मधेश : जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्न ६३ सांसदले ध्यानाकर्षण गराउँदै – Nepal Press

मधेश : जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्न ६३ सांसदले ध्यानाकर्षण गराउँदै

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश प्रमुख भण्डारीलाई आज बेलुकासम्म ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको हो ।

नयाँ सरकार गठनका लागि सहमति जुटाउन केही दिनदेखि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव काठमाडौंमा छन् । लोसपा र नेकपा एस जनमतको नेतृत्वमा आउन सहमत भएपछि उनीहरू आज जनकपुरधाम फर्किदैछन् ।

नयाँ सरकार गठनका लागि ६३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आजै ध्यानाकर्षणपत्र बुझाउने एमाले संसदीय दलका नेता यादवले बताए । नेकपा एसका सांसदहरू त थाहै छैन् भन्छन् नी भन्ने जिज्ञासामा उनले भने, ‘अहिले भर्खरै कुरा भयो । सहमति भइसकेको छ । उहाँहरूले पनि हस्ताक्षर गर्न गर्नुहुन्छ ।’

मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतको सरकार चलाइरहेका छन् । माओवादी र एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार जेष्ठ २९ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

जेठ २१ गते प्रदेशसभाको तेस्रो अधिवेशन सुरू हुँदैछ । २३ गने उनले विश्वासको मत लिने जानकारी प्रदेशसभालाई गराइसकेका छन् । तर, त्यसअघि नै नयाँ सरकार बनाउने तयारीमा गठबन्धन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर