सुदूरपश्चिम एमालेले भन्यो- माधव नेपालले खुट्टा उचाल्न छाडेर सच्चिएका दिन सरकारमा जान्छौँ
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षको बजेट जनता केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
सोमबार एमाले प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एमालेको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम आएको बताए ।
अब सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्ष बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए । उनले नीति तथा कार्यक्रम कार्यान्वयन नभए आफूहरूको समर्थन वर्तमान सरकारलाई नहुने समेत प्रस्ट पारेका थिए ।
पूर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता रावलले अहिले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरू हाबी भइरहेको समेत बताए । उनले त्यस्ता बिचौलियाहरूलाई नियन्त्रण गर्न सरकारी संयन्त्रको प्रयोग हुन आवश्यक रहेको जिकिर गरे ।
‘नीति तथा कार्यक्रम राम्रो आएको छ । अब उक्त नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्छ’ उनले भने, ‘सरकारले अहिले बजेट बनाउँदा बिचौलियाहरू हाबी हुन थालेका कुरा सुनिन्छन् । ती बिचौलिया नियन्त्रण गर्न सरकारी संयन्त्रलाई प्रयोग गर्नु पर्छ ।’
मुख्यमन्त्री स्वयम्ले बिचौलियाहरू हटाउन पहल गर्नु पर्नमा रावलको जोड थियो ।
उनले भने, ‘ठेकेदार स्कुलका मास्टर सापहरू चेक लिएर आउने अवस्था बन्द गर्नु पर्छ । सरकारी कर्मचारीको संलग्नतामा बजेटमा कमिसन दिने कुरा मुख्यमन्त्रीको पहलमा बन्द हुनुपर्छ ।’
सबैको भावना अनुसारको बजेट तयार गर्नु पर्ने र बजेट कार्यान्वयन विधि, नीति अनुसार हुनु पर्नमा उनले जोड दिए।
‘नीति तथा कार्यक्रम हाम्रो सुझावमा आएको छ । बजेट कस्तो आउँछ हेर्न वाकी छ’ रावलले भने ‘हामीले दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेका थियौँ । सिद्धान्त नीति तथा प्राथमिकताको विषयमा छलफल गरेका थियौँ त्यसैको उपलब्धि हो यो नीति तथा कार्यक्रम ।’
तुलनात्मक रूपमा प्रगतिशील नीति तथा कार्यक्रम आएको र यसले जनताको जीवनस्तर सुधार गर्न सहज हुने उनको विश्वास थियो ।
यहाँको जनशक्ति उपयोग गर्ने देखी जमिन बाझो नराख्ने सम्मको नीतिमा बजेट विनियोजन गर्ने र एक जिल्ला एक पुरातात्त्विक गन्तव्य बनाउने विषयमा सरकार गम्भीर बन्नु पर्नेमा उनको जोड थियो । लगानी सम्मेलनलाई अगाडी बढाउने र आत्मनिर्भरता उन्मुख सुदूरपश्चिम सरकार बनाउने उद्देश्यका साथ सरकार अगाडी बढ्नु पर्ने उनले बताए ।
सिद्धान्त र प्राथमिकतामा रहेर नीति तथा कार्यक्रम आएको र यही जगमा उभिएर बजेट कार्यक्रमहरू अगाडि बढ्ने रावलको भनाइ थियो । मुख्यमन्त्रीका नाममा रहेको योजनाहरू पनि अहिले सुदूरपश्चिमका विभूतिहरूको नाममा राखिएको पनि उनले बताए ।
‘हिजो मुख्यमन्त्री केन्द्रित रहेको थियो । हिजो मुख्यमन्त्री शिक्षा, मुख्यमन्त्री स्वास्थ्य र कृषिमा पनि मुख्यमन्त्री नाम जोडिएको थियो’ उनले भने, ‘अहिले भीमदत्त पन्त, दशरथ चन्द , द्वावारीका देवी ठकुरानी र पहलमानसिंह स्वार लगायतको नाममा कार्यक्रम आएका छन् ।’
सुदूरपश्चिम प्रदेश सरकारको विषयमा पनि उनले प्रस्ट पारेका थिए । माधव कुमार नेपाल स्पष्ट नभए सम्म सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी नहुने उनले बताए ।
‘माधव नेपाल खुट्टा उचालिरहेका छन् । यता हामी सरकारमा जाने तयारी गर्छौ उता खुट्टा उचालिरहेका हुन्छन् । जुन दिन सचिन्छन् खुट्टा उचाल्न छाड्छन् त्यो दिन सरकारमा हामी सहभागी हुन्छौँ’ उनले भने ‘सच्चिएपछि दुई मिनेट लाग्दैन एक छिनमै मन्त्री बन्छन् ।’