मधेश प्रदेशसभा: दुई घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेश मामिला समितिलाई – Nepal Press

मधेश प्रदेशसभा: दुई घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेश मामिला समितिलाई

जनकपुरधाम । सप्तरीको राजविराजमा भएको कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने भएको छ ।

आजको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गर्दै कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानबिनको माग गरेको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छानबिन समितिको विषयमा सबै दलका नेतालाई राखेर छलफल गरेका थिए ।

छलफलका क्रममा जसपा नेपालका सांसदहरुले २०८१ वैशाख ४ माप्रदेशसभाभित्र घटेको घटनाको पनि छानबिन हुनुपर्ने अडान राखे । जनमत पार्टी सहमत भएपछि कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाभित्र भएको घटनाको छानबिन गर्ने सहमति भएको छ ।

छानबिनको विषयमा सहमति जुटेपछि स्थगित प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए ।

उनका अनुसार उक्त समितिमा नरहेका दललाई समेत छानबिन प्रयोजनका लागि सदस्यको रुपमा प्रतिनिधित्व गराइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर