कोशी प्रदेश सरकारको नीति: मध्यपहाडी लोकमार्ग आसपासको विकास प्राथमिकतामा
विराटनगर । कोशी प्रदेश सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख परशुराम खापुङले मध्यपहाडी लोकमार्ग आसपासको विकासलाई प्राथमिकतामा राखेको बताए ।
उनले पर्यटन र पूर्वाधारको विकासबाट पुष्पलाल मध्यपहाडी लोकमार्गको विकास गर्ने बताए । यस क्षेत्रमा कृषि उत्पादनको वृद्धि गर्ने नीति प्रदेश सरकारको रहेको उनको भनाइ छ । यस क्षेत्रमा कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने नीति रहेको प्रदेश प्रमुख खापुङले बताए ।
यसअघि नेकपा एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो । दार्चुलाको झुलाघाटदेखि पाँचथरको च्याङ्थापुसम्म भएको यात्रामा एमाले अध्यक्ष केपी ओलीसँगै शीर्ष नेताहरु सहभागी भएका थिए ।
प्रदेश प्रमुख खापुङले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रममार्फत सरकारले चालू खर्च घटाउने नीति लिएको छ ।
प्रदेश प्रमुख खापुङले प्रदेश सरकार मातहतमा रहेका बोझिला कार्यालयको व्ययभार घटाउने नीति लिएको बताए ।
उनले आवश्यकअनुसार सरकारी कार्यालयको मर्ज गर्ने नीतिसमेत लिइने र उच्चस्तरीय प्रशासन सुधार कार्यदलको सुझाव कार्यान्वयन गर्ने नीति लिएको बताए ।