पवन चाम्लिङको चार दशकको राजनीतिः यस्तो छ उदयदेखि पतनको गति
काठमाडौं । कृषकदेखि सिक्किमका मुख्यमन्त्रीसम्म भएका पवन चाम्लिङले भारतमै कीर्तिमान बनाए । भारतको सबैभन्दा लामो समय मुख्यमन्त्री भएका सँधियारी राज्य पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ज्योती बसुभन्दा लामो समय उनी सन् २०१८ अप्रिल २९ मा मुख्यमन्त्री बनेका थिए ।
सन् १९७७ देखि २००० सम्म २३ वर्ष ४ महिना १६ दिन मुख्यमन्त्री भएका ज्योती बसुलाई उनले उछिनेका थिए । अर्को सालको चुनावमा भने उनले सत्ताच्युत हुनुपर्यो । व्यक्तिगत सीट जिते पनि उनको दलको बहुमत नपुगेर उनी बाहिरिए ।
३२ सीट भएको सिक्किम विधान सभामा सन् २०१९ को चुनावबाट सत्ताबाट उनी बडारिने कमैको आँकलन थियो । तर, चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सीटमात्रै ल्याएर चुनावी मोर्चाबाट बाहिरियो । सन् २०१४ को चुनावमा २२ सीट ल्याएको दल सत्ताबाट बाहिरियो । सोही साल १० सीटमात्रै ल्याएको प्रेमसिंह (पीएस) गोले तामाङको दल सिक्किम क्रान्तिकारी मोर्चा १७ सीट ल्याएर सत्तामा पुग्यो । चाम्लिङका १० सांसद भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरे । दुई सांसद गोलेको दलमा आए । यी दुई घटनाले उनको दललाई सिक्किम विधानसभामा तेस्रो बनाइयो । यो चाम्लिङको राजनीतिक जीवनको ठूलो धक्का थियो । २५ वर्ष लगातार जित्दै एकछत्र मुख्यमन्त्री बनाएको दललाई यो ठूलो धक्का थियो ।
गत अप्रिल १९ मा भएको चुनावमा आशावादी भएर चुनावी मोर्चामा जोडिएका चाम्लिङ मतदातामाझ यो जीवनको अन्तिम चुनाव हो भन्दै भावुक बने । आफूले सिक्किमलाई एकपटक परिवर्तनको नेतृत्व चाहेको उनले बताए । तर, जनताले उनी र उनको दललाई चाहेनन् । दुई दिनअघि सार्वजनिक भएको परिणामले सिक्किम विधानसभामा मात्र नभई चाम्लिङको राजनीतिक जीवनमा संकट थप्यो । ३२ सीटमध्ये उनको दलले १ सीटमात्र ल्यायो ।
चाम्लिङले जीवनमा पहिलोपटक आफ्नो दलबाट उठ्दा चुनाव हारे । पीभी नरसिंह रावदेखि नरेन्द्र मोदीसम्मको प्रधानमन्त्री कालमा मुख्यमन्त्री भएको इतिहास बनाएका ७३ वर्षका चाम्लिङको ३१ वर्षको राजनीतिक जीवनमा यो सबैभन्दा ठूलो दुःखान्त बन्न पुग्यो । गत वर्षमात्रै भाइचुङ भुटियाले खोलेको दल हाम्रो सिक्किम पार्टी आफूमा विलय गराएर पनि यस्तो धक्का लागेको थियो चाम्लिङलाई ।
सिक्किमको रोचक राजनीति
सिक्किमको राजनीति रोचक छ । त्यहाँ दलको दबदबा सकिएपछि कमव्याक हुने सम्भावना कम छ । स्वतन्त्र हिमाली देशबाट भारतको एक प्रदेशको रूपमा पुगेको सिक्किमका पहिलो मुख्यमन्त्री भएका काजी लेन्डुप दोर्जे सिक्किम राष्ट्रिय कंग्रेस तथा भारतीय राष्ट्रिय कंग्रेसको नेताको रूपमा सत्तामा आए उनी । त्यसपछिका नरबहादुर भण्डारी सिक्किम जनता परिषद् तथा सिक्किम संग्राम परिषदबाट मुख्यमन्त्री बनेका थिए । उनको दलले भारतीय राष्ट्रिय कंग्रेसले विधानसभामा एक सीट जितेको थियो । संचमान लिम्बू सिक्किम संग्राम परिषदबाट मुख्यमन्त्री भए । त्यसपछि आएका पवन चाम्लिङले सन् १९९३ मा सिक्किम डेमोक्रेटिक फ्रन्ट दल खोले । सन् १९९४ को चुनावमा उनी मुख्यमन्त्री बने । पवनको सत्ता बाहिर्गमनसँगै आएको दल सिक्किम क्रान्तिकारी मोर्चाले ३१ सीट जितेपछि चाम्लिङको दल लोपोन्मुख भएको छ ।
उसो त सत्तामा आउँदा आफ्ना मेन्टरको दल र राजनीति दुवै सक्ने सिक्किमे राजनीतिको डीएनए नै हो । पवन चाम्लिङ र उनी अगाडिका मुख्यमन्त्री तथा उनका राजनीतिक मेन्टर नरबहादुर भण्डारीको कथा हेरे पुग्छ । चाम्लिङको राजनीति भण्डारीबाटै सुरू भएको थियो । चाम्लिङले सन् १९८५ र सन् १९८९ मा दुई पटक चुनाव जित्दा भण्डारीको सिक्किम संग्राम परिषदबाटै जितेका थिए । दोस्रो कार्यकालमा उनी उद्योग, सूचना तथा जनसम्पर्कमन्त्री बने । भण्डारी र चाम्लिङको सम्बन्ध त्यही बेला बिग्रियो । उनलाई भण्डारीले सन् १९९२ मा पार्टीबाट निष्कासन गरे । यही घटनाक्रमलले उनले सन १९९३ मा आफ्नै नयाँ दल खोलेका थिए ।
सन् १९८९ मा सिक्किम विधान सभाका सबै ३२ सीट जितेर मुख्यमन्त्री भएका भण्डारीलाई चाम्लिङको नयाँ दलले १९ सीट ल्याउँदै सन १९९४ मा सत्ताच्यूत गरिदिएर १० सीटमा झार्यो । सन् १९९९ मा ७ सीटमा खुम्चियो भण्डारीको दल । १७ सीटमा बहुमत हुने विधान सभामा चाम्लिङको दलले २४ सीट पुर्यायो । सन् २००४ को चुनावमा चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्टले ३१ सीट ल्याउँदा भण्डारी सिक्किम संग्राम परिषद राजनीतिक मोर्चामा थिएनन् । भण्डारी जोडिएको भारतीय राष्ट्रिय कंग्रेसले एक सीटमात्रै ल्यायो । सन् २००९ मा चाम्लिङले क्लिन स्विप गरेर ३२ वटै सीट जिते ।
२०१४ मा पवन चाम्लिङविरुद्धको मोर्चामा उठे उनैले मेन्टरसिप गरेर नेता भएका पीएस गोले । उनको नयाँ दल सिक्किम क्रान्तिकारी मोर्चाले १० सीट ल्यायो । नरबहादुर भण्डारीको गोलेको पक्षमा गएर भाषण गरेका थिए । सन् २०१७ जुलाई १६ मा मृत्यु भएका भण्डारीको जीवनकै अन्तिम राजनीतिक भाषण पनि गोलेकै दलको कार्यक्रममा थियो । उनले सन २०१७ फेब्रुअरी ४ मा गोलेको दल सिक्किम क्रान्तिकारी मोर्चाको स्थापना दिवसमा बोलेका थिए ।
पूर्व सरकारी शिक्षक गोलेको दल पनि चुनावभन्दा एक साल अगाडिमात्रै स्थापना भएको थियो । सन् १९९३ मा चाम्लिङको दल खोल्दाका एक प्रमुख सहयोगी थिए गोले । उनी सन् २००४ देखि सन २००९ चाम्लिङको दलबाट पाँच पटक सिक्किम विधानसभामा चुनिएर चाम्लिङको क्याबिनेटमा रहेका थिए । आफूलाई मन्त्री नबनाएर नातावाद गरेको भन्दै सन् २००९ बाट चाम्लिङसँग राजनीतिक सम्बन्ध बिच्छेद भएपछि उनी आफ्नै नेतृत्वको राजनीतिमा लागेका थिए । त्यसको ठीक एक दशमा उनी मुख्यमन्त्री बने ।
सन् २०१६ डिसेम्बरमा पशुपालन क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै उनलाई एक वर्ष कैद तथा १० हजार जरिवाना गरिएको थियो । सांसद पद पनि गयो । तर, सन् २०१८ मा जेलबाट रिहाई भएका उनी अर्को साल मुख्यमन्त्री बन्न सफल भए । उनी मुख्यमन्त्री बनेसँगै चाम्लिङको राजनीतिक पतन सुरू भएको छ ।
यो साताबाट दोस्रो कार्यकाल मुख्यमन्त्री भएर ५६ वर्षका गोले सिक्किमको सबैभन्दा शक्तिशाली राजनीतिक नेतृत्व हुँदै गर्दा त्यही बेला दुवै सीट गुमाएर चाम्लिङको निजी राजनीतिक जीवन सकिएको संकेत देखिएको छ । एक सीटमा खुम्चिएको उनको दलको सीट पनि उनकै दलको सांसद छोड्ने सन् २०१९ कै कथा नदोहोरिएला भन्न सकिन्न ।