यस्तो छ नेपाल र नेदरल्यान्ड्सले खेल्ने रङ्गशाला, पीच कति चुनौतीपूर्ण ? – Nepal Press

यस्तो छ नेपाल र नेदरल्यान्ड्सले खेल्ने रङ्गशाला, पीच कति चुनौतीपूर्ण ?

अमेरिका र क्यानडाको खेलमा जस्तै व्यवहार पीचले देखायो भने खेल हाइस्कोरिङ हुन सक्ने

काठमाडौं । टी-२० विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । नेपाली टीम जितको लक्ष्यसहित मैदानमा उत्रिने छ, तर पीच र कन्डिसनले नेपालको खेललाई धेरै प्रभाव पार्न सक्छ ।

स्वदेशी मैदानमा नेपाली टिम जति आत्मविश्वासपूर्वक ब्याटिङ गर्न सक्छ, विदेशी भूमिमा भने त्यो स्तरमा प्रदर्शन गर्न सकेको पाइँदैन । खास गरी फास्ट बलरलाई सहयोग गर्ने पीच छ भने नेपाली ब्याट्सम्यानहरू धर्मराउने गरेका छन् । त्यसैले आजको खेलमा पनि पीचको अवस्था नेपालका लागि महत्त्वपूर्ण मानिएको हो ।

अमेरिकाको टेक्सास राज्यमा पर्ने डालास शहरमा रहेको ग्रान्ड पाइरी रंगशालामा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । यसअघि यो रंगशाला ‘क्वीक ट्रिप पार्क’ र ‘द बल पार्क’ का रूपमा चिनिन्थ्यो । बेसबेल खेलाइने मैदानलाई विश्वकपका लागि क्रिकेट मैदानमा रूपान्तरण गरिएको हो ।

सन् २००८ मा स्थापना भएको यो रंगशाला सन् २०१९ सम्म अमेरिकन एसोसिएसन अफ प्रोफेसनल बेसबलको होम ग्राउन्ड थियो । २०१७ देखि २०१९ सम्म युएसएल लिग २ को टीम टेक्सास युनाइटेडले यसलाई होम ग्राउन्ड बनायो । सन् २०२० को अक्टोबरमा अमेरिकी क्रिकेट बोर्डले यो रंगशाला लिजमा लिएर क्रिकेट मैदानको रूप दिएको हो ।

सन् २०२२ को अप्रिलमा आएर रंगशालाको पुनःनिर्माण सुरु भयो । करिब २ करोड डलर खर्च गरेर क्रिकेट रंगशालामा परिणत गरिएको छ । अमेरिकाको राष्ट्रिय टिमले यही मैदानमा ट्रेनिङ गर्ने गर्छ ।

७ हजार २ सय सिट क्षमताको (१५ हजारसम्म अट्न सक्ने) यो रंगशालामा अन्तर्राष्ट्रिय म्याच भएका थिएनन् । लिग क्रिकेटमा यहाँ २२२ रनसम्म बनेको छ भने औसत स्कोर १५९ रहेको छ । यो मैदानमा वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पुरनले एमआइ न्यूयोर्क टीमबाट खेल्दै अविजित १३७ रन बनाएका थिए ।

जारी टी-२० विश्वकपको पहिलो खेल पनि यही मैदानमा भएको थियो, जसमा आयोजक अमेरिका र क्यानडा भिडेका थिए । हाइस्कोरिङ खेलमा अमेरिकाले उत्कृष्ट ब्याटिङ गर्दै क्यानडालाई ७ विकेटले पराजित गर्‍यो ।

क्यानडाले पहिलो ब्याटिङ गर्दै अमेरिकालाई १९५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर, अमेरिकाले १४ बल बाँकी छँदै लक्ष्य भेट्टायो । ८ ओभरको खेल समाप्त हुँदासम्म अमेरिकाले २ विकेट गुमाएर ४८ रन मात्र जोड्न सकेको थियो ।

पराजयउन्मूख देखिएको अमेरिकालाई अविश्वसनीयरुपमा खेलमा फर्काउँदै आरोन जोन्स र एन्ड्रिज गोउसले सहज जित दिलाएका थिए । जोन्स ४० बलमा ९४ रन हान्दै अविजित रहे ।

यदि पिचको व्यवहार त्यही रह्यो भने आजको खेल पनि हाइ स्कोरिङ हुन सक्छ । नेपाल र नेदरल्यान्ड्स दुवैसँग ठूला सटहरु खेल्न सक्ने ब्याट्सम्यान छन् । नेपालका ब्याट्सम्यानहरू फ्ल्याट पीचमा खुलेर ब्याटिङ गर्न सक्छन् । यस्तोमा नेपालका लागि कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा जस्ता विष्फोटक ब्याट्सम्यानको योगदान महत्त्वपूर्ण हुनेछ ।

यस्तो पीचमा बलिङ भने नेपालका लागि चुनौतीपूर्ण हुन सक्छ । नेपालसँग धारिला र राम्रो गति भएका फास्ट बलरहरू छैनन् । मध्यम गतिको बलमा यदि बाउन्स र स्वीङ पनि मिलेन भने राम्रा ब्याट्सम्यानहरुलाई रोक्न कठिन हुन्छ । नेपाली फास्ट बलरले लाइन र लेन्थमा भर पर्नुपर्ने छ ।

अमेरिका र क्यानडाको खेलमा दुवै टिमका बलरले ३–३ विकेट मात्र लिन सकेका थिए । अमेरिकाका दुई फास्ट बलर र एक स्पिनरले समान १–१ विकेट लिएका थिए । अमेरिकाले ५ ओभर मात्र स्पिन फ्याकेको थियो । फास्ट बलरहरू खर्चिला सावित भएका थिए । यस्तै, क्यानडाका पनि दुई फास्ट बलर र एक स्पिनरले एक–एक विकेट लिएका थिए ।

नेपालले आज चार जना फास्ट बलर खेलाउन सक्ने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी पहिलो रोजाइका फास्ट बलर हुन् भने तेस्रो बलरका रूपमा अविनाश बोहरा उत्रिन सक्नेछन् । यस्तै अलराउन्डर गुल्शन झा पनि छन् । यद्यपि, एक जना फास्ट बलरलाई बाहिर राखेर दुई स्पिनर उतार्न सक्ने सम्भावना पनि छ । ललित राजवंशी नेपालका नियमित स्पिनर हुन् भने अतिरिक्त स्पिनरका रूपमा सागर ढकाल छन् ।

टस जित्ने टोलीले ब्याटिङ रोज्नु ठिक कि बलिङ भन्ने पनि प्रश्न छ । सामान्यता फ्ल्याट पिचमा पहिले ब्याटिङ रोज्नु उपयुक्त मानिन्छ । तर, क्यानाडाविरुद्धको खेलमा दोस्रो ब्याटिङ गरेर अमेरिकाले जित हासिल गरेको थियो । नेपाली टिम पहिले ब्याटिङ गर्न त्यति आत्मविश्वासी पनि छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर