कोशी : प्रदेशसभा बैठकमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभाको बैठकमा सहभागी हुने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठन प्रक्रिया अवैधानिक भएको भए पनि सभामा सहभागी हुने बताए ।
उनले नेपाली कांग्रेस बजेट तथा नीति कार्यक्रमको छलफलमा सहभागी हुने बताए । उनले यस प्रदेशमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम एवं बजेट पनि प्रस्तुत गर्ने समय सीमालाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको बताए ।
‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरू प्रदेश सभा मार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनी खबरदारी गर्नुपर्ने महत्त्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ’, विज्ञप्तिमा उल्लेख छ, ‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय प्रद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेश सभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।’