वन्यजन्तु स्थानान्तरण: सम्भावना, चुनौती र मुद्दा – Nepal Press

वन्यजन्तु स्थानान्तरण: सम्भावना, चुनौती र मुद्दा

केही प्राकृतिक घटनासँगको संयोजनमा मानव गतिविधि संसारभरि प्रजाति लोपको लागि जिम्मेवार बनेको छ । हाम्रो इकोसिस्टममा मानव जातिको नकारात्मक प्रभावलाई बेवास्ता गर्न सकिँदैन । मान्छेले फूड चेन र फूड वेबको नियमित कार्यमा ठूलो असन्तुलन निम्त्याएको छ । बासस्थानको विनाशदेखि वन्यजन्तु तस्करी गर्नेसम्मका गतिविधिले धेरैजसो जीवको संख्यामा कमी र लोप हुनुमा मान्छे जिम्मेवार छ । विभिन्न कालखण्डमा संसारभरका वैज्ञानिकहरूले जीवहरूको संरक्षण र इकोसिस्टमको सन्तुलन सुधार गर्न विभिन्न विचार लिएर आएका छन् ।

तीमध्ये वन्यजन्तु स्थानान्तरण एक सफल उपाय हो, जुन उन्नाइसौंं शताब्दीदेखि विश्वभरका सम्बन्धित संस्थाहरू र सरकारहरूद्वारा प्रयोग गरिँदै आएको छ । स्थानान्तरण भनेको निश्चित क्षेत्रमा जनावरहरूको जनसंख्या स्थापना, पुनःस्थापना वा सुधार गर्न उक्त स्थानमा जीवहरूलाई जानाजानी छोड्नुु हो । स्थानान्तरण कार्यक्रमलाई तबमात्र सफल भन्न सकिन्छ, जब यस क्षेत्रमा स्थानान्तरण गरिएका प्रजातिको आत्मनिर्भर जनसंख्या कायम हुन्छ ।

किन स्थानान्तरण ?

प्रत्येक जीवले पारिस्थितिकी तन्त्रको कार्यमा आफ्नै महत्वपूर्ण भूमिका खेल्ने भएकोले, प्रजाति संख्याको विचलनले पारिस्थितिकी तन्त्रको सन्तुलनलाई ठूलो असर गर्छ । प्रजातिहरूको व्यवहार्य जनसंख्या कायम राख्न जनावरहरूलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरिन्छ । उदाहरणका लागि यदि मृग र मृग जस्ता शिकार प्रजातिहरूको संख्यामा उतारचढाव भयो भने यसले निश्चित रूपमा शिकारलाई खुवाउने शिकारीहरूको संख्यालाई असर गर्छ । त्यसैले शिकार प्रजातिहरूको संख्या बढाउन, अन्य जंगली बासस्थान वा प्रजनन् केन्द्रहरूबाट स्थानान्तरण गर्न सकिन्छ ।

त्यसैगरी यदि कुनै ठाउँमा विभिन्न कारणले केही प्रजातिको संख्यामा कमी आएको देखियो र अर्को समान वासस्थानमा समान प्रजातिको राम्रो व्यवहार्य जनसंख्या छ भने जनावरहरूलाई व्यवहार्य जनसंख्याबाट घटेको जनसंख्यामा स्थानान्तरण गर्न सकिन्छ, जसले दुबै क्षेत्रहरू बढ्न मद्दत गर्छ । र, जनावरको राम्रो जनसंख्या कायम राख्न सकिन्छ । जनावरहरूको पुनः परिचयले बिग्रिएको बासस्थानको पारिस्थितिक पुनःस्थापनाको लागि पनि मद्दत गर्छ । किनकि परिचय गरिएका जीवहरूले वरपरको बासस्थानसँग उनीहरूको अन्तरक्रिया बढाउँछ ।

संसारभरका वैज्ञानिकहरूले जनावरहरूलाई स्थानान्तरण गर्न विभिन्न उपायहरू अपनाउने गरेका छन् । सामान्यतया उनीहरूलाई सडक मार्गबाट ओसारपसार गरिन्छ, तर केही अनौठा घटना पनि भएका छन्, जहाँ गोहीहरू स्थानान्तरण गर्न हेलिकप्टर र जिराफलाई राफ्टको प्रयोग गरेर नाइल नदीमा एक ठाउँबाट अर्को ठाउँमा लगिएको थियो ।

स्थानान्तरणका समस्या र चुनौती

प्रजातिहरूको स्थानान्तरणको लागि सबैभन्दा पहिले प्रजातिको बासस्थान प्राथमिकता र प्रस्तावित बासस्थानको धान्नसक्ने क्षमता थाहा हुनुपर्छ । उचित अध्ययन गरेपछि गन्तव्य बासस्थान उपयुक्त पाइएमा मात्र उक्त जीवलाई त्यस स्थानमा स्थानान्तरण गर्नुपर्छ । त्यसो भएन भने प्रजाति बाँच्न नसक्ने र स्थानान्तरण कार्यक्रम पूर्ण रूपमा असफल हुने सम्भावना रहन्छ ।

जंगली जनावरहरू सामान्यतया मान्छेको उपस्थिति भएको र बन्द ठाउँहरूमा सीमित रहन रुचाउँदैनन् । वन्यजन्तु दबाबमा हुँदा तिनीहरूको तनावको स्तर र व्यवहार अनियमित रूपमा परिवर्तन हुनसक्छ । जनावरहरूलाई बन्दी वातावरणबाट जंगलमा स्थानान्तरण गर्न केही हदसम्म सजिलो छ, तर जंगली वातावरणबाट स्थानान्तरण गर्न भने कठिन छ । किनभने बन्दी जनावरहरू मानव उपस्थितिसँग घुलमिल भएका हुन्छन् । सर्वप्रथम स्थानान्तरण गर्न जंगली जनावरलाई पक्रनु ठूलो कुरा हो । चरा र साना स्तनपायीहरूका लागि तुलनात्मक रूपमा सजिलो हुनसक्ने भए तापनि हात्ती, गैंडा, भालु, बाघ जस्ता ठूला शाकाहारी र मांसाहारीहरूका लागि उत्तिकै वा अझ बढी खतरनाक छ । सुरक्षित दायराबाट डार्ट गन प्रयोग गरेर जनावरहरूलाई निष्क्रिय बनाइन्छ । ताकि मानिस र मेसिनरीहरू तिनीहरूको नजिक जान सकियोस् । त्यसपछि मात्र जनावरहरूलाई बाँधेर अर्को ठाउँमा लैजान गाडी या हात्तीमा लोड गर्न सकिन्छ ।

एनेस्थेसियाको डोज पशुको तौल र उमेरअनुसार राम्ररी गणना गर्नुपर्छ । किनभने धेरै कम मात्राले जनावरलाई राम्रोसँग लठ्याउन सक्दैन र त्यो वन्यजन्तुले वरपरका मानिसहरूलाई नोक्सान पुर्‍याउने खतरा हुन्छ । रगतमा एनेस्थेसियाको डोज धेरै भएमा त्यस वन्यजन्तुको अंगहरूले काम गर्न सक्दैन र वन्यजन्तुको मृत्युसमेत हुनसक्छ । संसारभरका वैज्ञानिकहरूले जनावरहरूलाई स्थानान्तरण गर्न विभिन्न उपायहरू अपनाउने गरेका छन् । सामान्यतया उनीहरूलाई सडक मार्गबाट ओसारपसार गरिन्छ, तर केही अनौठा घटना पनि भएका छन्, जहाँ गोहीहरू स्थानान्तरण गर्न हेलिकप्टर र जिराफलाई राफ्टको प्रयोग गरेर नाइल नदीमा एक ठाउँबाट अर्को ठाउँमा लगिएको थियो ।

सामान्यतया जनावरको शरीरमा पानी हालेर र जनावरलाई ढुवानीको लागि राखिएको पिंजडामा छायाँ र उचित हावा उपलब्ध गराएर शरीरको तापक्रम स्थिर गराइन्छ ।

जनावरहरूलाई एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दा तिनीहरूको शरीरको तापक्रम र तनावको स्तरलाई ध्यानमा राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । किनभने यसले वन्यजन्तुलाई आतंकित गर्न, आफैंलाई चोट पुर्‍याउन वा सबैभन्दा खराब अवस्थामा मार्नसक्छ । सामान्यतया जनावरको शरीरमा पानी हालेर र जनावरलाई ढुवानीको लागि राखिएको पिंजडामा छायाँ र उचित हावा उपलब्ध गराएर शरीरको तापक्रम स्थिर गराइन्छ ।

नेपालमा जनावरको स्थानान्तरण, सफलता र असफलताको मिश्रित कथा

असाधारण जैविक विविधता भएको नेपाल पनि प्रजातिको जनसङ्ख्या उच्च जोखिममा छ । नेपालमा पाइने स्तनधारी वन्यजन्तुमध्ये २६ लोपोन्मुख, एक क्षेत्रीय रूपमा लोपोन्मुख, आठ क्रिटिकल एन्जेन्डर, १४ जोखिमयुक्त र सात वटा नियर थ्रेटेनेड भनेर वर्गीकरण गरिएको छ । कृष्णसार, गैंडा, बाघ र घडियाल ट्रान्सलोकेसनले नेपालमा जनावरको स्थानान्तरणको सफलताको कथा बोकेको छ । विगतको तथ्यांकलाई हेर्दा नेपालले पनि लामो समयदेखि जनावरको स्थानान्तरणका लागि निरन्तर काम गरिरहेको छ । कृष्णसारलाई सन् १९७७ मा बर्दियाको खैरापुरबाट बर्दिया राष्ट्रिय निकुञ्जको बघौरा फाँटमा स्थानान्तरण गरिएको थियो, जुन नेपालमा जनावरको स्थानान्तरणमा अग्रगामी गतिविधि हो ।

सन् १९७७ देखि १९८७ सम्ममा खैरापुर र केन्द्रीय चिडियाखानाबाट बर्दिया राष्ट्रिय निकुञ्जमा जम्मा ५२ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । पछि सन् २०१२ देखि २०१५ सम्म नेपालगञ्जको मिनी चिडियाखानाबाट हिरापुर, शुक्लाफाँटामा, केन्द्रीय चिडियाखाना र खैरापुरबाट ९४ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । खैरापुर बर्दियामा स्थापना गरिएको कृष्णसार संरक्षण क्षेत्र तिनीहरूको संख्या बढाउन र अन्य सम्भव बासस्थानमा स्थानान्तरणको लागि असाधारण कदम हो ।

यदि स्थानान्तरण अघि उचित अध्ययन र बासस्थान व्यवस्थापन गरिएन भने यो प्रजातिको लागि साँच्चै कुरूप हुनसक्छ । इतिहासले सुझाव दिन्छ, सबै होइन, तर धेरै स्थानान्तरण प्रक्रिया असफल हुनसक्छ । जसले गर्दा हामीले बहुमूल्य र खतरामा परेका जनावर गुमाउन सक्छौं ।

सन् १९८६ देखि २०१७ सम्म बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०० वटा गैंडा स्थानान्तरण भए पनि माओवादी द्वन्द्वकालमा यो संख्यामा ठूलो ह्रास आएको थियो । विभिन्न घटना क्रममा गैंडालाई चितवन राष्ट्रिय निकुञ्जबाट देशका विभिन्न राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्दा अहिले नेपालमा गैंडाको केही हदसम्म सन्तुलित जनसंख्या सिर्जना भएको छ । हालैका गैंडा स्थानान्तरणमा मानव-गैंडा द्वन्द्व कम गर्न र निकुञ्जको कम घनत्व क्षेत्रमा गैंडाको घनत्व कायम राख्न चितवनबाट कोशी वन्यजन्तु आरक्षणमा दुई पोथी गैंडाको स्थानान्तरण र चितवन राष्ट्रिय निकुञ्जभित्र केही आन्तरिक स्थानान्तरण गरिएको छ । कोशी लगिएका दुई पोथी गैंडालाई गर्भाधान गराउन भाले गैंडालाई पनि कोशीमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो, तर डार्टिङ र ओसारपसारका क्रममा केही जटिलता र समस्या आएपछि उपचारका लागि भालेलाई पुनः चितवन ल्याइएको थियो । यसले के देखाउँछ भने योजनाबद्ध र दोहोर्‍याइएको प्रक्रिया पनि यी ठूला वन्यजन्तुका लागि गलत हुनसक्छ ।

यी जनावरको स्थानान्तरणमा सफलता प्राप्त भए पनि केही स्थानान्तरण कार्यक्रम पूर्ण रूपमा असफल भएका छन् । नेपालमा अर्नाको एकमात्र स्थिर जनसंख्या कोशी टप्पु वन्यजन्तु आरक्षणमा छ, तर बाढी, घरेलु भैंसीसँग क्रस प्रजनन् र रोग फैलिनु जस्ता खतराको उच्च जोखिममा छन् । यही तथ्य बुझेर कोशी टप्पुका १२ र केन्द्रीय चिडियाखानाबाट ३ गरी १५ वटा अर्नालाई चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रको घेरामा स्थानान्तरण गरिएको थियो । पछि बासस्थानको उचित व्यवस्थापन, स्रोतसाधनको अभाव र अज्ञानताका कारण चितवन राष्ट्रिय निकुञ्जमा एउटै अर्ना पनि बाँचेन । यसैगरी शुक्लाफाँटाबाट २०१७ मा ७ वटा बाह्रसिङ्गेलाई पनि सोही घेरामा स्थानान्तरण गरिएको थियो, तर स्थानान्तरण भएको एक वर्षभित्रै ती सबैको मृत्यु भएको थियो ।

विभिन्न प्रजातिको मेटापपुलेसन सिर्जना गर्नुको महत्व बुझेर नेपालले आफ्ना भविष्यका योजनामा गौर, बाघ, कृष्णसार, गिद्ध आदि विभिन्न प्रजातिको स्थानान्तरण गर्ने योजना बनाएको छ । यी प्रजातिहरू अन्य धेरै प्रजातिहरूको लागि पनि सम्भाव्य पारिस्थितिकी प्रणाली कायम राख्न धेरै महत्वपूर्ण छन्, तर यदि स्थानान्तरण अघि उचित अध्ययन र बासस्थान व्यवस्थापन गरिएन भने यो प्रजातिको लागि साँच्चै कुरूप हुनसक्छ । इतिहासले सुझाव दिन्छ, सबै होइन, तर धेरै स्थानान्तरण प्रक्रिया असफल हुनसक्छ । जसले गर्दा हामीले बहुमूल्य र खतरामा परेका जनावर गुमाउन सक्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *