जब सीबी लामाले अनुहार हेर्ने हो भन्दै पत्रकारमाझ मास्क खोल्न खोजे… (भिडिओ)
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर लामा (सीबी) ले आफूमाथि अनर्गल प्रचार गरिएको जिकिर गरेका छन् ।
पक्राउ परेको २ दिनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सार्वजनिक गरेको छ । काभ्रेका लामा नेपाली कांग्रेस महासमिति सदस्य हुन् । पत्रकारमाझ उनले बारम्बार अनुहार देखाउनु परे मास्क खोलिदिन तयार भएको बताए ।
‘मास्क खोलिदिनुपर्छ भने म खोल्छु । तपाईँहरूले पनि त चिन्नुपर्यो’, उनले भने ।
करिब डेढ अर्ब रुपैयाँ ठगी गरेको कान्तिपुर सहकारीको पूर्वअध्यक्षका रुपमा लामा पक्राउ परेका हुन् । उनी २०५६ देखि २०७६ सम्म उक्त सहकारीको अध्यक्ष रहेको प्रहरीको भनाइ छ । त्यसबीचमा उनी पशुपति सहकारीको पनि अध्यक्ष थिए ।
सरकारले दुईवटा सहकारीको अध्यक्ष एकै व्यक्ती हुन नपाउने व्यवस्था गरेपछि २०७६ सालमा उनले कान्तिपुरको अध्यक्ष छाडेका थिए । यसबीचमा उनी कान्तिपुर अस्पताल र कान्तिपुर हेल्थ साइन्स कलेजका पनि अध्यक्ष रहेका थिए । आफूमाथी ठुलो बिगो देखाएर झूटो प्रचार गरिएको उनको दाबी छ ।
‘राम्रोसँग फोटो खिच्नुस् । अब चाहीँ मैले न्याय पाउँछु जस्तो लागेको छ’, उनले भने । लामाले मास्क खोल्न खोज्दा प्रहरीले दिएका थिएनन् ।
लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । उनले प्रहरीको प्रतिवेदन र अदालतले गर्ने निर्णयले धेरै कुरा छर्लङ्ग पार्ने पनि बताए । कान्तिपुर सहकारी ठगी प्रकरणमा वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल हाल पुर्पक्षका लागि थुनामा छन् । कान्तिपुर सहकारी ठगी प्रकरणमा अझै १० जना फरार छन् ।