के चीनको पत्रकारिता राज्य नियन्त्रित छ ?
चीन हाम्रो छिमेकी देश । सिमाना जोडिएको देश भएर पनि हामी अझै चीनको समाज, राजनीति, पत्रकारितालगायतमा अनुमानका आधारमा धारणा बनाएका हुन्छौं । अझ यहाँको पत्रकारितालाई हेर्ने दृष्टिकोणको कुरा गर्दा त चीनमा समाचारका कन्टेन्ट निर्माण गरिन्छ भन्ने आमधारणा पाइन्छ । हामी छिमेकमा भएर पनि चीनलाई परिपक्व दृष्टिकोणबाट बुझ्न सायद सकेका छैनौं । नेपाली सञ्चारमाध्यमहरुले पनि यहाँको समाज, राजनीति तथा यसका विषयलाई आमनागरिक स्तरमा बुझाउन नसके जस्तो लाग्छ ।
कम्युनिष्ट पार्टीले शासन गरिरहेको र विश्वलाई चकित पार्नेगरी अर्थतन्त्रमा उदाएको देश चीनले पत्रकारिता क्षेत्रको विकास चाहिँ कसरी गरिरहेको छ त ? के चीनका सञ्चारमाध्यमले समाजका, राज्यका विषयमा आलोचनात्मक र रचनात्मक पत्रकारिता गरिरहेका छैनन् ? बदलिँदो परिवेशमा यहाँको पत्रकारिता अभ्यास कस्तो छ ?
यी प्रश्नको जवाफ थाहा पाउन यहाँको समाज तथा राजनीतिक प्रणालीबारे बुझ्न जरुरी हुन्छ । कम्युनिष्ट पार्टीले शासन गरिरहेको चीनको राजनीतिक प्रणाली लेनिनवादी पार्टी राज्य प्रणाली हो, तर बजारीकरण, विश्वव्यापीकरण र नयाँ मिडिया प्रविधिहरुले गर्दा पछिल्लो समय यहाँको मिडिया उद्योगमा धेरै ठूलो रुपान्तरण भएको छ ।
हामीले नेपालमा अभ्यास गरिरहेको पत्रकारिताभन्दा चीनको सञ्चार प्रणाली फरक छ ।
- पहिलो- चीन अहिले विश्वको सबैभन्दा विशिष्ट, जटिल र द्रुत रूपमा विकसित मिडिया प्रणाली भएको देश हो ।
- दोस्रो- चीनको मिडिया प्रणालीले अहिले व्यवस्थित पुनर्संरचनाको अनुभव गरिरहेको छ, जसलाई मिडिया कन्भर्जन्स भनिन्छ । विशेषगरी डिजिटल क्रान्तिद्वारा सञ्चालित मिडिया कन्भर्जन्स विश्वको लागि उदाहरणीय छ ।
- तेस्रो- चिनियाँ मिडियाको प्रभाव पछिल्लो समय विश्वव्यापी विस्तार भइरहेको छ । यतिमात्र होइन, चीनको आफ्नै इन्टरनेट छ । चीनमा इन्टरनेट पहुँच करिब शत प्रतिशत छ । गुगल जस्तै सर्च इन्जिन बइदु छ । अमेजन जस्तै अलिबाबा छ । ह्वाट्सएप जस्तै वीच्याट छ । युट्युब जस्तै युखु छ । माइक्रो ब्लगिङ वीबो छ । यस्ता कैयौं चिनियाँ चरित्रका सामाजिक सञ्जालहरु ‘प्रयोगकर्तामैत्री’ छन् ।
तर, चीनका सामाजिक सञ्जाल प्रयोगकर्ता र समाचार संस्थाहरूले सनसनी फैलाउने, घृणा फैलाउने, नकारात्मकता फैलाउने काम गर्दैनन् । नकारात्मक रिपोर्टिङभन्दा मिडियाले गर्नसक्ने धेरै कुराहरु पनि छन् भन्ने उदाहरण यहाँका सञ्चारमाध्यमले दिइरहेका छन् । महामारी जस्तो समयमा समाधान औंल्याउनु, प्रेरणादायी कुरा चित्रण गर्नु, संकटबाट बाहिर निस्कने उपायबारे रिपोर्टिङ गरेको हामीले देखेका छौं, पढेका छौं । जसलाई यहाँ कन्स्ट्रक्टिभ जर्नालिज्म अर्थात रचनात्मक पत्रकारिता भनिन्छ ।
चीनको सञ्चार प्रणाली फरक छ । पहिलो- चीन अहिले विश्वको सबैभन्दा विशिष्ट, जटिल र दु्रत रूपमा विकसित मिडिया प्रणाली भएको देश हो । दोस्रो- चीनको मिडिया प्रणालीले अहिले व्यवस्थित पुनर्संरचनाको अनुभव गरिरहेको छ, जसलाई मिडिया कन्भर्जन्स भनिन्छ ।
चीनमा खोजमूलक पत्रकारिता पनि प्रभावकारी छ । उदाहरणका लागि खोज पत्रकार वाङ खछिङले चाइना इकोनोमिक्स टाइम्समा गरेको ‘बेइजिङ ट्याक्सी भ्रष्टाचारसम्बन्धी खुलासा’लाई लिन सकिन्छ । हृदयस्पर्शी कथाहरू वा सकारात्मक ऊर्जा दिने खालका समाचारहरू पनि हामीले चिनियाँ मिडियामा हेर्न पाउँछौं । उदाहरणका लागि ‘थियानचीन उद्धार व्यवस्थापन केन्द्रका कर्मचारी यानसिवेइ (५९) ले आफ्नो जागिरे जीवनको ३२ वर्षमा ४ हजारभन्दा धेरै हराएका मानिसहरुलाई आफ्नो घर फेला पार्न सहयोग गरे ।’
तर, मूलतः यहाँको पत्रकारिता वा समाचार मिडियाको ध्येय समाजवादी देशको निर्माणमा सहयोगी हुनु हो । यहाँको पत्रकारिताको मूल नारा नै ‘जनताबाट जनतासम्म’ भन्ने छ । समाचार संस्थाहरुको नाम पनि ‘जनता’प्रति नै समर्पित छ । यहाँ पत्रकारितालाई निजी व्यवसाय मानिँदैन, तर सार्वजनिक उद्यम वा आधिकारिक सूचना सामग्री प्रदायकका रुपमा लिइन्छ । अहिले चिनियाँ पत्रकारहरूले आफ्नो पत्रकारितालाई व्यवसायिकताको विश्वव्यापी र पश्चिमी मोडेलमा पनि अभ्यस्त बनाएका छन् ।
चीनमा पत्रिका निस्कन थालेको सन् १८१५ तिरै हो । सन् १९१८ बाट त विश्वविद्यालयमा पत्रकारिता पढाउन सुरु भएको थियो । केन्द्र सरकारको मुख्य समाचार आउटलेट ७९, केन्द्र सरकारको समाचार संस्था ३८, मिडिया उद्योग ८९ तथा स्थानीय संस्थाहरुको अनलाइन समाचार स्रोतहरु एक हजार ७२ छन् । चीनको मेनल्याण्डमा करिब २ हजार पत्रपत्रिका, २ हजार ५०० बढी रेडियो टेलिभिजन, ५७ हजार प्रसारण सामग्री निर्माता कम्पनी तथा करिब तीन हजार इन्टरनेट अडियो भिजुअल एजेन्सी छन् ।
चीनमा इन्टरनेट पहुँच करिब शत प्रतिशत छ । गुगल जस्तै सर्च इन्जिन बइदु छ । अमेजन जस्तै अलिबाबा छ । ह्वाट्सएप जस्तै वीच्याट छ । युट्युब जस्तै युखु छ । माइक्रो ब्लगिङ वीबो छ । यस्ता कैयौं चिनियाँ चरित्रका सामाजिक सञ्जालहरु ‘प्रयोगकर्तामैत्री’ छन् ।
केन्द्र, प्रदेश, शहर र स्थानीय गरी राज्यको संरचना विभाजन भए जस्तै यहाँको मिडिया पनि चार तहका छन् । चीनमा ३४ प्रदेशस्तरीय मिडिया छन् । त्यसैगरी ३३३ प्रिफेक्चरस्तरीय डिभिजन, २ हजार ८४४ काउन्टीस्तरीय डिभिजन र ३८ हजार ७७३ टाउनसिपस्तरीय डिभिजनले आफ्नै मिडिया सञ्चालन गर्छन् र पत्रकार पनि तहगत रुपमा फरक फरक हुन्छन् । चीनमा पत्रकार बन्न पनि सजिलो छैन । सञ्चार तथा पत्रकारितामा स्नातक गरी कुनै मिडियामा रोजगारीका लागि छनोट भइसकेपछि मात्र पत्रकार प्रमाणपत्रका लागि आवेदन दिन योग्य हुन्छन् । तोकिएको परीक्षा र मापदण्ड पास गरेपछि बल्ल उनीहरुले पत्रकारको प्रमाणपत्र पाउँछन् ।
चिनियाँ सञ्चारमाध्यमहरुको प्रभावको कुरा गर्दा, राज्य सञ्चालित सार्वजनिक मिडियाले सत्य र आधिकारिक सूचना दिन्छ भन्ने गहिरो विश्वास चिनियाँहरुमा छ । सञ्चारमाध्यमबाट पूर्वाग्रही तथा भ्रामक सूचना आउँदैन भन्ने विश्वास पनि यहाँका नागरिकहरुमा छ । सञ्चारमाध्यममा भरोसा पनि गर्छन् ।
पछिल्लो समय चिनियाँ सञ्चारमाध्यम विश्वव्यापी भएको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्कको चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)को २४ घण्टा अङ्ग्रेजी समाचार च्यानल छ, जुन सन् २००० सेप्टेम्बर २५ मा सुरु भएको थियो । सन् २०१२ मा केन्याको नैरोबीमा सीजीटीएन अफ्रिका सुरु भयो । सन् २०१२ मै संयुक्त राज्य अमेरिकाबाट सीजीटीएन अमेरिका सुरु भयो । सन् २०१९ मा बेलायतको लन्डनमा सीजीटीएन युरोप सुरु भयो । विश्वव्यापी बजारमा बीबीसी वा सीएनएन, रूस टुडे (आरटी), अलजजीरा जस्ता प्रभावशाली माध्यमहरूकै लहरमा ग्लोबल साउथको प्रतिनिधित्व गर्दै सीजीटीएन विकासको नयाँ बाटो बनाउने दिशामा अघि बढेको देखिन्छ ।
चीनका सामाजिक सञ्जाल प्रयोगकर्ता र समाचार संस्थाहरूले सनसनी फैलाउने, घृणा फैलाउने, नकारात्मकता फैलाउने काम गर्दैनन् । नकारात्मक रिपोर्टिङभन्दा मिडियाले गर्नसक्ने धेरै कुराहरु पनि छन् भन्ने उदाहरण यहाँका सञ्चारमाध्यमले दिइरहेका छन् ।
विश्वभर विस्तारित सीसीटीभीले फरक फरक देशका मानिसहरूलाई आफ्नै तरिकामा आफ्नै कथाहरू सुनाउने अवसर दिएको छ । आफू स्थापित देशका धेरै स्थानीय कर्मचारी तथा पत्रकारहरुलाई रोजगारी दिएको छ । अर्को सिन्ह्वा समाचार एजेन्सीको कुरा गर्ने हो भने यो जनवादी गणतन्त्र चीनको आधिकारिक प्रेस एजेन्सी हो, जुन चीन केन्द्रीय सरकारको मातहतको मन्त्रालयस्तरको संस्था हो । यसको अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य हुन्छ । सिन्ह्वा कम्युनिष्ट पार्टी र चिनियाँ केन्द्रीय सरकारसँग सम्बन्धित महत्वपूर्ण समाचारहरू वितरण गर्ने माध्यम हो ।
अर्को समाचार संस्था चाइना रेडियो इन्टरनेशनल चीनको सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय रेडियो प्रसारक हो, जसमा ३२ विदेशी ब्युरो, ६ मुख्य ब्युरो तथा ६५ भाषामा कार्यक्रम प्रशारण हुन्छ । चिनियाँहरु सामाजिक सञ्जालको प्रयोग निकै प्रयोग गर्छन् । अरु देशमा जस्तै यहाँ पनि गलत सूचना, भ्रामक जानकारी सामाजिक सञ्जालबाट प्रवाह गर्ने चिन्ता भने उस्तै देखिन्छ । सामाजिक सञ्जालमा सूचना उत्पादन, बनावट गलत सूचना र नक्कली समाचारको जोखिम, एल्गोरिदमिक/स्वचालित/बट्स, पत्रकारिताको चिन्ता, एआईको सम्भावना र चुनौतीबारे अहिले बौद्धिक वृत्तमा धेरै बहस हुने गरेको छ ।
यद्यपि चीन जसरी आफ्नै विकास पथमा अघि बढेको छ । यहाँको सञ्चार प्रणाली पनि मौलिक छ । यहाँको सञ्चार प्रणाली, उच्च प्रविधि र सञ्चारको मौलिक शैलीलाई कतिपय विकासशील तथा विकसित देशहरुले पनि चासोका साथ हेर्न थालेका छन् ।
(चीनको बेइजिङस्थित कम्युनिकेशन युनिभर्सिटी अफ चाइनामा अन्तर्राष्ट्रिय सञ्चार विषयमा पीएचडी अध्ययनरत वाग्लेसँग नेपालप्रेसकर्मी प्रतिमा सिलवालले गरेको कुराकानीमा आधारित ।)