लुम्बिनी कांग्रेसमा गिजोलियाे दलको नेता फेर्ने सवाल, साथ दिएका नेताहरु नखुल्दा संकटमा खनाल – Nepal Press

लुम्बिनी कांग्रेसमा गिजोलियाे दलको नेता फेर्ने सवाल, साथ दिएका नेताहरु नखुल्दा संकटमा खनाल

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा संसदीय दलको नेता फेर्ने विषय थप गिजोलिएको छ । सांसदहरू दलको नेता फेर्ने कसरतमा लागेको समाचार नेपाल प्रेसबाट सार्वजनिक भएपछि कांंग्रेसभित्र ठूलै तरङ्ग उत्पन्न भएको छ ।

वर्तमान कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीसँग सांसदहरुको ठूलो असन्तुष्टि छ । चौधरीलाई संसदीय दलको नेताबाट हटाउन संस्थापन पक्षका पार्टी सभापति शेरबहादुर देउवा पक्षीय सांसदहरु पनि सक्रिय भएर लागेका छन् ।

यसअघि दलका नेता रहेका डिल्लीबहादुर चौधरीलाई हटाएर संस्थापन इतर समूहले नयाँ दलको नेताको रुपमा दाङ घर भएका प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजु खनाल संस्थापन पक्ष छाडेर डा. शेखर कोइराला र गगन थापा पक्षमा लागेपछि संसदीय दलको गणित फेरबदल भएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेपछि कांग्रेसभित्र उनको समूह कमजोर भएको छ । खाण निकट रहेका खनाल उनी कमजोर देखिएपछि अहिले शेखर र गगन पक्षमा लागेर संसदीय दलको नेता बन्ने दौडधुप बढाएका हुन् । खनालले यसअघि पनि संसदीय दलको नेतामा दावी गरेका थिए, तर कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गेहेन्द्र गिरीले नरुचाएपछि खनाल दलको नेता बन्ने दौडमा देउवा क्याम्पमा कमजोर बने ।

त्यो वेला ब्याक भए, तर खनाल अहिले उपयुक्त अवसरको खोजीमा छन् । देउवा क्याम्पबाट सजिलै दलको नेता बन्न सहज नदेखिएपछि र खाण पनि कांग्रेसभित्रको राजनीतिमा कमजोर बन्दै गएपछि उनले शेखर पक्षमै लागेर प्रदेशको संसदीय दलको नेता बन्न चुनाव लड्ने रणनीति अघि सारेका छन् ।

संस्थापन इतर पक्ष संसदीय दलमा निकै कमजोर छ । खनाल मुख्यमन्त्रीको महत्वाकाङ्क्षी भएकाले पनि पार्टी केन्द्रमा अहिलेको सहकारी प्रकरणमा सहजता आए उनी फेरि त्यो दौडलाई जारी राख्ने पक्षमा देखिएका छन् । खनाल शेखर-गगनसँगै अर्का पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा पक्षसँग पनि संवादमा छन् । विश्वप्रकाश नेविसंघको अध्यक्ष हुँदा खनाल उपाध्यक्ष थिए, तर संसदीय दलको नेता तत्काल फेर्न कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र शेखर निकट मानिने कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले अस्वीकार गरेका छन् ।

दाङका प्रभावशाली मानिने दुवै केन्द्रीय सदस्यले अस्वीकार गरेपछि खनालको संसदीय दलको नेता हुने चाहना तत्कालका लागि रोकिएकोमात्रै छैन, उनीमाथि विश्वासको ठूलो धक्का लागेको छ । खनाल जिल्ला तहको राजनीतिमा जिल्ला सभापति शंकरप्रशाद डाँगीसँग मिलेका छन् । अहिले खनाललाई जिल्ला तहमा पूर्व क्षेत्रीय सभापति भूपबहादुर डाँगीले पनि साथ छाडेका छन् ।

यसअघि जिल्ला सभापतिको दावेदार रही चुनाव लडेका भूपबहादुर कांग्रेसभित्रै महासमिति सदस्य किरणकिशोर घिमिरेसँग मिलाउन केही जिल्लास्तरका नेताहरु लागिपरेका छन् । भूपबहादुरको पार्टीभित्र र बाहिर जनाधार बलियो भएकाले भूपबहादुरले साथ छोड्दा खनाल जिल्ला तहको राजनीतिमा कमजोर बन्दै गएका छन् । कांग्रेसका जिल्ला सदस्य बिरु खत्री, अर्का जिल्ला सदस्य खेम विश्वकर्मा, कांग्रेसकै नेता गणेश बेलबासेले पनि खनालको साथ छाडेका छन् ।

यसअघि खनालले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई भेटेर पहलका लागि आग्रह गरेका थिए । गिरी संस्थापन पक्षकै नेता हुन् । गिरीले यसअघि चौधरीलाई दलको नेता बनाउने बेला संयोजन गरेका थिए ।

कांंग्रेस सहमहामन्त्री किशोरसिंह राठोर पनि खनाललाई संसदीय दलको नेता मान्ने पक्षमा नरहेको उनी निकट नेताहरु बताउँछन् । खनाल र वीरबहादुर रानामध्येबाट एक जनालाई अघि सार्ने रणनीतिमा इतर समूह रहेको बताइएको छ ।

लुम्बिनी पार्टीमा इतर समूहको वर्चश्व रहेको, तर संसदीय दलमा भने गणित केही थोरै भएकाले यसअघिको प्रयास विफल भएको थियो ।

‘हामीले दलको नेता फेर्नेगरी बैठक बसेका छौं, केही समयमा यसलाई अगाडि बढाउँछौं, सम्भवतः पूर्वमन्त्री राजु खनाल वा वीरबहादुर रानामध्येबाट एक हुनुहुनेछ’, बैठकमा रहेका एक नेताले नेपाल प्रेससँग भने ।

यदि संसदीय दलको नेता फेर्ने कसरत भएमा देउवा खेमाकै कांग्रेस लुम्बिनीका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको बलियो सम्भावना रहेको कांग्रेसका नेताहरु बताउँछन् । कांग्रेस केन्द्रीय सदस्यद्वय गिरीको साथ नपाउने भए पनि शेखर पक्षबाट खनाल चुनाव गराएर संसदीय दलको नेता बन्न चाहेको कांग्रेसका एक नेताले बताए । अहिले चुनाव लडेर शेखर पक्षमा देखिएर कांग्रेस लुम्बिनी प्रदेशको सभापतिको दाबी गर्ने गरी खनालले आफ्नो रणनीति अघि सारेका छन ।

हालका कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुन शेखर पक्षका हुन् । पार्टी प्रदेश उपसभापति भएकाले देउवा क्याम्पबाट प्रदेश सभापति दिन नसक्ने अवस्थामा अमरपछि शेखर पक्षको नेता नभएको र उपसभापति भएको नाताले सजिलै सभापति दाबी गर्नसक्ने अवस्था रहेको छ ।

तर, नेपाली कांग्रेस लुम्बिनीका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले भने यसबारे अनभिज्ञता व्यक्त गरे, तर इतर समूहका नेताहरु केही समयमा राजु खनाल दलको नेता बन्ने विषयमा ढुक्क रहेको बताउँछन् ।

८७ सदस्यीय प्रदेशसभामा दोस्रो दल रहेको कांग्रेसका २७ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर