लुम्बिनी प्रदेशमा बेरुजुको चाङ – Nepal Press

लुम्बिनी प्रदेशमा बेरुजुको चाङ

रुपन्देही । लुम्बिनी प्रदेशमा बेरुजु बढ्दै गएको छ । अहिले १ अर्ब १२ करोड ६३ लाख ४५ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गत वर्षभन्दा ३१.४८ प्रतिशत बेरुजु बढेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखापरीक्षकको कार्यालयले मंगलबार एक वर्षको प्रतिवेदन बुझाएको छ । लुम्बिनी प्रदेशका सरकारी, संघसंस्था तथा स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन बुझाइएको हो ।

महालेखापरीक्षक कार्यालयका नायब उपमहानिर्देशक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनलाई बुझाएको प्रतिवेदनमा प्रदेशका विभिन्न निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखापरीक्षणबाट देखिए‌को समष्टिगत स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति र भविष्यमा गर्नुपर्ने सुधारलाई समावेश गरिएको छ ।

प्रतिवेदनमा लुम्बिनीमा रहेका १०९ स्थानीय तहको लेखापरीक्षणबाट देखिएका संक्षिप्त व्यहोरासमेत समावेश गरिएको छ ।

महालेखापरीक्षकको छैटौं वार्षिक प्रतिवेदनमा यो वर्ष प्रदेश मन्त्रालय तथा निकायसमेत २६७ (संघीय कार्यालयलाई अख्तियारी दिइएका कार्यालयहरु समेत) को ५० अर्ब २ करोड ८२ लाख ११ हजार र २२ समिति र अन्य संस्थाको ७ अर्ब ८८ करोड ७७ लाख १८ हजारसमेत ५७ अर्ब ९१ करोड ५९ लाख २९ हजार रुपैयाँको लेखापरीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनीमा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको आर्थिक वर्ष २०७९/८० फर्छ्योट गर्नुपर्ने बेरुजु १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रहेको छ ।

लेखापरीक्षणका क्रममा प्रदेश मन्त्रालय र समिति तथा अन्य संस्थासमेत २८९ निकायको ५७ अर्ब ९१ करोड ५९ लाख २९ को लेखापरीक्षण सम्पन्न गरिएकोमा १ अर्ब १२ करोड ६३ लाख ४६ हजार रुपैयाँ बेरुजु कायम भएको हो ।

हालसम्मको बाँकी बेरुजुमा प्रदेश सरकारी कार्यालय समिति तथा अन्य संस्थाको लेखापरीक्षणबाट औंल्याइएको बाँकी बेरुजु ४ अर्ब २ करोड ९ लाख ६९ हजार रुपैयाँ रहेको छ । हालसम्मको बाँकी बेरुजु गत वर्षभन्दा ३१.४८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदनमा नीति निर्माण, कानून तर्जुमा र कानून कार्यान्वयनमा ध्यान दिन, बजेट व्यवस्थापनमा ध्यान दिन सरकारलाई सुझाइएको छ ।

त्यसैगरी प्रदेशमा रहेका १०९ स्थानीय तहमा पनि २४ अर्ब २४ करोड १० लाख ४७ हजार बेरुजु बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश प्रमुख शेरचनले हरेक वर्ष बेरुजु बढ्ने विषय सन्तोषजनक नभएको बताए । यस विषयमा आफूले सरकारलाई नियन्त्रण गर्न निर्देशन दिने उनले प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर