशाली प्राणी बनेको छ, तर आजको मानव ‘स्व’को पहिचान गर्न नसक्दा आन्तरिक रूपले जर्जर र भग्न बन्न पुगेको छ । जबसम्म ‘स्व’को प्राप्ति हुन सक्तैन, तबसम्म मानव जीवन अधुरो छ, अपूरो छ र दुःखी पनि उत्तिकै छ ।
‘स्व’को प्राप्तितर्फ जीवन अघि बढ्नासाथ व्यक्तिभित्र एक किसिमको नैसर्गिक ऊर्जाको प्रवाह बढ्ने गर्छ । यो ऊर्जा ज्ञान, ध्यान तथा साधनाबाट प्राप्त हुने हुन्छ । यसका लागि प्रारम्भिक रूपमा धर्मले मार्गनिर्देश गर्छ भने ‘स्व’को प्राप्तिपश्चात् भने धर्मले परमानन्दको विनियोजनमा सहयोग गर्ने हुन्छ । त्यसैले पनि मनको बाहकका रूपमा धर्मलाई विशेष रूपले प्राथमिकतामा राख्ने गरिएको हो । त्यसैले-
‘धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।’ -मनुस्मृति ८/१५
अर्थात्, ‘धर्मको नाश गरेमा धर्मले पनि नाश गर्छ भने धर्मको रक्षा गर्नाले धर्मले पनि रक्षा गर्ने गर्छ ।’
जीवनमा परमानन्द प्राप्ति र त्यसको उचित विनियोजनका लागि धर्म आवश्यक पर्छ । धर्मले नै हामीलाई आत्मबोधको यात्रामा लैजान्छ भने धर्मले नै प्राप्त भएको परमानन्दको उचित तरिकाले विनियोजन गरी अन्य व्यक्तिका लागि पनि सुखकर र संसारको लागि मार्गदर्शकका रूपमा उभ्याउन मद्दत गर्ने हुन्छ ।
क्रमशः