सदनमा सुहाङको पहिलो सम्बोधन- समृद्धिको यात्राका पैतालामा किन घाउचोटमात्रै लाग्छ ? पहिचान गरौं (भिडिओ) – Nepal Press

सदनमा सुहाङको पहिलो सम्बोधन- समृद्धिको यात्राका पैतालामा किन घाउचोटमात्रै लाग्छ ? पहिचान गरौं (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभामा भर्खरै इन्ट्री मारेका इलाम २ का सांसद सुहाङ नेम्वाङले आज सदनमा पहिलो सम्बोधन गरे । बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा उभिएका एमाले सांसद सुहाङले आफू पहिलो पटक बोल्न लागेकाले बजेट बाहेकका विषयमा पनि बोल्ने सुविधा छ भन्दै छोटो र स्पष्ट कुरा राखे ।

उनले आफू नयाँ सांसद र युवा पनि भएकाले जनताहरूको आशा र अपेक्षा अझ बढी प्रकट भएको बताए ।

‘जनताहरूको हामीप्रतिको आशा, भरोसा र विश्वास मसँग आलो छ । जनताहरूको आशा, अपेक्षा, माग र आक्रोश भर्खरै सुनेर आएको छु । म अलि युवा पनि छु । युवाहरूको परिवर्तनको हुटहुटी, चाहना र समस्याहरूलाई नजिकबाट छामेको छु । जनताहरूको ती आशा, माग र समस्या सम्बोधनका लागि यो बजेट पर्याप्त छ वा छैन ? हाम्रो सामु धेरै प्रश्नहरू छन् ।’

बजेट सुन्दा ‘अब देश बन्छ’ भन्ने लाग्ने तर फेरि एक वर्षपछि परिणाम हेर्दै गर्दा ‘घुमी फिरी रुम्जाटार’ जस्तो देखिने भन्दै सुहाङले कार्यान्वयनको समस्या केलाउन आग्रह गरे ।

‘उनले भने समस्या कहाँ-कहाँ निर हो ? विकासको बाधक को-को हो ? हाम्रो विकास र समृद्धिको बाटोमा किन पटक-पटक काँडाहरू भेटिन्छन् ? समृद्धिका यात्रामा अघि बढेका पाइतालामा किन घरीघरी घाउचोट मात्रै लाग्छ । बाटोका अवरोधहरु पन्छाउनेतर्फ पनि अब ध्यान दिने हो की ?’, उनले सोधे ।

समस्या भ्रष्टचारको हो कि, संरचनागत त्रुटि अथवा राजनीतिक अस्थिरताको ? भन्दै उनले प्रश्न तेर्साए ।

आफैँलाई प्रश्न गर्ने बेला आएको भन्दै सांसद नेम्वाङले भने, ‘हामीसँग के छैन ? प्राकृतिक हिसाबले हामी सम्पन्न छौं । जनतामा परिवर्तनको तीव्र आकाङक्षा मात्रै होइन गहिरो प्रतिबद्धता पनि छ । ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पनि छ । संविधान छ । अन्तर्राष्ट्रिय प्रतिवद्धता छ। आवधिक योजना र रणनीति पनि छ । कार्यान्वयनका लागि संरचना पनि छन् । तर, हाम्रो यात्रा किन अघि बढिरहेको छैन ? तल जनताले योजना माग्नुहुन्छ, हाम्रो योजना छनोट गर्छौं, बजेट विनियोजन गर्छौ ? तर, समयमा बन्दैन बनेपनि गुणस्तरीय नभएको तथ्य सार्वजनिक भइरहेको हुन्छ । समस्या सुशासनको हो की ? यसतर्फ विमर्शको अपिल गर्छु ।’

बजेट एक आर्थिक वर्षको आय-व्ययको समग्रता, सरकारको घोषणापत्र पनि हो भन्दै उनले यथार्थमा आधारित हुनुपर्ने जोड दिए ।

‘मलाई लाग्छ, माननीय अर्थमन्त्रीज्यूले यथार्थलाई टेकेर बजेट ल्याउनु, प्रयास गर्नु भएको छ’, नेम्वाङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर