सोमपालको भिडिओ शेयर गरेर अफवाह फैलाइँदै, के हो यथार्थ ? (भिडिओ)
काठमाडौं । नेपालले विश्वकपको पहिलो म्याच खेल्ने पूर्वसन्ध्यामा एउटा भिडिओ सामाजिक सञ्जालमा शेयर भइरहेको छ । धेरैले यो भिडिओमा देखिएको दृष्यलाई लिएर ‘विभेद’ भएको भन्दै अफवाह फैल्याइरहेका छन् ।
हिजो नेपाली टीमका प्रशिक्षक मोन्टी देसाइ र केही खेलाडीहरु मन्दिर गएका थिए । सार्वजनिक भएको भिडिओ फुटेजमा प्रशिक्षक र खेलाडीले पण्डितको हातबाट टीका लगाएर प्रसाद ग्रहण गरिरहेको देखिन्छ । तर, सोमपाल कामीले भने टीका नलगाइकन प्रसाद मात्रै लिएर हिँडेका छन् । टीका लगाउनुअघि उनले आरती लिएको देखिएको छ ।
यही भिडिओ शेयर गर्दै धेरैले सोमपालमाथि विभेद भएको दाबी गरेका हुन् । तर, यो दृष्यको यथार्थ भने फरक रहेको त्यसबखत मन्दिरमै रहेका भुतपूर्व पत्रकार रामचन्द्र भट्टले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा उनले घटनाको विषयमा यसरी प्रष्ट पारेका छन्:
भिडिओ
क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुवै पुजारीले टिका लगाइदिए ।
पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टीका भएकोले पछि साथीहरुसँग जाँदा चाहिँ सोमपालले हातमा प्रसाद मात्र लिए । भाइरल बनाइएको र गाली गरिएको भिडिओ यही हो । निधारमा त्यही लगाएको टीका भएकोले उनले दोहोर्याउन चाहेनन् ।
खेलाडीहरु आफैँ खेल जिताइमाग्न मन्दिर गएका होइनन् । नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका हुन् र मन्दिरको दर्शन गरेका हुन् । बिहान ७ बजे स्वागत कार्यक्रम राखिएको थियो । नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । नत्र उनको निधारमा भएको टीका कहाँबाट आयो ? भेडाहरुले दिमाग लगाउन् ।
यस विषयमा नेपाल प्रेससँग कुरा गर्दै अमेरिकामा रहेका नेपाली टीमका म्यानेजर विनोद दासले वास्तविकता नबुझी अफवाह नफैल्याउन आग्रह गरे । सोमपालले यस विषयमा कुनै पनि गुनासो टीममा नगरेको पनि उनले बताए ।
‘विभेदको व्यवहार भएको थियो भने उनले पक्कै कम्प्लेन गर्ने थिए, त्यस्तो केही भएकै छैन’, दासले भने ।