चित्रबहादुर केसीको दिक्दारी- सदनमा रमाइलो छैन, छलफल सुन्दा म त निदाएछु (भिडिओ)
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेटमाथिको छलफल दिक्कलाग्दो भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलको क्रममा बोल्दै उनले जति छलफल गरे पनि तलमाथि नहुने भएकोले छलफलको औचित्य नभएको बताए ।
उनले भने, ‘सत्तापक्षले प्रस्तुत गरेको बजेट यहाँ जति उफ्रे पनि एक सुका, एक आना तलमाथि गर्न नपाइने, यहाँ जे आएको छ, त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य लाग्न छाड्यो । म त आज यही छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन । यस्तो पो हुन गयो । रमाइलो छैन संसद, दिक्कलाग्दो छ ।’
सांसद केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको उल्लेख गरे । संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनावश्यक बोझ नेपाली जनताले झेल्नुपरेको उनको बुझाइ छ ।