पदाधिकारी पत्नीदेखि पूर्ववडाध्यक्षसम्म विश्वकप हेर्न अमेरिकामा, क्यानभित्र उठ्यो पारदर्शिताको प्रश्न
काठमाडौं । नेपालले दोस्रो पटक खेल्न लागेको टी-२० विश्वकपप्रति चासो सबै नेपालीहरुलाई छ, तर थोरै भाग्यमानीले मात्र अमेरिकामै गएर प्रत्यक्ष खेल हेर्न पाउनेछन् ।
अमेरिका यसै पनि नेपालीहरुको स्वप्निल गन्तव्य हो । त्यसमाथि त्यही देशमा नेपालले खेल्ने विश्वकप क्रिकेट हेर्न जान नेपालीहरु लालायित हुनु अस्वाभाविक होइन । आर्थिक हैसियत बलियो भएकाहरु आफ्नै खर्चमा पनि अमेरिका जान तँछाडमछाड गरिरहेका थिए ।
नेपाली क्रिकेटको नियमनकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) लाई आईसीसीले विश्वकप खेल्न २५ सदस्यीय स्क्वाडको कोटा दिएको हुन्छ । यसमा खेलाडी, प्रशिक्षक र अफिसियलहरुका लागि यो संख्या तोकिएको हो । २५ जना अमेरिका आउजाउ गर्ने तथा बस्ने सबै खर्च आईसीसीले व्यहोर्छ । त्यसबाहेक सबैले आफैं खर्च गर्नुपर्छ ।
२५ जनामा को को ?
आईसीसीको खर्चमा जाने २५ सदस्यीय नेपाली टोलीमा १५ जना खेलाडी र १० जना गैरखेलाडी छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई २५ सदस्यीय स्क्वाडभित्र समावेश गरेका छन्, जसलाई लिएर क्यानभित्रै प्रश्न उठाइएको छ । अध्यक्ष नै स्क्वाडभित्र समावेश हुनु शोभनीय नभएको क्यान स्रोत बताउँछ ।
‘उहाँ क्यानकै खर्चमा जान सक्नुहुन्थ्यो । उहाँले एक जनाको कोटा भरिदिँदा जानैपर्ने एक डाक्टर वा मिडिया म्यानेजर छुटेका छन्’, एक क्यान सदस्यले भने ।
२५ सदस्यीय स्क्वाडमा टीम म्यानेजर प्रदीप मजगैयाँ छन् भने टीम लिडरको छुट्टै भूमिका दिएर दिवाकर घलेलाई समावेश गरिएको छ । यस्तै प्रमुख प्रशिक्षक मु्रगांग जगदीश देसाई (मोन्टी देसाई), बलिङ प्रशिक्षक रोडरिक ओरभिल नेपाली टीमसँगै अमेरिकामा छन् । क्यानका एनलिस्ट रमन सिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर अब्दुल सतार पनि स्क्वाडमा समावेश छन् । यसैगरी सहायक प्रशिक्षकको भूमिकामा वसन्त शाही र कन्सल्टेन्ट कोचको रुपमा नन्दन हन्मन्त फडनिसलाई पनि अमेरिका पठाइएको छ ।
हेर्नुस् सूची
यी त भए आईसीसीको खर्चमा जानेहरु । करिब डेढ दर्जन जति पत्रकार पनि अमेरिकामा विश्वकपको रिपोर्टिङ गर्न आफ्नो खर्च (कतिपयलाई सम्बद्ध मिडिया हाउसको सहयोग)मा गएका छन् । करिब दुई दर्जन पत्रकारले भिसाका लागि आवेदन दिएकोमा कम्तीमा ८ जनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । आईसीसीले पठाएको ‘एक्रिडेसन’ का आधारमा पत्रकारले भिसा पाएका हुन् ।
क्यान अध्यक्ष चन्द र कोषाध्यक्ष खड्काले पत्नीलाई पनि अमेरिका लगेका छन् । अध्यक्ष चन्दले व्यक्तिगत खर्चमा पत्नीलाई लगेका हुन् । कोषाध्यक्ष खड्काले आफू र पत्नी दुवैको खर्च आफैंले व्यहोर्ने गरी गएको क्यान स्रोतले बताएको छ । क्यानबाट म्यानेजर विनोद दास अमेरिका पुगिसकेका छन् । बोर्ड सदस्य छुम्बी लामा पनि जाने तयारीमा छन् । उनीहरु दुवैले आफ्नो खर्च आफैंले व्यहोर्ने दावी गरिएको छ ।
क्यान सचिव पारस खड्का भने नेपालमै छन् । नेपाली टीम जानुअगाडि नै अमेरिका पुगेर आएका थिए । पारस आर्थिक संकलन गर्न अमेरिका पुगेका थिए । क्रिकेटकाे काम भए पनि उनी व्यक्तिगत खर्चमा नै अमेरिका गएकाे बुझिएकाे छ ।
पारस विश्वकप हेर्न अमेरिका जाने टुंगो भइसकेको छैन । उनीसँग भिसा र टिकट भए पनि सन्दीप लामिछानेको भिसा प्रक्रियाका कारण रोकिएका थिए । सन्दीपलाई अमेरिकी दूतावासले भिसा अस्वीकार गरेपछि पारस त्यसैको दौडधुपमा लागे । उनी नेपालको खेलअघि अमेरिका पुग्ने सोचमा रहेका छन् ।
यसैबीच क्यानको सिफारिसमा दुई नगरपालिकाका मेयर पनि अमेरिकाको भिसा लगाउन सफल भए । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र नागार्जुन– ६ का पूर्ववडाध्यक्ष राजेन्द्र बुढाथोकी भिसा पाएर अमेरिका पुगिसकेका छन् । उनीहरु दुवैलाई क्यानले सिफारिसपत्र दिएको थियो । भूपू वडाध्यक्ष बुढाथोकीलाई नागार्जुन खेलकुद विकास समिति संयोजक बनाएर क्यानसँग सिफारिस मागिएको हो ।
हेर्नुस् पत्र
पारदर्शितामा उठ्यो प्रश्न
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सचिव बनेदेखि क्यानमा निकै प्रभाव देखाइरहेका छन् । क्यानमा उनको उपस्थितिले नेपाली क्रिकेटमा धेरै फरक परेको छ । खेलाडीहरुको सेवा सुविधादेखि क्रिकेट गतिविधि बढाउन पारसले थुप्रै काम गरेका छन् । क्यान आफैं पनि आर्थिक रुपमा सबल बनिरहेको छ ।
यद्यपि, योबीचमा पारसको कार्यशैली र पारदर्शितालाई लिएर भने क्यानभित्रै प्रश्न उठाउन थालिएको छ । क्यानका सदस्यहरुलाई गुमराहमा राखेर अधिकांश निर्णयहरु अध्यक्ष र सचिवबाट हुने गरेको भन्दै केही बोर्ड सदस्य रुष्ट छन् । नेपाली टीमलाई अमेरिका उडाइसकेपछि क्यानको बोर्ड बैठक सोल्टी होटलमा राखिएको थियो । उक्त बैठक बोर्ड सदस्य दुर्गा पाठकलगायत केहीले बहिष्कार गरेका थिए ।
स्रोतका अनुसार पाठकले क्यानकै केन्द्रीय कार्यालयमा बैठक बोलाउन माग गरेका थिए । चतुर-पारसले भने क्यान आर्थिक रुपमा सवल भइरहेको सन्देश दिन पनि सोल्टीमा बैठक बोलाउने भनेपछि उनले बहिष्कार गरे । क्यानको हिसाबकिताब पारदर्शी नभएको र मनोमानी रुपमा निर्णय भइरहेको भन्दै उनी पहिल्यैदेखि अध्यक्ष-सचिवसँग असन्तुष्ट थिए ।
नेपाल सरकारले विश्वकपको तयारीका लागि भने क्यानलाई ५ करोड रुपैयाँ दिएको थियो । सरकारले दिएको सो रकम क्यानले अमेरिकामा खर्च गरिरहेको छ । विश्वकप सुरु हुनुभन्दा एक महिना अगाडि नै नेपाली टोली अमेरिका पठाइएको थियो । आईसीसीले मे २५ तारिखदेखिको मात्रै खर्च व्यहोर्ने भएकाले त्यसभन्दा अगाडि भएको खर्च क्यानले नै गर्नुपर्ने हुन्छ ।
सरकारले दिएको बजेट के कसरी खर्च गर्ने भनेर बोर्डमा छलफल नगरिएको, अमेरिकाबाट सचिवले उठाएको रकमको विवरण पनि सार्वजनिक नगरिएको, आईसीसीले पठाउने भीभीआईपी टिकट अपारदर्शी रुपमा वितरण गरिएको, क्यानको सिफारिस र खर्चमा अमेरिका जानेहरुको सूची गोप्य राखिएकोलगायत विषयमा केही सदस्यले असन्तुष्टि जनाइरहेका छन् ।