लुम्बिनी प्रदेशको श्रमादान रोजगार मेला बुटवलमा
रुपन्देही । सरकारले सातै प्रदेशमा आयोजना गर्न लागेको श्रमाधान रोजगार मेला लुम्बिनी प्रदेशको बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेठ २३ र २४ गते श्रमाधान रोजगार मेलाको तयारी गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, श्रम तथा रोजगार कार्यालय बुटवल र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा तथा निजी क्षेत्रको समन्वयमा २ दिनसम्म हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकूल वातावरण सृजना गर्नु मेलाको उद्देश्य रहेको श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले बताए ।
मेलामा रोजगार दिने र रोजगारी खोज्नेहरूबीच प्रत्यक्ष भेट हुने र रोजगारी सिर्जनाको वातावरण उपलब्ध हुने उनको भनाइ छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उनको भनाइ छ ।
रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरू राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथलगायत कम्तीमा ४० वटा स्टल तथा बुथ हुनेछन् ।
प्रदेशभित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी र निजी क्षेत्रका स्टलहरू हुनेछन् ।
श्रम र रोजगारसँग सम्बन्धित कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम हुनेछन् । जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकतासम्बन्धी अन्तरक्रिया हुनेछ ।
त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक प्रस्तुतिसमेत हुने मेलाले सीप र विकासलाई रोजगारदाता र रोजगार खोज्नेहरूसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले बताए ।
श्रमाधान रोजगार मेलामा सहभागी हुन अनलाइन दर्ता प्रणालीमार्फत रोजगारदाता सूचीकरण हुन र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न सकिने व्यवस्था छ । मेलाको भ्रमण गरी त्यही म्यानुअल र अनलाइनबाट समेत दर्ता गर्ने सकिने व्यवस्था रहेको छ ।