मोदीको हिन्दूत्व बेगले बढारिएका भारतीय कम्युनिष्ट, निर्णायक तेस्रो शक्तिदेखि लोपोन्मुख यात्रासम्म – Nepal Press

मोदीको हिन्दूत्व बेगले बढारिएका भारतीय कम्युनिष्ट, निर्णायक तेस्रो शक्तिदेखि लोपोन्मुख यात्रासम्म

ज्योती बसुलाई आएको प्रधानमन्त्री प्रस्ताव अश्वीकार गरेको भारतीय कम्युनिष्ट पार्टी ३० वर्षपछि शून्य सीटमा समेटिँदै

काठमाडौं । सन् १९९६ सालको भारतीय लोकसभा चुनावमा ३२ सीटसहित चौथो दल बनेको भाकपा मार्क्सवादी नेता ज्योती बसुलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो । भाजपालाई रोक्न कांग्रेसहित विपक्षी मोर्चाले पश्चिम बंगालमा लामो समय शासन गरेका वामपन्थी नेता बसुलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो ।

त्यस संसदमा भारतीय कम्युनिष्ट पार्टी सीपीआईसमेत अन्य वामपन्थीको सीट जोड्दा कम्युनिष्टहरू ४७ सीटसहित तेस्रो शक्ति थिए । तर, भाकपा मार्कस्वादीको पोलिटब्युरो बैठकले प्रधानमन्त्री नखाने र केन्द्र सरकारमा सहभागी नहुने निर्णय गरेपछि विश्वकै ठूलो लोकतन्त्र मानिने भारतको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्ने मौका गुम्यो ।

त्यसअघि नै नेपालमा मनमोहन अधिकारी प्रधानमन्त्री बनेर दक्षिण एसियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री भइसकेका थिए भने बहुदलीय प्रतिस्पर्धाबाट कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरेको रेकर्ड समेत नेकपा एमालेले बनाएको थियो ।

एउटा मौका गुमाउँदा कसरी शक्ति क्षयीकरण हुन्छ भन्ने बलियो उदाहरण बनेको छ भारतका कम्युनिष्ट पार्टीहरूको आरालो यात्रा । कुनै समय भारतीय संसदको तेस्रो र निर्णायक शक्तिमा रहेका भारतीय वामपन्थीहरू आज एक सीट पनि नजित्ने अवस्थामा पुगेका छन् ।

पश्चिम बंगालको तीन दशक लामो सत्ता गुमाएसँगै आरालो लागेको भारतीय कम्युनिष्ट पार्टी अहिले एउटा राज्य केरलको सरकार चलाइरहेको छ तर केन्द्रीय संसद अर्थात लोकसभामा भने एक्जिट पोलहरूका अनुसार एक सीट पनि जित्न नसक्ने ठाउँमा छ ।

कुनैबेला भारतको निर्णायक शक्ति मानिने कम्युनिष्ट पार्टी पछिल्लो लोकसभा निर्वाचनमा जम्मा ३ सीटमा सीमित भएको थियो । यसपटक कति सीट आउला भन्ने एक्जिट पोलहरू हेर्दा निराश अवस्था छ ।

स्वतन्त्र भारतको पहिलो लोकसभा निर्वाचनमै २८ सीट जितेर चुनावी राजनीतिमा उत्रिएको भारतीय कम्युनिष्ट पार्टी अहिले इतिहासकै सबैभन्दा दुरावस्थामा छ । लोकसभामा सधैँ तेस्रो वा चौथो शक्ति रहेको वामपन्थी भारतमा मोदीको उदयसँगै निरन्तर आरालो लागेको हो ।

हाल २ सीट र अब शून्यतर्फ रहेको वामपन्थीको शक्ति यसअघि २०१४ मा मार्क्सवादी र भाकपाको गरेर १० सीट थियो । भारतमा जब नरेन्द्र मोदी नेतृत्वमा बिजेपीले चुनावी स्वीप गर्न थाल्यो त्यसपछि कम्युनिष्टहरूको आरालो यात्रा चलेको थियो । मोदी आफैं पनि कम्युनिष्टहरूका कठोर आलोचक हुन् ।

मोदी उदय हुनुअघि २००९ को लोकसभामा मार्क्सपादीको १६ सीट, सीपीआईको ४ र फरवार्ड ब्लकको २ समेत गर्दा वामपन्थीको २२ सीट थियो । हिन्दूत्वको लहरले भारतमा कम्युनिष्टहरूलाई बढारेको ज्वलन्त उदाहरण कम्युनिष्टको गढ पश्चिम बंगालमा बीजेपीको विजय नै काफी रहेको विश्लेषकहरूले बताएका छन् ।

२००४ सालको लोकसभामा कम्युनिष्टहरू ५५ सीटसहित निर्णायक तेस्रो शक्ति थिए । त्यसबेला मार्क्सवादी पार्टीको ४३, सीपीआईको १० र रिभोलुसनरी सोसलिस्ट पार्टीको ३ गरी ५५ सीट थियो । बीजेपीलाई रोक्न कम्युनिष्टले कांग्रेसलाई समर्थन गरेका थिए भने मनमोहन सिंहले अमेरिकासँग आणविक सम्झौता गरेपछि समर्थन फिर्ता लिए ।

कतिपयले त्यसपछि नै भारतमा कम्युनिस्टहरुको पतन शुरु भएको भन्ने गरेका छन् । जनताको मत नबुझी मनोगत निर्णय गर्दा कम्युनिस्ट पार्टी खुम्चिदै खुम्चिदै निल हुने अवस्थामा पुगेको छ ।

त्यसबेला कम्युनिष्ट पार्टीले भारतको लोकसभाको सभामुख समेत पाएको थियो । तर, पछि पार्टी निर्देशन नमानको भन्दै सभामुख सोमनाथ चटर्जीलाई मार्क्सवादीले निष्कासन गरेको थियो ।

सन् नब्बेको दशक र सन् २ हजारको सुरूआती दशक भारतका कम्युनिष्ट पार्टीहरूको स्वर्ण समय थियो भन्न सकिन्छ । पश्चिम बंगाल, त्रिपुरा, केरलजस्ता राज्यमा कम्युनिष्ट पार्टीको शासन थियो भने केन्द्रीय संसदमा निर्णायक तेस्रो शक्तिमा थिए ।

सन् १९९९ को लोकसभा निर्वाचनमा मार्क्सवादीको ३३, सीपीआईको ४, रिभोलुसनरी सोसलिस्टको ३, भाकपा माले लिबरेसनको १ र मजदुर किसान पार्टीको एक सीटसहित वामपन्थीहरूको २२ सीट थियो ।

त्यस्तै १९९६ को निर्वाचनपछि मार्क्सवादीको ३२, सीपीआईको १२ र रिभोलुसनरी सोसलिस्टको ५ सीट समेत गरी वामपन्थीहरू ४७ सीटमा थिए । त्यही बेला हो ज्योती बसुलाई प्रधानमन्त्रीको अफर गरेको । सायद त्यसबेला पार्टीले बसुलाई प्रधानमन्त्री बन्नबाट नरोकेको भए भारतमा पनि कम्युनिष्ट पार्टी नेपालको जस्तै बलियो हुने थिए भन्छन् विज्ञहरू ।

त्यसअघि १९९१ को आम निर्वाचनमा भाकपा मार्क्सवादी एक्लैले ३५ सीट जितेको थियो । सीपीआईले १४ र रिभोलुसनरीले ४ सीट जित्दा लोकसभामा वामपन्थीको शक्ति ५३ सीटको थियो । तीन वर्षअघि १९८९ को निर्वाचनमा वामपन्थीले ५० सीट जितेका थिए भने १९८४ को निर्वाचनमा ३२ सीट जितेका थिए ।

नेपालमा जस्तै भारतमा पनि कम्युनिष्ट पार्टीहरू विभिन्न गुटमा विभाजित छन् । ज्योती बसु, एमस नम्बुदिरिपाद, हरेकृष्ण कोनारलगायतले स्थापना गरेको यो पार्टीको महासचिव अहिले सिताराम यचुरी छन् ।

यद्यपि भारतको सबैभन्दा पुरानो कम्युनिष्ट पार्टी चाहिँ सीपीआई हो । सन् १९२५ मा अर्थात १ सय वर्षअघि स्थापना भएको यो पार्टीका संस्थाप एम एन रोय, एभ्लिन ट्रेन्ट, अबानी मुखर्जीलगायत थिए । हाल यो पार्टीको महासचिव डी राजा छन् । यसैबाट फुटेर विभिन्न हाँगाबिगा छरिएका छन् भने नक्सल कम्युनिष्टहरू सशस्त्र जनयुद्ध गरिरहेका छन् ।

९ जुलाई २०२२ मा अर्थात २ वर्षअघि द प्रिन्टमा बन्दना मेनन र राघब बिख्चन्दनीले बहुदलीय प्रतिस्पर्धामा चुनाव जित्ने विश्वकै पहिलो भारतीय कम्युनिष्ट पार्टी कसरी अहिले आएर अस्तित्वको संकट झेलिरहेको छ भन्ने लामो विश्लेषणात्मक लेख प्रकाशन गरेका छन् ।

अहिलेकै अवस्थामा भारतीय कम्युनिष्टको पुनर्जागरण सम्भव नहुने र नयाँ भारतीय पुस्तालाई सम्बोधन गर्ने एजेण्डा र नेतृत्वको संकट उनीहरूले व्यहोरिरहेको लेखकको निष्कर्ष छ । भारतीय कम्युनिस्ट पार्टीहरुले स्थापनाको शतवार्षिकी मनाइरहदा शताब्दीकै सबैभन्दा संकट झेलिरहेका छन् । स्वतन्त्र भारतपछि कम्युनिस्ट पार्टीले भोगिरहेको अहिलेको संकटबाट उनीहरु फेरि पार पाउँछन् कि संसारका अन्य कतिपय देशमाजस्तै लोप हुन्छन् ? अहिले यो भारतमा पनि वहसको विषय बनेको छ ।


प्रतिक्रिया

2 thoughts on “मोदीको हिन्दूत्व बेगले बढारिएका भारतीय कम्युनिष्ट, निर्णायक तेस्रो शक्तिदेखि लोपोन्मुख यात्रासम्म

  1. सङ्घर्ष जारी रहेकोले , जनचेतना वृद्धिसँगै पूँजीवादको अन्त्य र समाजवादको उदय अपरिहार्य छ। भारतमा हिन्दूवादको उदय एसिया र विश्वकै निम्ति खतरा भएको छ । पश्चिमाहरूको स्वार्थ र जालझेलअनुसारै भारतमा नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार अब पनि बन्न सक्ने संकेत देख्नु चुनाव निस्पक्ष हुने सक्दैन भन्ने अर्थमा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर