कन्हैया कुमार: कम्युनिष्ट भएर चुनाव हारे, कंग्रेस बन्दा जित्लान् ?
काठमाडौं । जुन १ अर्थात शनिबार मतदान सकिएसँगै भारतको सात चरणको ६ हप्ता लामो चुनाव टुंगिएको छ । यस पटकको चुनावमा आएका एक्जिट पोलहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारोहण फेरि हुने बताइएको छ । यद्यपि, भारतीय जनता पार्टी (बीजेपी)ले भन्दै आएको उसको एकल ४०० पारको अवस्था भने नहुने पक्कापक्की देखिएको छ ।
यो पटकको भारतीय चुनावमा दुई प्रश्नलाई धेरैले ‘नोट’ गरे । एक- मोदीको तेस्रो लगालग कार्यकाल होला त ? दुई- ४० दलहरुको गठजोडबाट बनेको विपक्षी इण्डिया गठबन्धनले बीजेपी गठबन्धन एनडीएलाई धक्का देला त ?
नेपाली आँखाबाट हेर्दा सन् २०१९ को चुनावमा ज्यादै चर्चामा आएका तर यो चुनावमा चर्चामै नदेखिएका अनुहार हुन् कन्हैया कुमार । भारतको चर्चित देब्रे ढल्कुवा विश्वविद्यालय जवाहरलाल नेहरुका स्ववियु सभापति भएर भारतको राजनीतिमा आएका कन्हैया कुमारको चर्चा ज्यादै भएको थियो गत चुनावमा । विहारको बेगुसरायबाट चुनाव उठेका कन्हैयाको राजनीतिक मियो भने भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट भयो ।
जवाहरलाल नेहरु विश्वविद्यालयः जहाँ बन्यो कन्हैयाको राजनीतिक प्रोफाइल
कन्हैया कुमारले जेएनयू विश्वविद्यालयमा प्रवेश गरेको केही समयमा आफ्ना अग्रजसँग जोडतोडको बहस गरे । आफूलाई धेरै बोलियो कि जस्तो लागेर उनले माफी मागे । उनलाई अग्रजले माफी माग्ने कारण नै नभएको भन्दा कन्हैया कुमार चकित भए । विद्यावारिधिको कक्षामा उनी बसेका थिए । प्राध्यापक आए । उनी उठे, तर, उठ्ने उनीमात्रै थिए । प्राध्यापकले सोधे, ‘तिमी किन उठेको, यो स्कुल हो र ?’ जवाफमा कनैयाले ठट्यौली जवाफ दिए, ‘स्कुल हो सर । अन्तराष्ट्रिय सम्बन्ध स्कुल ।’
आफूले भोग्दै र देख्दै आएको शैक्षिक जीवनभन्दा भिन्न जीवन जेएनयूमा देख्दै थिए कन्हैयाले । महिला मामिलामा पनि जेएनयूमा उनले त्योभन्दा अगाडि नदेखिएका अचम्मका कुरा देखे । महिलाहरु हरेक बहसमा हुन्थे । कक्षामा सक्रिय हुन्थे । उनकै कक्षाका १० मध्ये ९ जना महिला थिए । महिला र पुरुष हात समाएर सँगै हिँड्दा कसैलाई पर्वाह हुन्थेन ।
उनलाई विद्यार्थी राजनीतिमा आउन मन लाग्यो, तर राम्रो अंग्रेजी नहुनु र राम्रो आर्थिक पृष्ठभूमिको नहुनुको तनाव पो होला भन्ने लाग्थ्यो उनलाई । पछि थाहा भयो, त्यो उनको कमजोरी होइन शक्ति पो हुने रहेछ । जेएनयूमा पुगेर आफ्नो सोच बदलिएकोबारेमा कन्हैयाले आफ्नो किताब ‘फ्रम बिहार टु तिहार’मा लेखेका छन्, ‘तपाईंले जेएनयूमा पढेपछि ताजमहल भ्रमण गर्नुभयो भने तपाईं ताजमहलको भव्यता सोच्नु हुन्न । तपाईं र हामी जस्ता सामान्य मान्छेहरुले बगाएको पसिना र पीडा सोच्नुहुन्छ ।’
कन्हैया कुमारको स्नातकोत्तरसम्मको शिक्षार्जन गृह राज्य विहारमा भएको थियो । समाजशास्त्रमा स्नातकोत्तर सकेर उनी जेएनयू हानिएका थिए । सन् २०११ मा जेएनयूको विद्यावारिधिको प्रवेश परीक्षामा उनी प्रथम भएर छिरेका थिए । उनको अन्तर्राष्ट्रिय सम्बन्ध स्कुलमा अफ्रिकी अध्ययनमा विद्यावारिधि गरे ।
जेएनयू छिरेको पाँच वर्षमै उनको जीवनमा नयाँ प्रोफाइल बन्यो । जस्तैः उनी जेएनयूको स्ववियु सभापति निर्वाचित भए । सन् २०१५ को सेप्टेम्बरमा स्ववियु सभापति भएका उनी पाँच महिनामै पक्राउ परेर राष्ट्रिय रुपमा चिनिए । सन् २०१६ फेबु्रअरीमा उनी भारतीय प्रहरीबाट पक्राउ परे । पक्राउ परेर तिहार जेलमा पुगे । काश्मिरी पृथकतावादी अतिवादीलाई दिइएको मृत्युदण्डको बारेमा विरोध गर्दा उनी पक्राउ परेका थिए ।
मार्च ३ मै उनलाई दिल्ली अदालतले दश हजार धरौटीमा रिहा गरेको थियो । ‘समस्यालाई समाधान होइन सदुपयोग’ गर्ने मामिलामा कन्हैया पोख्त देखिन्छन् । उनले तिहार जेलमा बसेको कुरालाई हीनताबोधको रुपमा लिएनन्, शक्तिको रुपमा लिए । त्यसैबारेमा किताब छापे, हिन्दीमा ‘विहार से तेहाड’ र अंग्रेजीमा ‘फ्रमबिहार टु तिहार’ । यो किताबले उनलाई भारतमा र विश्वभर चर्चामा पुर्यायो ।
कन्हैयाको राजनीतिक यू-टर्न पहिले कम्युनिष्ट, अहिले कंग्रेस
सन् २०१९ को चुनावमा बिहारको बेगुसरायमा ३२ वर्षको उमेरमा चुनाव लडेका कन्हैयाको दल थियो भारतीय कम्युनिष्ट पार्टी (भाकपा) । चुनावमा उनी बीजेपीका गिरिराज सिंहसँग ४ लाख २२ हजार २१७ मतान्तरले पराजित भए । कन्हैयाकुमारको मत २ लाख ६९ हजार ९७६ आएको थियो । यो कुल मतको २२.०३ प्रतिशतमात्र थियो ।
कन्हैयाले जित्ने दाबी त कसैको थिएन । तर, उनले भारतीय कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउने चै चर्चा गरिएको थियो । त्यो चर्चा भएको पनिब ताउँछन् कन्हैयाँ कुमारको चुनावी सभा र अभियान प्रत्यक्ष हेरेर आएका युवा वामपन्थी नेता अशेष घिमिरे । घिमिरेले कन्हैयाले चाहेको चन्दा एकै हप्ता उठेको बताउँदै भने, ‘लोकप्रियताको कोणमा त अहिलेभन्दा उनी धेरै लोकप्रिय थिए ।’
तर, घिमिरेले कन्हैयाको पार्टीमा समस्या पनि देखेका थिए । अग्रज कम्युनिष्ट नेताहरुले कन्हैयालाई खासै नपत्याएको र कन्हैयाँले पनि अग्रजको पुरानो शैलीको कम्युनिष्ट चलन प्रयोग नगरेको उनले देखे । त्यसको उदाहणमा घिमिरे कन्हैयाले अरु कम्युनिष्टहरुले नलगाउने नारा लगाएका थिए । त्यो नारा थियो, ‘जय जय भीम’, ‘तो जोर से बोलो जय भीम’, ‘तो मिलकर बोलो, जयभीम’ ।
भारतका नेता अमबेडकरको नाममा यस्तो नारा लगाएका थिए कन्हैया कुमारले । उसो त सन् २०१६ को अन्तर्वार्तामै कन्हैयाले आफ्ना तीन प्रमुख आदर्श अनुहारमा दुई अनुहार गैरकम्युनिष्टको लिएका थिए । उनले अमबेडकर, गान्धी र मार्क्स आफ्ना प्रिय आदर्श अनुहार भनेका थिए ।
कन्हैया र अरु अग्रज कम्युनिष्ट नेताको विमति भएको कुरा अशेष घिमिरेले सन् २०१९ को चुनावी मैदानमै नोट गरेका थिए । उनले त्यो बेला आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए, ‘उनले भारतीय परिवेशमा मार्क्स, अमबेडकर र गान्धीलाई गाँस्नुपर्ने बताएका छन् । यही मुद्दामा पनि सैद्धान्तिक अस्पष्टता रहेको सीपीआई र अन्य वाम कार्यकर्ताको बुझाइ छ । यस्ता शंका भविष्यमा निवारण हुँदै जालान्, तर आज यो लोकसभा चुनावमा विनाशर्त कन्हैयालाई सघाउन प्रायः सबै वाम नेता तथा कार्यकर्ताहरु तयार देखिन्छन् ।’
कम्युनिष्ट बनेर पहिचान र हेडलाइन बनाएका कन्हैया कुमारले सन् २०२१ सेप्टेम्बरमा कंग्रेस बनेर पहिचान र हेडलाइन बनाए । कन्हैयाले कंग्रेस प्रवेश गरेको तीन कारण मान्छन् घिमिरेः
पहिलो- कन्हैयाले चाहेको विशाल जमात । जेएनयूबाटै विशाल जमातमा काम गर्न पल्केका उनले भारतमा सानो आकारमा रहेको कम्युनिष्ट पार्टीभन्दा कंग्रेस उनलाई सही लाग्यो ।
दोस्रो- उनको सुरक्षा । बीजेपीले उनको जिउधनै समस्यामा पार्ने हो कि भन्ने भयमा थिए कन्हैया । राजनीतिक रुपमा पनि उनलाई व्यक्तिगत रुपमा ठूलो हमला भए भारतका कम्युनष्टिभन्दा कंग्रेस बलियो भन्ने आँकेर उनी त्यता गएको घिमिरेको तर्क छ ।
तेस्रो- अग्रज कम्युनिष्टहरुसँगको मतान्तर । गान्धी, अमबेडकर र मार्क्स जोड्ने जस्ता कुरामा विमति र अरु कारणले भएको जेनेरेसन ग्यापको कारण पनि उनी कंग्रेसमा गएको बताउँछन् घिमिरे ।
राजनीतिको दोस्रो चुनावी इनिङ : बाजी मार्लान् कन्हैयाले ?
भारतीय राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रका उम्मेदवार हुन् कन्हैया कुमार । त्यहाँ पनि उनका प्रतिस्पर्धी छन् बीजेपी नेता मनोज तिवारी । सन् २०१४ र २०१९ मा चुनाव लडेका र जितेका अनुभवी तिवारीसँग दिल्लीका नयाँ चुनावी अनुहार कन्हैया भिडेका छन् । तिवारी भोजपुरी संगीत क्षेत्रका समेत चर्चित नाम हुन् ।
दिल्लीको मुस्लिमको जनसंख्या धेरै भएको क्षेत्र हो यो चुनाव क्षेत्र, जहाँ २० प्रतिशत मुस्लिम जनसंख्या छ । मत हिस्सा पनि तिवारीले पछिल्ला दुई चुनावमा बढाएको आँकडा छ । जस्तोः सन् २०१४ मा ४५ प्रतिशत ल्याएकोमा उनले सन् २०१९ मा ५४ प्रतिशत पुर्याएको भारतीय अखबार बिजनेस टूडेले उल्लेख गरेको छ ।
आम आदमी पार्टीको प्रमुख प्रभाव क्षेत्र, ४० दलको इण्डिया गठबन्धनको शक्ति, कन्हैयाको निजी ब्राण्ड, कंग्रेसको प्रभाव तथा गैरहिन्दूहरुको राम्रो जनसंख्याको कारण कन्हैयाले चुनावी गणित राम्रो ल्याउने उनका पक्षधरहरुको अनुमान छ ।
यद्यपि, मनोज तिवारीको बढ्दो मत हिस्सा, कंग्रेसमा नवआगन्तुकलाई टिकट दिएको भन्दै आक्रोशित हुँदै बीजेपी प्रवेश गरेका कंग्रेस नेता कार्यकर्ताको जमात, नयाँ निर्वाचन क्षेत्र जस्ता विभिन्न कारणले कन्हैयाले चुनाव हार्ने पनि एकथरीहरुको बलियो मत छ । उसो त इण्डिया टुडेको एक्जिट पोलले कन्हैयाले चुनाव हार्ने र मनोज तिवारीले जित्ने एकखाले गणित सार्वजनिक गरिसकेको छ । जुन ४ मा नतिजा आउने चुनावमा यो सत्य वा असत्य के हुन्छ, त्यो हेर्न बाँकी नै छ ।