जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्- पार्टी छाडेर जानेहरू आफ्ना थिएनन् चिन्ता नगरौं – Nepal Press

जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्- पार्टी छाडेर जानेहरू आफ्ना थिएनन् चिन्ता नगरौं

रूपन्देही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक स्थिरताबिना कसरी मुलुकको विकास हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले नेपालको राजनीतिक इतिहासमा २००७ देखि २०८० सालसम्म कुनै पनि सरकार पाँच वर्षसम्म चल्न नसकेको बताए ।

जसपा नेपाल जिल्ला समिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने, ‘एउटा सरकार आउँछ, केही योजना बनाउँछ, त्यो योजना कार्यान्यवन हुन अघि जान्छ । फेरी अर्को सरकार आउँछ र जान्छ अनि विकास कसरी हुन्छ ? सुशासन कसरी हुन्छ ?

उनले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढ्ने बताए । उनले राजनीतिक अस्थिरताले विकासको गति रोकिने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन ।’

उनले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिए पनि १ प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको दाबी गरे । उनले भने, ‘जसपा नेपालमा डेढ लाख क्रियाशील सदस्य छन्, तीमध्ये १ हजार पनि उता गएका छैनन् । सत्ता बचाउन जसपा नेपाल फुटाइएको आम रुपमा घोषणा गरियो ।’

उनले मधेश आन्दोलन र अन्य आन्दोलनमा फरक रहेको दावी गरे । मधेश आन्दोलनले मधेशी, महिला, मुस्लिम, दलित, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका प्रतिनिधित्व बढाएको र जीवन प्रणालीमा समेत परिवर्तन ल्याएको बताए । अध्यक्ष यादवले पार्टीबारे नकारात्मक कुरा नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर