अमेरिकाले रोकेका सन्दीप वेस्ट इन्डिजमा विश्वकप खेल्न सक्छन् ? – Nepal Press

अमेरिकाले रोकेका सन्दीप वेस्ट इन्डिजमा विश्वकप खेल्न सक्छन् ?

आईसीसीले सन्दीपलाई टीममा समावेश गर्न दिएको डेडलाइन सकियो, बेलायतको भिसा पाए फेरि अनुमति माग्नुपर्ने

काठमाडौं । दुईपटकको प्रयासमा पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका छैनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी-२० विश्वकप आजबाट सुरू भइसकेको छ ।

नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्नेछ, जसमा दुईवटा अमेरिका र बाँकी दुईवटा वेस्ट इन्डिजमा छन् । अमेरिकाले भिसा नदिएपछि त्यहाँ हुने दुवै म्याचमा सन्दीप खेल्ने सम्भावना अन्त्य भइसकेको छ । अब वेस्ट इन्डिजमा हुने दुई म्याचबारे चासो बाँकी छ । के अमेरिकामा नपाए पनि सन्दीपले वेस्ट इन्डिजमा खेल्न पाउने सम्भावना हुन्छ त ?

विश्वकप हेर्न अमेरिका पुगेका नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हिजो एक स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुले यस्तो सम्भावनाबारे विचार गरिरहेको बताए । अमेरिकाबाहेक यूके (बेलायत) बाट पनि वेस्ट इन्डिज जान सकिने आफूले सुनेको उनको भनाइ छ । उनले ठोस जानकारी भने दिन सकेनन् ।

वेस्ट इन्डिज खासमा एउटा देश नभएर प्रान्तीय राज्य र क्षेत्रहरूको अनौपचारिक समूह हो । नेपालबाट सीधै उडान नहुने भएकाले वेस्ट इन्डिज जानलाई अमेरिका वा बेलायतको ट्रान्जिट प्रयोग गर्नुपर्छ । दुवै देशबाट वेस्ट इन्डिज जाँदा अनअराइभल भिसा पाइन्छ ।

सन्दीपले यसअघि अमेरिका, बेलायत र वेस्ट इन्डिज सबैतिर गएर खेलिसकेका छन् । अमेरिका र यूकेको भिसा उनीसँग पहिल्यै थियो । अदालतमा मुद्दा परेपछि अमेरिकी दूतावासले उनको पाँच वर्षे मल्टिपल भिसा खारेज गरिदियो । मुद्दा फैसला भएर सफाइ पाएपछि पनि उनको भिसा सक्रिय भएन । त्यसैले उनले फेरि प्रक्रियामा जानु परेको थियो ।

बेलायतको भिसा पनि सन्दीपसँग छ । उनले त्यहाँ हुने द १०० क्रिकेट लिग खेलेका थिए । यद्यपि, अमेरिकी दूतावासले जस्तै बेलायतको दूतावासले पनि सन्दीपको भिसा रद्द गरेको हुन सक्ने अनुमान गरिएको छ । यदि रद्द गरिएको भए फेरि भिसाका लागि आवेदन दिनुपर्छ ।

स्रोतकाअनुसार अमेरिकाले भिसा नदिएमा सीधै वेस्ट इन्डिज पठाउने विकल्पबारे क्यानले पहिल्यैदेखि गृहकार्य गरिरहेको थियो । त्यो गृहकार्य अहिले पनि जारी रहेको बुझिएको छ । यसमा संलग्न क्यान म्यानेजर विनोद दास अहिले अमेरिकामा नै छन् । तर, विभिन्न कारणले सन्दीप वेस्ट इन्डिज जान सक्ने सम्भावना कमजोर देखिएको छ ।

नेपालले अमेरिकी दूतावासमा भिसा आवेदन गर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग सन्दीपलाई टीममा समावेश गर्न अनुमति मागेको थियो । यसअघि क्यानले घोषणा गरेको १५ सदस्यीय स्क्वाडबाट एकजनालाई प्रतिस्थापन गर्न आईसीसीले अनुमति दिएको हो । भिसा लाग्ने निश्चित नभएकाले कुन खेलाडीलाई प्रतिस्थापन गर्ने भन्ने चाहीँ क्यानले गोप्य राखेको थियो । यसैलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जालमा क्यानले सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश नगरेको भन्दै अफवाह फैलाइरहेका छन् ।

खासमा सन्दीपलाई विश्वकपमा पुर्‍याउन क्यानले सुरूदेखि मिहिनेत गरिरहेको छ । सन्दीपको मुद्दा फैसला हुनुभन्दा अघिदेखि नै क्यानले आईसीसीसँग समन्वय गरिरहेको थियो । आईसीसी पनि सन्दीपका सन्दर्भमा धेरै नै लचक बनेको हो । यदि सन्दीपको भिसा लागे एक खेलाडीलाई उनले प्रतिस्थापन गर्ने र नलागेको खण्डमा अहिलेकै १५ सदस्यीय स्क्वाड कायम राख्न आईसीसीले अनुमति दिएको थियो । तर, सन्दीपलाई समावेश गर्न लागि ३१ मेसम्मको डेडलाइन दिइएको थियो । उक्त डेडलाइन अस्ति सकियो । त्यसैले यदि सन्दीपलाई वेस्ट इन्डिजमा पठाउन सकिने वातावरण भएमा फेरि पनि आईसीसीसँग नयाँ अनुमति लिनुपर्ने हुन्छ । तर, योभन्दा जटिलता चाहीँ भिसामै छ ।

सन्दीपलाई भिसा नदिनका लागि अमेरिकी दूतावासमा महिलावादी संघसंस्था र केही राजनीतिकर्मीको दबाब परेको थियो । स्रोतका अनुसार केही आइएनजीओले सन्दीपलाई भिसा दिएको खण्डमा अमेरिकामा हुने विश्वकपको भेन्यूमै गएर कालो झण्डा देखाउने चेतावनी दिँदै दूतावासमा इमेल पठाएका थिए । यस्तै किसिमको दबाब बेलायतको दूतावासलाई पनि नदिइएला भन्न सकिँदैन । त्यही भएर यस्तो माहोलमा क्यानले बेलायती दूतावासमा पहल गरिहाल्न सक्ने अवस्था छैन ।

वेस्ट इन्डिजमा नेपालको खेल १५ जुन र १७ जुनमा रहेको छ । अमेरिकामा ४ जुन र १२ जूनमा दुई म्याच खेलेपछि नेपाल वेस्ट इन्डिज जाने हो । वेस्ट इन्डिजमा खेल्न अझै १३ दिन बाँकी भएकाले भिसा आवेदन गर्न समयको अभाव भने छैन । यदि भिसा पाएको खण्डमा आइसीसीबाट अनुमति पाउन पनि कठिन नहुने क्यान स्रोत बताउँछ । कुनै पनि देशले टीमका एक खेलाडी विशेष कारणले खेल्न नसक्ने भएमा कुनै पनि बेला प्रतिस्थापन गर्न सकिने सुविधा पनि हुन्छ । त्यसैले सन्दीपका लागि आईसीसीको तगारो छैन । समस्या भनेको उनलाई कसरी वेस्ट इन्डिज पुर्‍याउने भन्ने नै हो । क्यान स्रोतले यो सम्भावना ४० प्रतिशतमात्र रहेको बतायो ।

-चिरञ्जीवी


प्रतिक्रिया

One thought on “अमेरिकाले रोकेका सन्दीप वेस्ट इन्डिजमा विश्वकप खेल्न सक्छन् ?

  1. रंगशालामै गएर कालाे झण्डा देखाउने भनी अमेरिकी दुतावासमा इमेल गर्ने अाइएनजियाे एनजीओकाे नेपाल प्रतिनिधिहरूलाई नाङ्गै पारेर सिस्नाे पानी लाउँदै सडकमा हिडाएर सिमाना कटाउनुपर्छ । यी अाइएनजिअाे र एनजीओकाे नेपालमा तमासा बढि भयाे । यिनीहरूकाे काम नेपालमा अशान्ति मच्चाउने मात्र भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर