अस्पतालको २२ करोडको ठेक्कामा व्यवसायीले लगाए मिलेमतोको आरोप, अख्तियारमा उजुरी – Nepal Press

अस्पतालको २२ करोडको ठेक्कामा व्यवसायीले लगाए मिलेमतोको आरोप, अख्तियारमा उजुरी

रुपन्देही । रुपन्देहीका निर्माण व्यवसायीहरुले भैरहवाको रण अम्बिका आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्का मिलेमतोमा खोलिएको आरोप लगाउँदै विरोधमा उत्रिएका छन् ।

कम रकम भएको टेण्डरलाई पन्छाउँदै निर्धारित रकमसँग नजिकै भएको टेण्डर रकम स्वीकृत गरिएको भन्दै उनीहरुले यसको छानविनको माग गरेका छन् । यो विषयमा अहिले छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । यो नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रिया विवादित बनेको छ ।

२२ करोड ३० लाख रुपैयांको भवन निर्माणका लागि निर्माण कम्पनीले घटीघटाउमा १७ करोड ५० लाख भन्दा कम रकममा काम गर्न तयार भई टेण्डर दर्ता गर्दा समेत ४ करोड रुपैयाँ बढी रकम उल्लेख गरेको कम्पनीलाई स्वीकृत गर्नुले ठूलो घोटाला गर्न खोजिएको भन्दै छानवीन र कारवाही गर्न माग गर्दै उजुरी दिइएको हो ।

रणअम्बिका आँखा अस्पताल अर्ध सरकारी निकाय भएकाले उक्त टेण्डर प्रकृयामा अख्तियारको दुरुपयोग भएको आशंका भएकाले छानविन हुनुपर्ने निर्माण व्यवसायी तथा जबिन कक्षपतिले बताए ।

उनी रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार हुन् । उनका अनुसार बाबुल कन्ट्रक्सन कम्पनीले १८ करोड २६ हजारमा र एनबी कन्ट्रक्सन कम्पनीले १८ करोड ४६ हजारमा भवन निर्माणको ठेक्का लिन तयार भई टेण्डर प्रकृयामा सहभागी भएपनि नव सिर्जनशिल कन्ट्र«क्सन कम्पनीको भ्याटसहित २२ करोड २९ लाख १० हजार ९७ रुपैयाको बोलपत्र स्वीकृत गरिएको छ ।

मोटो रकम घोटालाको योजना बनाएर अस्पताल प्रशासन र इन्जिनियरिङ कन्सल्टेन्सीले ५ करोडसम्म बढी लागत इस्टिमेट गरेर टेण्डर आव्हान गरिएकाले उक्त टेण्डर प्रक्रियाको छानवीन गर्न माग गरिएको व्यवसायी कक्षपतिले बताए ।

टेण्डरमा कविन्द्र निर्माण सेवा काठमाडौ, एपिएम कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रालि काठमाडौं र नव सिर्जनशिल कन्सट्रक्शन कम्पनी प्रालि काठमाडौंको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको थियो ।

टेण्डरमा चलखेल गर्न ई बिडिङ नगरी हार्डकपी नै पेश गर्नुपर्ने प्रावधानले पनि मिलेमतोको दावीलाई बल पुगेको व्यवसायी नवराज श्रेष्ठले बताए ।संघले टेन्डर प्रक्रियाप्रति विरोध जनाउँदै कानूनी उपचारमा जाने जनाएको छ ।

अस्पतालले २०८० चैत्र १६ मा भवन निर्माणका लागि नागरिक दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार ठेक्का नं एलइएल एलसीबी वर्क ०१–८०।८१ बोलपत्रमा भाग लिएका १७ वटा फर्म कम्पनी दर्ता भएका मध्ये अधिकांश निर्माण व्यवसायीहरुलाई प्राविधिक प्रस्तावमा अस्वीकृत गरी सीमित कम्पनीलाई प्रतिस्पर्धामा सहभागी गराएको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् ।

संघका अनुसार २०८१ जेष्ठ ४ गते प्राविधिक प्रस्ताव स्वीकृतको आशय प्रकाशित गरी ३ वटा फर्म मात्र प्राविधिक प्रस्तावमा स्वीकृत गरिएको थियो । सो विषयमा संघले ९ जेष्ठमा प्रस्ताव छनौट पुनः मूल्याङ्कनका लागि पत्र पठाए पनि जबाफ नपाएको अध्यक्ष मञ्जु भुसालले बताइन । अस्पतालले १८ जेष्ठमा बोलपत्र स्वीकृतिको आशय प्रकाशित गरी नियोजित रुपमा निर्माण कम्पनी छनोट गरेको उनले बताइन् ।

विडिङ्गमा निर्माण व्यवसायीहरुका १७ वटा कम्पनीहरु प्रतिस्पर्धामा भए पनि बिनाकारण अन्य कम्पनीको प्रस्ताव प्राविधिक प्रस्ताव अस्वीकृत गरी ३ वटा फर्महरु कविन्द्र निर्माण सेवा किर्तिपुर १ काठमाण्डौ, एपिएम कन्सट्रक्सन एण्ड विल्डस प्रा‍.लि काठमाण्डौ९१४, बल्खु र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा।लि काठमाण्डौ ९९, सिनामंगललाई मात्र प्रतिस्पर्धामा सहभागी गराइएको उनले बताइन् ।

सो प्रतिस्पर्धाबाट नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा। लि काठमाण्डौ ९९, सिनामंगललाई छनोट गरी २२ करोड २९ लाख १० हजार ९७९ रुपैयाँ (मु.अ.करसहित) मा बोलपत्र स्वीकृत गरिएको छ । सो कार्य मिलेमतोमा आफू अनुकुलको निर्माण कम्पनीलाई सेटिङ्ग गरेर छनोट गरिएको आरोप व्यवसायीको छ । संघले प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउनका लागि पुनः मूल्याङ्खन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन उनीहरुको आग्रह छ ।

अस्पताल प्रशासनका अनुसार सबै कानूनी प्रक्रिया अनुसार नै टेन्डर प्रक्रियाबाट निर्माण कम्पनी छनोट गरिएको छ ।लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीकी अध्यक्ष मन्जु भुसालले सम्मेलन गरी आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाउन प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव अस्वीकार गरेको आरोप लगाइन् । उनले पुनः टेण्डर आव्हान गर्न माग गर्दै माग सम्बोधन नभए आन्दोलनमा जाने बताइन् ।

प्राविधिक प्रस्ताव के कति कारणले अस्वीकृत गरिएको हो भन्नेबारे सुचनाको हक अनुसार जानकारी माग्दा नदिएकोले पनि यसमा मिलेमतो भएको आफूहरुको दावीलाई बल पुगेको भुसालले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *