बजेट कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी : सांसद केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा २०८१/०८२ को विनियोजन बजेटमाथि छलफलमा भाग लिँदै उनले मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्ने खालको नआएको बताए ।
केसीले भने, ‘मुलुक आर्थिक संकटको दिशामा उन्मुख छ । अर्थतन्त्रको संकट निराकरण गर्र्र्नको निम्ति जनप्रियतामा आधारित होइन । पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी निर्मम भएर कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरेर उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिनँ भन्ने आँट अर्थमन्त्रीले लिनुपर्ने थियो । साधारण खर्च कटौतीमा गम्भीर हुन आवश्यकता छ । साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था छ । आन्तरिक राजश्व लक्ष्य पूरा हुने अवस्था छैन । वैदेशिक ऋणभन्दा आन्तरिक ऋण १ खर्ब बढी छ । त्यसले गर्दा सन्तुलित र राम्रो भन्न नसकिने अवस्था छ ।’