आईएफआईसीले स्थगित गर्यो नबिल बैंकको शेयर बेच्ने निर्णय
काठमाडौँ । आइएफआइसीले नबिल बैंकको सेयर बेच्ने निर्णय स्थगित गरेको छ । संस्थापक शेयरधनी बङ्गलादेशको आईएफआईसी बैंकले नबिल बैंकको सेयर बेच्ने निर्णय स्थगित गरेको हो ।
आईएफआईसीले पहिले नै नबिल बैंकको सेयर बेचेर बाहिरिने प्रक्रिया सुरु गरेको थियो । नबिल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचना जारी गर्दै आईएफआईसीको नबिल बैंकमा विद्यमान सेयर कायमै राख्ने निर्णय गरेको जानकारी गराएको छ।
यो सँगै आईएफआईसीको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बेच्नका लागि अघि बढाइएको कामकारबाही स्थगित भएको छ ।
नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको छ । साथै खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक शेयर धनीले समेत निवेदन फिर्ता लिन सूचनामार्फत भनिएको छ ।
सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी जेठ १९ गते बसेको सञ्चालक समिति बैठकले नियामक निकायलाई पनि गराउने निर्णय गरेको छ ।