सुदर्शनलाई हिरासत पुर्‍याउने सुदर्शन भन्छन्- अब जे गर्छ कानूनले गर्छ – Nepal Press

सुदर्शनलाई हिरासत पुर्‍याउने सुदर्शन भन्छन्- अब जे गर्छ कानूनले गर्छ

काठमाडौं । निर्देशक सुदर्शन थापा यतिबेला प्रहरी हिरासतमा छन् । उनलाई आज दिउँसो मालीगाउँ प्रहरीले छायांकन स्थलबाटै पक्राउ गरेर प्रहरी वृत्त बौद्ध पुर्याइएको हो । बेलाबेला विवादमा परिरहने थापा पहिलोपटक भने पक्राउ परेका होइनन् ।

उनी यसअघि चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शन समयमा पनि पक्राउ परेका थिए । नायक पल शाहलाई नाबालिग बलात्कार मुद्दा पर्दा पललाई लुकाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर सामान्य सोधपुछपछि उनलाई छाडियो ।

यसपटक पनि उनी आफैले निर्देशन गरेको चलचित्र ‘प्रसाद २’ का कारण थुनामा परेका छन् । प्रहरीले उनलाई १ करोड ५० लाख रुपैँया ठगी गरेको आरोपमा प्रकाउ गरेको हो । चलचित्रका निर्माता सुर्दशन बस्नेतले उनीविरुद्ध उजुरी दिएका हुन् । आफुलाई थाहै नदिई निर्देशक थापाले चलचित्र ‘प्रसाद २’ देश तथा विदेशमा प्रदर्शन गरेर डेढ करोड ठगी गरेको बस्नेतको भनाई छ ।

निर्देशक थापा र ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध गत साउन १० गते नै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको थियो । चलचित्र ‘रावायण’ को विवादमा अनमोल केसी पक्राउ परेकै समय उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले ठगी उजुरी दर्ता गराएका थिए । पक्राउ पुर्जी जारी भएपछि थापा फरार भएका थिए भने अग्रवाललाई सोही समय प्रहरीले पक्राउ गरेको थियो । दोषी नदेखिएपछि अग्रवाल केही दिनमै रिहा भए ।

उजुरी दर्ता गराएका निर्माता बस्नेत अब बाँकी काम कानुनले नै गर्ने बताउँछन् । उनी भन्छन, ‘चलचित्रको निर्माता म हो । चलचित्र मेरो र सुवास थापाको ब्यानरमा बनेको हो । पैसा सबै मैले हाल्ने। चलचित्रको पैसाले अहिलेसम्म एक कप चिया खान पाएको छैन, उल्टै मलाई त्यत्रो पैसा ठग्ने ?’

‘प्रसाद २’ बनाउनु अघि नै चलचित्रको सबै अधिकार आफ्नो हुने भन्ने सम्झौता भएको बस्नेतको भनाई छ । ‘चलचित्र बनाउनु अघि सबै कुरा फाइनल गरेर एग्रिमेन्ट गरेको हो । लगानीदेखि कता के बेच्ने भन्ने मेरो अधिकारको कुरा थियो । तर सुदर्शन थापाले चलचित्र इन्कोडिङ गर्ने समयमा सम्पादकलाई भनेर एक कपी आफैसँग राख्नुभएछ’, उनी भन्छन्, ‘मलाई थाहा नदिई त्यो चलचित्र अमेरिका र अष्ट्रेलिया पठाइयो । पछि सम्पादकलाई सोध्दा सुदर्शन थापाले भनेर गरेको भन्ने कुरा आयो ।’

चलचित्र आफुलाई थाहै नदिइ बेचेपछि बस्नेतले थापालाई म्यासेज र कल पनि गरेका थिए । ‘सुदर्शन थापा वरिष्ठ प्रधानमन्त्री जस्तो मान्छे हो । हामीसँग कहाँ बोल्छ र ? अहिले पक्राउ पर्दा त के, कसो हो भनेर बुज्न मलाई एक कल गरेको छैन । अर्काले मिलाइदिन्छ भनेर गमक्क परेर बसेको छ । अष्ट्रेलिया र अमेरिका त पठायौँ–पठायौँ, दुबई चाहिँ नपठाउ है भनेर मैले त्यति बेला नै उसलाई म्यासेज गर्या हो । तर एउटा रिप्लाई त गरेन’, बस्नेतले सुनाए ।

‘म्यासेजको रिप्लाई त के, मसँग सम्पर्कमा आउन पनि खोजेन सुर्दशन थापा । उसको श्रीमतीलाई म चिन्दा पनि चिन्दिनँ । विकास बोर्ड त त्यसै पनि पन्छिहाल्छ । एक त विकास बोर्डको सरोकारको विषय पनि भएन यो’, उनले जोडे, ‘निर्देशकमात्र भएकोे मान्छेले म नयाँ मान्छेलाई गेम खेलेर डेढ करोड खायो । उल्टै मैले ३०, ४० लाख रुपैँया तिर्नुपरेको छ । चलचित्र उसको मनमर्जीले बेच्ने अनि कतै खर्च आयो भने चाहिँ निर्माता उहाँ हो भनेर मेरो नम्बर दिने । यसलाई केही थाहा छैन भनेर मलाई नियोजित तरिकाले सुदर्शन थापाले फसायो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर