अमेरिकामा नेपाली म्युजियम खोल्न एभरेष्ट म्याराथनमा दौडिए जोशी – Nepal Press

अमेरिकामा नेपाली म्युजियम खोल्न एभरेष्ट म्याराथनमा दौडिए जोशी

काठमाडौं । अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजिम’ स्थापना गर्ने उत्साहसाथ नेपालीमूलका बाल जोशीले एभरेष्ट म्याराथन दौड पूरा गरेका छन् । संसारकै अग्लो स्थानमा आयोजना हुने र संसारकै जोखिमपूर्णमध्ये मानिने तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेसँगै आँट अझ बढेको उनले बताए ।

जोशीले जेठ १६ गते ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ ८ घण्टा ५६ मिनेटमा पूरा गरे । ‘मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड शुरु भएको छ’, उनले भने ।

अमेरिकामा नेपाली (नेपाली मूल) को बसोबास बढेसँगै नेपाल र नेपाली संस्कृतिसँगको निकटता जोगाइरहने चिन्ताले जन्माएको हो- ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना । त्यही योजनाअन्तर्गत म्युजियमका लागि स्रोत जुटाउन ड्यालस, टेक्ससका बाल जोशी संसारकै अग्लो स्थानमा आयोजना हुने र सबभन्दा जोखिमपूर्ण मानिने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ दौडिन आएका हुन् ।

करिब ३ वर्षअघि नेप्लिज अमेरिकन चेम्बरको अध्यक्ष हुँदा म्युजियमको परिकल्पना आएको बाल सुनाउँछन् ।

‘नयाँ पिँढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्न, सम्पर्कको तार टुट्न नदिन केही त गर्नैपर्छ भन्ने लाग्यो । त्यहीक्रममा नेपाल हेरिटेज म्युजियमको परिकल्पना गरिएको हो । यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्युजियम हो,’ उनले भने ।

टेक्ससको युलेसमा बनेको नेपाली मन्दिरको परिसरमा अलग्गै संरचनासहित नेपाल हेरिटेज म्युजियम बनाउने उनको योजना छ । यसलाई मिनी-नेपाल अवधारणाका रूपमा अघि सार्न खोजिएको छ ।
यो अवधारणा अन्तर्गत् नेप्लिज अमेरिकन चेम्बरका तर्फबाट नेपालको पुरातत्व विभाग, पुरातत्वका क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थासँग विभिन्न चरणमा छलफल सकिएको छ ।

यही सपनाले डोर्‍याएपछि जोशी पछिल्ला तीन-चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहेका छन् । २०२३ मा मात्र पाँचवटा म्याराथन र दुईवटा अल्ट्रा म्याराथन दौडिएका उनले अबका दुई अढाई दशक नेपाल हेरिटेज म्युजियमका लागि दिने निधो गरेको सुनाएका छन् ।

७० वर्षअघि सन् १९५४ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला राखेको दिनको सम्झनामा मनाइने ‘एभरेष्ट डे’ र त्यही अवसर पारेर विगत २० वर्षदेखि हुँदै आएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन (फुल म्याराथन) दौडिन आएका उनी दौडिएरै म्युजियमको ‘फन्ड रेज’ मा लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *