एमाले नुवाकोटकाे आठौं जिल्ला अधिवेशन, अध्यक्षमा भिड्दै मैनाली र प्रधान – Nepal Press

एमाले नुवाकोटकाे आठौं जिल्ला अधिवेशन, अध्यक्षमा भिड्दै मैनाली र प्रधान

नुवाकोट । नेकपा एमाले नुवाकोटको आठौं जिल्ला अधिवेशन जेठ २२ गते सुरु हुँदैछ । अधिवेशन नजिकिएसँगै नुवाकोट एमालेका नेता कार्यकर्ताबीच चहलपहल बढेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अधिवेशन उद्घाटन गर्ने कार्यक्र रहेको एमाले अधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक नीलकण्ठ आचार्यले बताए । उनका अनुसार जिल्ला अधिवेशनको खुलासत्र लिखु गाउँपालिकाको ढिकुरे फाँट र बन्दसत्र विदुर नगरपालिका- ४ बट्टारमा हुनेछ ।

नेतृत्वको लागि वर्तमान अध्यक्ष बद्री मैनाली र उपाध्यक्ष बुद्धि प्रधान भिड्ने भएका छन् । दुबै नेताले प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।

यसअघि आफूले सोचेजति काम गर्न नपाएको भन्दै मैनाली नेतृत्वमा दोहोरिन लागिपरेका छन् । प्रधानले भने विगतको सहमतिअनुसार आफूलाई नै अध्यक्ष सर्वसम्मतले बनाउनुपर्ने बताएका छन् ।

मैनाली प्यानलबाट उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार र उपसचिवमा सम्मरबहादुर आलेमगर, रमेश वस्ती, अरुण श्रेष्ठले दाबी गरेका छन् ।

त्यस्तै प्रधान प्यानलबाट उपाध्यक्षमा वर्तमान सचिव सुदर्शन नेपाल, सचिवमा हालका उपसचिव नीलकण्ठ आचार्यको दावेदारी देखिएको छ । उपसचिवमा भने हरि अधिकारी, सुशील खड्का, वीरवल तामाङको दावेदारी देखिएको छ ।

त्यस्तै महिला उपसचिवमा दुर्गा पुडासैनी, पार्वती प्याकुरेल, रूपा सापकोटा, मंगलमाया प्रजापतिलगायत आकाङ्क्षी छन् ।

अधिवेशनमा जिल्लाका भूगोल, जनसङ्गठन र विधानबमोजिमका निकायबाट ५४३ जना अधिवेशन प्रतिनिधि शनिबारै चयन भइसकेको एमाले जिल्ला अध्यक्ष मैनालीले जानकारी दिए ।

उनका अनुसार अधिवेशनबाट पदाधिकारीसहित १०४ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई र १०० सदस्य तीनवर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।

सर्वसम्मत अध्यक्ष चयन हुने अवस्था नआएमा विकल्पका रूपमा नुवाकोट एमालेका संस्थापक नेता नारायणप्रसाद खतिवडाको नाम पनि कार्यकर्ता पङ्क्तिमा चर्चा हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर