नेदरल्यान्ड्सविरुद्ध नेपालको प्लेइङ सेटमा को-को अटाउलान् ? – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध नेपालको प्लेइङ सेटमा को-को अटाउलान् ?

काठमाडौं । नेपालले टी १० विश्वकपमा आफ्नो यात्रा आज सुरू गर्दैछ । पहिलो खेलमा नेपालले पाएको प्रतिद्वन्द्वी हो नेदरल्यान्ड्स ।

नेपाल र नेदरल्यान्ड्स हाराहारीका टीम भएकाले आजको म्याच कसको पक्षमा जाला भनेर आँकलन गर्न सजिलो छैन । दुवै टीमको ब्याटिङ लाइनअप निकै बलियो छ । गत एक दिवसीय विश्वकप समेत खेलेर ठूला टीमहरूलाई धक्का दिएको नेदरल्यान्ड्सलाई रोक्न नेपाललाई सजिलो भने हुने छैन ।

आजको खेलमा नेपालले कुनै प्रयोग नगरीकन आफ्नो ‘सेटल टीम’ उतार्ने सम्भावना छ । नेपाललाई प्लेइङ ११ को चयन गर्न खासै टाउको दुखाइ छैन । एक-दुई जनाबाहेक अरु खेलाडीहरू निश्चित नै छन् । ब्याटिङ पंतिमा पनि धेरै तलमाथि गर्न सकिने ठाउँ छैन ।

नेपालले ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखको अनुभवी जोडीलाई उतार्नेछ । उनीहरू दुवैले नेपालका लागि थुप्रै महत्वपूर्ण पारीहरू खेलिसकेका छन् । उनीहरूको ट्यूनिङ पनि मिल्छ । कुशल आक्रामक शैलीमा खेल्छन् भने आसिफ संयमित भएर ब्याटिङ गर्छन् । दुवैलाई दिइएको भूमिका पनि यही नै हो । यो जोडीले राम्रो आधारशीला बनाउन सकेको खण्डमा नेपालले ठूलो स्कोर खडा गर्न वा पछ्याउन सक्छ ।

पछिल्लो समय दुवै ब्याट्सम्यान आफ्नो उत्कृष्ट फर्ममा भने छैनन् । विश्वकप उनीहरूका लागि आफ्नो क्षमता विश्वसामु उजागर गर्ने अवसर हुनेछ ।

तेस्रो नम्बरमा नेपालका कप्तान रोहित पौडेल आउन सक्छन् । यद्यपि, परिस्थितिले माग गरेमा कुशल मल्ल वा गुल्शन झालाई पनि प्रशिक्षकले पठाउने छन् । सामान्य अवस्थामा भने रोहित नै तेस्रो नम्बरका लागि उपयुक्त ब्याट्सम्यान हुन् । क्लासिकल ब्याटिङका लागि चिनिने रोहितसँग इनिङ होल्ड गर्ने र चाहिएको बेला बाउन्ड्री निकाल्न सक्ने क्षमता छ ।

चौथो नम्बरमा कुशल मल्ल र पाँचौं नम्बरमा सन्दीप जोरालाई पठाइने सम्भावना छ । यद्यपि, सन्दीप जोरालाई बेन्चमा राखेर अनिल शाहलाई प्लेइङ ११ मा समावेश गर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । यदि अनिलले मौका पाए उनी तेस्रो नम्बरमै आउनेछन् । अनिल र सन्दीप दुवै राम्रो सम्भावना भएका ब्याट्सम्यान हुन् । यद्यपि, अनिलभन्दा सन्दीपको टेक्निक राम्रो छ । च्यालेन्जिङ पीचमा अनिलले संघर्ष गर्छन् ।

छैटौं नम्बरमा नेपालसँग दीपेन्द्रसिंह ऐरी छन् । उनलाई नेपालले केही समयदेखि फिनिसरको रूपमा प्रयोग गर्दै आएको छ । ऐरी टी २० मा नेपालका सर्वोत्कृष्ट ब्याट्सम्यान हुन् । प्राय सम्हालिएर खेल्ने उनी आवश्यकता पर्दा भने विष्फोटक रूप धारण गर्ने गर्छन् ।

नेपालको तल्लो क्रममा अलराउन्डरहरू छन् । सातौं आठौं र नवौं नम्बरमा क्रमशः गुल्सन झा, सोमपाल कामी र करण केसी रहेका छन् । उनीहरू तीनैजना उस्तै क्यालिबरका खेलाडी हुन् । यद्यपि, ब्याटिङमा गुल्सनबाट धेरै आशा गरिएको छ । उनले धेरै खेलमा निर्णायक प्रदर्शन गर्दै नेपाललाई जिताएका छन् ।

१० औं र ११ औं नम्बरमा दुई विशुद्ध बलर छन् । उनीहरू हुन् अविनाश बोहरा र ललित नारायण राजवंशी । अविनाशलाई नेपालले डेथ ओभर स्पेसलिस्टको रूपमा प्रयोग गर्ने गरेको छ । ललित भने स्पिनर हुन् । नेपालसँग स्पिनको विकल्पमा सागर ढकाल पनि छन् । तर, अनुभवका कारण ललितले मौका पाउने सम्भावना छ ।

यदी सन्दीप लामिछाने अमेरिका आउन पाएको भए ललित र सागर दुवै वेञ्चमा बस्नुपर्ने हुन सक्थ्यो । सन्दीप हुँदा नेपालको ब्याटिङ गहिराइ पनि बढ्थ्यो । तर, ललित र सागर दुवै ब्याटिङमा कमजोर छन् ।

यो प्लेइङ ११ खेलाउँदा नेपालका कप्तान रोहित पौडेलसँग बलिङ अप्सनको कमि छैन । नेपालसँग चार फास्ट बलर सोमपाल, करण, अविनाश र गुल्शन रहनेछन् । यद्यपि चारैजना फास्ट बलरसँग राम्रा ब्याट्सम्यानलाई समस्यामा पार्न सक्ने गति र धारको अभाव छ ।

स्पिनमा ललित राजवंशीलाई साथ दिन दिपेन्द्र, कुशल मल्ल, कुशल भुर्तेल र स्वयम् कप्तान पौडेल सक्षम छन् । यदि विपक्षी ब्याट्सम्यानहरूले आक्रामक शैलीमा खेले भने रन रोक्नलाई स्पिनरकै प्रयोग गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर