क्रिकेट खेलाडी ड्यालसको पशुपतिनाथ मन्दिरमा, नेपाली समाजद्वारा पञ्चेबाजा बजाएर स्वागत
ड्यालस (अमेरिका) । आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि अमेरिका आएका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानमा नेपाली समाज टेक्ससले सोमबार बिहान टेक्ससको युलेस सिटी स्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कोच मोन्टी देसाई लगायत खेलाडीहरुको सहभागिता थियो ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले खेलाडीलाई विजयको शुभकामना दिँदै नेपाली टीमले जित्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले नेपालको नाम संसारभर चिनाउन खेलाडीहरुलाई शुभकामनान व्यक्त गरिन् ।
कार्यक्रममा युलेस सिटीका काउन्सिलम्यान टीका पौडेल, नेपाली जनसम्पर्क समितिका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायतले खेलाडीलाई शुभकामना दिएका थिए ।
त्यस अघि मुख्य कोच देसाइ, टीम कप्तान रोहित पाैडेल, खेलाडीहरू गुलशन झा, सोमपाल कामी लगायत खेलाडीहरुले पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेका थिए ।
त्यस क्रममा मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डित, मेघराज निरौलाले वेदको स्वस्ती वाचनबाट विजयको लागि शुभकामना व्यक्त गरेका थिए ।
खेलाडीहरूको सम्मानका नेपाली समुदायले पञ्चेबाजा समेत बजाएका थिए। कर्यक्रमममा मुख्य कोच देसाईले सबैको आशिर्वादले नेपाली टिम उत्साहित रहेको उल्लेख गर्दै सम्मानका लागि धन्यवाद ज्ञापन गरेका थिए ।