टी-२० विश्वकपमा दुई नेपाली ब्याट्सम्यान- कान्छा कप्तान रोहित र विश्व कीर्तिमानी दीपेन्द्र – Nepal Press

टी-२० विश्वकपमा दुई नेपाली ब्याट्सम्यान- कान्छा कप्तान रोहित र विश्व कीर्तिमानी दीपेन्द्र

काठमाडौं । सन् २०२१ मा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीमाथि अनुशासन कारबाही नभएको भए रोहित पौडेलले नेपाली राष्ट्रिय टोलीको कप्तानी पाउने सम्भावना सायदै रहन्थ्यो । तर घटनाक्रमले रोहितको भागमा कप्तानी ल्याएर छाड्यो ।

ज्ञानेन्द्र मल्लपछि कप्तान बनेका सन्दीप लामिछानेबाट केही समयमै रोहितमा जिम्मेवारी सर्यो । लामिछानेमाथि फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ–क्यानले उनलाई निलम्बन गर्यो भने रोहित नयाँ कप्तान नियुक्त भए ।

त्यसयता एकदिवशीय र टी–२० दुवै राष्ट्रिय टोलीको कप्तान रहेका रोहितले आईसीसी टी–२० विश्वकपमा नयाँ कीर्तिमान बनाउँदैछन् । उनी विश्वकपमा कप्तानी गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुनेछन् । नेपालले जारी विश्वकपको पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै छ ।

यही खेलबाट उनले विश्व क्रिकेटको सबैभन्दा कान्छो फर्म्याटको विश्व महाकुम्भमा इतिहास रच्नेछन् । तर रोहितको गरिमा कान्छा कप्तानमा मात्र सीमित छैन । उनी नेपालका प्रभावशाली ब्याट्सम्यान हुन् ।

सन् २००२ मा नवलपरासीमा जन्मिएका रोहितले सन् २०१८ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी हाल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन् ।

उनले ६ खेलका ५८ इनिङ्समा एक हजार ५ सय ८६ रन जोडेका छन् । त्यसमा एक शतक र ९ अर्धशतक समावेश छन् । दोस्रो स्थानमा रहेका आसिफ शेखको नाममा एक शतक र १२ अर्धशतकसहित एक हजार ४ सय १ रन छ ।

रोहित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान हुन् । उनले ४९ खेलका ४७ इनिङ्समा ६ अर्धशतकसहित एक हजार १ सय ८ रन जोडेका छन् । पहिलो स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । दीपेन्द्रले ६४ खेलका ५६ इनिङ्समा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय २६ रन जोडेका छन् ।

दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्व क्रिकेटकै तेस्रो खेलाडी पनि हुन् । युवराज सिंह र कायरन पोलार्डपछि उनले यस्तो सफलता हात पारेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका लगातार ६ बलमा दुईपटक ६ छक्का प्रहार गरेका छन् । यस्तै ९ बलमा अर्धशतक पूरा गर्ने सम्भवत तोड्नै नसकिने विश्व कीर्तिमान पनि दीपेन्द्रको नाममा छ ।

दीपेन्द्र कुनै समय नेपाली क्रिकेटको भावी कप्तानका रुपमा हेरिएका थिए । तर सन् २०२१ को बहुचर्चित अनुशासन प्रकरणका कारण उनको तत्कालीन उपकप्तानको जिम्मेवारी गुम्यो । त्यसपछि सन्दीपलाई कप्तान नियुक्त गर्दा उपकप्तान खाली राखिएको थियो ।

सन्दीपलाई निलम्बन गर्दा नयाँ कप्तानका रुपमा रोहितलाई अघि सारिएको थियो । अहिले पनि उपकप्तानको जिम्मेवारी कसैलाई दिइएको छैन ।

सन् २०१७ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दीपेन्द्रले यी सबै घटनाक्रमबीच खेलाडीका रुपमा आफुलाई अब्बल सावित गरिरहेका छन् । मध्यक्रममा उनले आफूलाई राम्रो फिनिसरका रुपमा स्थापित गरिरहेका छन् । कान्छा कप्तान रोहितले आफूभन्दा सिनियर खेलाडी समेतलाई एकताबद्ध गरेर आफ्नो व्यक्तिगत प्रदर्शनलाई पनि उत्तिकै निखार्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर