विश्वकप खेल्ने अमेरिकी टीममा विदेशी खेलाडीकाे राज, ८ जना भारतीय – Nepal Press

विश्वकप खेल्ने अमेरिकी टीममा विदेशी खेलाडीकाे राज, ८ जना भारतीय

काठमाडौं । क्यानडाविरुद्ध सनसनीपूर्ण जीत हासिल गर्दै आयोजक राष्ट्र अमेरिकाले आईसीसी टी-२० विश्वकपमा सानदार सुरुवात गर्‍यो । डलासमा आइतबार बिहान भएको पहिलो खेलमा कठिन अवस्थाबाट उठेर अमेरिकाले ७ विकेटको जीत निकालेको हो ।

विश्वकपको पूर्वसन्ध्यामा अमेरिकाले बंगलादेशलाई ३ खेलको टी-२० सिरिजमा हराएको थियो । २०७६ सालमा नेपालसँग ३५ रनमा अल आउट भएको अमेरिका अहिले टेस्ट राष्ट्रलाई समेत पराजित गर्ने स्थानमा पुगेको छ । घरेलु मैदानमा पहिलो पटक भइरहेको विश्वकपमा अमेरिकी टीम उच्च आत्मविश्वासयुक्त देखिन्छ । कुनै पनि टीमले अमेरिकालाई कमजोर आँक्न सक्ने अवस्था छैन ।

अमेरिकामा क्रिकेट उति लोकप्रिय खेल होइन । आफ्नो देशमा विश्वकप भइरहँदा पनि आमअमेरिकी नागरिकलाई खासै चासो छैन । बरु अन्य देशबाट दर्शकहरू ठूलो संख्यामा विश्वकप हेर्न अमेरिका आइरहेका छन् ।

अमेरिकी राष्ट्रिय क्रिकेट टीमको कुरा गर्ने हो भने पनि आयातित खेलाडीहरूको बाहुल्य छ । टीमभित्र अधिकांश विदेशी खेलाडी छन् । टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाविरुद्ध खेलेका ११ जनामध्ये २ जना खेलाडीमात्रै वास्तविक अमेरिकी हुन् । आरोन जोन्स र स्टेभेन टेलरबाहेक सबै विदेशी मूलका हुन् ।

सन् २०१९ बाट टी-२० क्रिकेटमा डेब्यु गरेका आरोनले क्यानडाविरुद्ध विस्फाेटक इनिङ खेल्दै अविजित ९४ रन जोडेका थिए । उनले अहिलेसम्म २७ टी-२० आई खेलमा कुल ४७८ रन बनाइसकेका छन् ।

टेलर पनि पछिल्लो ५ वर्षदेखि अमेरिकाको सिनियर टोलीबाट खेल्दै आएका छन् । ओपनिङ ब्याटर टेलर अमेरिकाको उमेर समूह हुँदै सिनियर टोलीमा प्रवेश गरेका हुन् । उनले सिनियर टोलीबाट २५ टी-२० आई खेलमा ७४२ रन जोडेका छन् ।

टी-२० विश्वकपमा अमेरिकाको कप्तानी गरिरहेका मोनक पटेल अमेरिकी होइनन् । भारतमा जन्मिएका उनले उमेर समूहमा भारतबाटै खेलेका थिए । पटेलले सन् २०१९ देखि अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले टी-२० अन्तर्राष्ट्रियमा अमेरिकाको तर्फबाट २६ खेलमा ४५७ रन जोडेका छन् ।

पटेलसहित अमेरिकाको टीममा रहेका हर्मित सिंह र सौरभ नेत्रभाल्कर भारतका हुन् । हर्मित र सौरभले भारतीय यू-१९ टोलीबाट समेत खेलिसकेका छन् । उनीहरूले सन् २०१० मा भएको यू-१९ विश्वकपमा भारतबाट खेलेका थिए । सो विश्वकपमा हर्मित भारतको तर्फबाट सर्वाधिक रन बनाउनेको दोस्रो र सौरभ भारतको तर्फबाट विकेट लिनेको सूचीको शीर्ष स्थानमा थिए ।

हर्मितले गत अप्रिलमा अमेरिकी टोलीबाट डेब्यु गरेका हुन् । सौरभले भने सन् २०१९ बाट अमेरिकाको टोलीबाट अन्तर्राष्ट्रिय खेल्दै आएका छन् । ७ खेल खेलेका हर्मितले ७ विकेटसहित ८१ रन बनाएका छन् । २८ टी-२० खेल खेलेका सौरभले २७ विकेट लिएका छन् ।

अमेरिकाबाट विश्वकपमा समेटिएका विकेटकिपर ब्याटर एन्ड्रिस गोस दक्षिण अफ्रिकाका हुन् । दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट खेलेको अनुभव गोससँग छ । उनले गत अप्रिलदेखि अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्न थालेका हुन् । उनले ७ खेलमा २२६ रन जोडेका छन् । उनीसहित अलराउन्डर श्याडली भान शाल्क्विक पनि दक्षिण अफ्रिकाका हुन् । उनले पनि गत अप्रिलदेखि अमेरिकाबाट खेल्न थालेका छन् । ७ खेल खेलेका उनले ५५ रन जोडेर ७ विकेट लिएका छन् ।

हाल अमेरिकाबाट खेलिरहेका नितिश कुमार भारतीय मूलका क्यानेडियन खेलाडी हुन् । उनले २०१२ मा क्यानडाबाट टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । क्यानडाले सन् २०११ को  विश्वकप खेल्दा उनी कान्छाे सदस्यका रुपमा टीममा थिए । २२ वर्षकाे उमेरमा उनी राष्ट्रिय टीमको कप्तान बने । गत अप्रिलदेखि मात्र उनी अमेरिकाबाट खेल्न थालेका हुन् । अप्रिलमा भएको खेलमा क्यानडाविरुद्ध उनले सर्वाधिक ६४ रन जोडेका थिए ।

सन् २०१९ देखि अमेरिकाबाट खेल्दै आएका अली खान पाकिस्तानका हुन् । पाकिस्तानमा जन्मिएर हुर्किएका खानले सन् २०२१ मा टी-२० अन्तर्राष्ट्रियमा अमेरिकाबाट डेब्यु गरेका थिए । ९ टी-२० खेल खेलेका खानले अमेरिकाका लागि १० विकेट लिएका छन् ।

ब्याटिङ अलराउन्डर कोरे एण्डरसन न्युजिल्यान्डका पूर्वस्टार हुन् । हाल अमेरिकाबाट खेलिरहेका उनी न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट १३ टेस्ट ४९ एक दिवसीय र ३७ टी-२० खेलेका छन् । न्युजिल्यान्डबाट खेल्दै उनले सर्वाधिक छिटो एक दिवसीय शतकको विश्व कीर्तिमान कायम गरेका थिए । उनको कीर्तिमान पछि एवी डिभिलर्सले तोडे । । सन् २०१२ मा टी-२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डबाट डेब्यु गरेका उनले गत अप्रिलदेखि अमेरिकाबाट खेल्न सुरू गरेका थिए । ६ टी-२० खेल खेलेका उनले १४९ रन बनाएका छन् ।

बलर जसदीप सिंह भारतीय मूलका हुन् । लगातार अमेरिकाबाट खेल्दै आएका उनले ११ टी-२० आई खेलमा १२ विकेट लिएका छन् । अमेरिकामै जन्मेका जसदीप ३ वर्षको हुँदा परिवारसहित पञ्जाव फर्केका थिए । १३ वर्षको उमेरमा फेरि उनी अमेरिका गए र त्यहीं क्रिकेट खेल्न थाले ।

क्यानडाविरुद्ध बेन्चमा रहेका नोसथुस प्रदीप केन्जिगे, निशर्ग पटेल र मिलिन्द कुमार भारतीय मूलकै हुन् । शायन जहागिर पाकिस्तानका हुन् । गत अप्रिलमा टी-२० आईमा डेब्यु गरेको केन्जिगेले ६ खेलमा ४ विकेट लिएका छन् । सन् २०१९ बाट टी-२० आई खेल्न सुरू गरेका पटेलले २१ खेलमा ११५ रन र २७ विकेट लिएका छन् । शायनले गत मे र मिलिन्दले गत अप्रिलबाट अमेरिकाबाट खेल्न थालेका हुन् । शायनले पाकिस्तानको यू-१९ टोलीबाट खेल्दा मिलिन्दले आईपीएल, रणजी ट्रफी खेलिसकेका छन् ।

टी-२० विश्वकपमा पहिलो खेलमा जीत निकालेको अमेरिकाले दोस्रो खेलमा आउँदो बिहीबार पाकिस्तानसँग खेल्नेछ । जुन १२ मा भारत र जुन १४ मा आयरल्यान्डसँग खेल्ने तालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर