‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश, को हुन उनीहरू ?
काठमाडौं। निर्माणाधीन चलचित्र ‘होस्टेल ३’ को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ।
यसअघि चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टिकटकर तथा भिडियो कन्टेन्ट क्रिएटरको रूपमा चर्चित ‘कुल ब्वाई’ उर्फ पारस बम अनुबन्धित भएका थिए।
यी चार कलाकारहरूको प्रवेशसँगै यो चलचित्रको लाइनअप लगभग पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलको भनाई छ। कँडेलका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको जरुरत रहेको छ।
यही चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन्। उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्। उनले यसअघि एक चलचित्रमा अभिनय गर्ने तय भए तापनि भिसामा आएको समस्याका कारण काम गर्न पाएका थिएनन्।
रिहानलाई यो चलचित्रको प्रमुख पात्र मध्ये एक सशक्त भूमिकामा अनुबन्धित गरेको निर्देशक कँडेलले बताएका छन्।
‘हामी लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ। केही स्थापित कलाकारसँग पनि काम गर्ने विषयमा छलफल भयो तर हामीले एकदमै फ्रेस महसुस हुने कलाकारको आवश्यकता देख्यौँ,’ उनले भने, ‘अर्को कुरा हामीले वेल टेस्टेड कलाकारबाट काम निकाल्न चलचित्र बनाउन लागेका होइनौँ। नेपाली चलचित्रमा युवा कलाकारको कमी महसुस भएपछि कोही कसैलाई त ल्याउनै पर्छ भन्ने उद्देश्यले रिहान र कूल ब्वाई जस्ता प्रतिभालाई अगाडी सारेका हौँ।’
‘होस्टेल’ चलचित्र शृङ्खलाको लिगेसी स्थापित कलाकारबाट चलेको नभई ‘स्टार मेकर’को रूपमा आइरहेकाले त्यसलाई मेन्टेनु गर्नु पनि आफ्नो दायित्व रहेको निर्देशक कँडेलको भनाई छ।
अर्को प्रमुख भूमिकामा अनुबन्धित भएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा चर्चित कमेडीयन हुन। सोसल मिडियामा उनका लाखौँ फ्यान छन्।
उनले यसअघि केही नेपाली चलचित्रका स्क्रिप्ट पढे पनि चित्त नबुझेपछि काम नगरेको बताएका छन्। चलचित्रको स्क्रिप्ट अनुसार मंगोलियन पात्रको जरुरी परेकाले पदमलाई प्रस्ताव गरिएको निर्देशक कँडेल बताउँछन्।
चलचित्रमा सशक्त भूमिकामा अनुबन्धित भएकी सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। उनले केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन्।
नयाँ तर सशक्त अभिनय गर्न सक्ने र चलचित्रको लागि पात्र सुहाउँदो नायिकाको जरुरी भएकाले सिम्रनको काम हेरेर उनलाई यस चलचित्रमा लिएको निर्देशकको भनाई छ।
‘होस्टेल’को पहिलो शृङ्खला २०७० साल र दोस्रो शृङ्खला २०७२ सालमा रिलिज भएको थियो। अहिले बन्न लागेको ‘होस्टेल ३’ ‘होस्टेल’को तेस्रो शृङ्खला हो। यस चलचित्रको लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। चलचित्रको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्।
‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। शिशिर ज्ञवाली निर्माता, शङ्कर कोइराला कार्यकारी निर्माता, सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्माता रहेको चलचित्रको लाइन प्रोड्युसर कर्ण कार्की हुन्।