१७ वर्षदेखि अलपत्र बुटवल धागो कारखानाः परेन कहिले प्राथमिकतामा – Nepal Press

१७ वर्षदेखि अलपत्र बुटवल धागो कारखानाः परेन कहिले प्राथमिकतामा

रुपन्देही । डेढ दशकभन्दा पहिलेबाट बन्द रहेको बुटवल धागो कारखाना चलाउन सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राखेपनि बजेटमा भने कतै उल्लेख गरिएको छैन ।

२०६४ सालदेखि उत्पादन बन्द रहेको तथा २०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिँदै बन्द गरिएको यो कारखाना सञ्चालन गर्ने सरकारको योजना अहिलेको मात्र नीति तथा कार्यक्रममा समेटिएको भने होइन । हरेक सरकार र विभागीय मन्त्री फेरिएसँगै यसको अवलोकन गर्ने र चलाउने घोषणा गर्दै सरकारको कार्यक्रममा समेट्दै आएका छन् तर यो नारामै सीमित छ ।

स्वदेशी कपडामा मुलुकलाई आत्मनिर्भर बनाउने भन्दै धागो उत्पादन गर्ने उद्देश्यले ३ चैत २०३९ मा सो कारखाना स्थापना गरिएको थियो । दैनिक १० टन उत्पादन क्षमता रहेको कारखानाले दैनिक सात टन धागो उत्पादन गर्दै आएको थियो । तर राजनीतिक दलको भर्ती केन्द्र बन्दै गएको कारखाना अन्तत यो अवस्थामा पुगेको हो ।

यसअघि दुई पटक अर्थमन्त्री रहेका जनार्दन शर्माले पनि यो उद्योग चलाउने घोषणा गरेका थिए । तर कार्यान्वयनमा गएन । यसअघिका सरकारले कहिले अध्ययन समिति गठन गर्ने, कहिले निजी क्षेत्रलाई दिएर भए पनि उद्योग चलाउने दिशामा विभिन्न योजना ल्याएका थिए ।

यो वर्ष पनि नीति तथा कार्यक्रममा बन्द रहेको बुटवल धागो कारखाना संचालन गर्ने विषय सम्बोधन भएको तर बजेटमा नपरेको बुटवल धागो कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा बताउँछन् ।

‘नीति तथा कार्यक्रममा धागो कारखाना सञ्चालन गर्ने विषय समेटिएएको थियो, तर बजेटमा कतै केही आएन, कतै केही उल्लेख भएपनि हामीलाई औपचारिक रुपमा केही जानकारी छैन’ उनले भने । स्पष्ट रूपमा सरकारको योजना अझैसम्म केही नआएकाले विगतमा जस्तै चर्चा मात्रै हुने हो कि भन्ने आशङ्का बजेटमा कतै नभएपछि प्रष्ट भएको उनको भनाइ छ ।

२०६४ साल फागुनभन्दा अगाडि ४ सयदेखि ५ सय कर्मचारीहरूको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले ३ जना कर्मचारीले कुरिरहेका छन् । एक जना काठमाण्डौमा रहेको सम्पर्क कार्यालयमा छन् भने २ जना बुटवलमा रहेका छन् । डेढ दशक पहिलेसम्म दैनिक तीन सिफ्ट गरी चल्ने कारखाना नचलेर भने बन्द भएको होइन । निमित्त प्रमुख शर्माका अनुसार यसलाई कसरी जिम्मा लगाउने भन्ने विषयले निकास नपाएको बताउँछन् ।

उद्योगका अधिकांश सामग्री बिग्रिए, केही हराए

१७ वर्षदेखि उद्योग बन्द हुँदा उद्योगका अधिकांश मेसिन खिया लागेर बिग्रिएका छन् भने भवन जीर्ण बन्दै गएको छ । यदि सरकारले कारखाना चलाउने हो भने मेसिनहरू खरिद गर्नुको विकल्प रहेको निमित्त महाप्रबन्धक शर्मा बताउँछन् ।

उनले भने, ‘यहाँका धेरै मेसिन बिग्रेका छन् । चलाउने हो भने केही नयाँ मेसिन थप्नु पर्छ भने पुराना मेसिनको मर्मत गर्नुपर्छ । तर यो अवस्थामा कसरी चलाउने भन्ने अन्यौल नै छ ।’

बुटवल औद्योगिक क्षेत्रभित्र रहेको सो कारखाना १४३ रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्योगमा ६ वटा ठूला भवन छन् । कोरानाकालमा यहाँ लुम्बिनी प्रादेशिक अस्पतालले आइसोलेसन सेन्टर बनाएको थियो । तर यो लामो समय रहेन । पछि यहाँ रहेका विभिन्न तार तथा अन्य सामग्री समेत चोरी भएको समाचार बाहिर आएपनि के कति क्षति भयो भन्ने विषय सार्वजनिक भएको छैन ।

सरकारले यसअघि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जिम्मा दिनेगरी छलफल गरेपछि त्यसले केही निकास पाएको छैन ।
संचालनको आशा छैन निजी क्षेत्रलाई बुटवल धागो कारखानासँग बुटवलको व्यापार सिधै जोडिन्छ ।

१६ वर्ष पुरानो धागो कारखाना सञ्चालन गर्नेबारे सरकारले नीति तथा कार्यक्रममा समेटे पनि यहाँका निजी क्षेत्र भने उत्साहित देखिँदैनन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल पुरानै मोडालिटीमा कारखाना सञ्चालन गर्न नसकिने बताउँछन् ।

कम्पनीको जग्गा र भएका मेसिनहरूलाई भाडामा या कुनै रूपमा निजी क्षेत्रलाई दिएर चलाउने सम्भावना रहने उनको भनाइ छ । तर सरकारले नै यो उद्योग चलाउने सम्भावना आफूले नदेखेको उनी बताउँछन् । उनले धागो कारखानाको स्थानमा अन्य उद्योग चलाउन सरकारलाई सुझावसमेत दिए ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले पनि सरकारले प्रत्येक वर्ष यो कारखानाका बारेमा कुनै न कुनै रूपमा सञ्चालनको योजना बनाए पनि सफल नभएको बताउँछन् । त्यसैले अहिले पनि उद्योग चल्नेमा विश्वास गर्न नसकिने उनको भनाइ छ ।

उनले बुटवलको धागो कारखाना बुटवलवासीको गहना भएको बताउँदै सरकारले स्पष्ट नीति ल्याएमा निजी क्षेत्र सकारात्मक हुने जानकारी दिए । संघले यो उद्योगलाई चलाउन नसक्ने अवस्थामा कुनै निकास दिएर अन्य उद्योग क्षेत्रलाई दिनुपर्ने बताउँछन् ।

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठका अनुसार त्यो बेला सरकारले नेपालगन्जको खजुरामा कपास उत्पादन गरेर बुटवलमा धागो बनाउने अनि हेटौँडास्थित हेटौँडा कपडा उद्योगबाट कपडा उत्पादन गरी बजार पठाउने उद्देश्यले बुटवल धागो कारखाना सञ्चालनमा ल्याइएको हो ।

तत्कालीन राजा वीरेन्द्रको अवधारणा अनुसार मुलुकलाई कपडामा आत्मनिर्भर बनाउन यी उद्योग स्थापना गरिएको हो । हेटौँडा कपडा उद्योगका कपडा सेना, प्रहरी लगायतलाई लक्षित गरेर उत्पादन गर्ने गरिएको थियो । तर ती उद्योग सबै बन्द भएको डेढ दशक भइसकेका कारण विगतका ती योजना अहिले सपनाजस्तै लाग्ने उनको भनाइ छ ।

बुटवल धागो कारखानाबाट उत्पादित धागो हेटौँडामा मात्रै होइन, भारतसम्म पुग्ने गरेको थियो । रामैसँग चलेको कम्पनी एकपछि अर्को कारणले गर्दा बन्द हुन पुग्यो ।

कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा २०६४ साल फागुनमा बन्द भएको उद्योग खुल्नै नसक्ने गरी थला परेको बताउँछन् । केही मेसिन काम लाग्ने भए पनि थप मेसिन नल्याएसम्म कारखाना सञ्चालन गर्न नसकिने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर