विश्वकपको उत्साह : कुशल भुर्तेलको गृहनगरमा नगरबासीलाई खेल हेर्न एलईडी बोर्डको व्यवस्था – Nepal Press

विश्वकपको उत्साह : कुशल भुर्तेलको गृहनगरमा नगरबासीलाई खेल हेर्न एलईडी बोर्डको व्यवस्था

रुपन्देही । विश्वकपमा नेपाली टीमका सशक्त खेलाडी कुशल भुर्तेलको गृहनगर रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सबै तिलोत्तमावासीलाई ठूलो पर्दाको एलईडी बोर्डमा खेल हेर्ने व्यवस्था गरेको छ । भुर्तेलको घर तिलोत्तमाको वडा नं १४ मा रहेको छ ।

तिलोत्तमा नगरपालिकाले नगरपालिका परिसरमा बनाएको सूचना प्रविधि पार्कमा ठूलो पर्दाको एलइडी बोर्डमा खेल हेरेर खेलाडीको सम्मान थालिएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जनाएका छन् ।

उक्त एलईडी बोर्डमा क्रिकेट,फुटबललगायतका अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली टिमले खेल्ने खेलहरुको निःशुल्क प्रत्यक्ष प्रशारण गरिने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

नगरपालिकाले बनाएको यो पार्कको एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । पार्कसँगै रहेको ठूलो नेपाली झण्डाको छेउमा बसेर तिलोत्तमावासीले खेल हेर्न पाउने छन् । नगरपालिकाले नगरको प्रशासनिक भवन परिसरमा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको छ ।

नगरपालिकाको ४० लाख रुपैयाँ आन्तरिक श्रोतबाट निर्माण भएको हो । सो अवसरमा बोल्दै पौडेलले अहिलेको युग सूचना प्रविधिको युग भएको चर्चा गर्दै यसको प्रयोगको पहुँच आम नागरिकसम्म पुर्याउन स्थानीय तहले लगानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

सूचना प्रविधिमा फड्को मारेका देशहरुले छिटो आर्थिक विकास र समृद्धि हासिल गरेको पौडेलले बताए । नगरको मुख्य प्रशासनिक भवन परिसरमा राष्ट्रिय झण्डासहितको उद्यानले राष्ट्रियताको प्रवद्र्धन गर्ने र नागरिकलाई सूचना प्रविधिमैत्री बनाउन प्रेरित गर्ने पौडेलले बताए ।

नेपालका दलहरुले ठूला राजनीतिक परिवर्तन गर्दै संविधानमा नागरिकका अधिकार लिपिबद्ध गरेर अधिकार सम्पन्न बनाएपनि व्यवहारमा घरबास, रोजगारी,शिक्षा र स्वास्थ्य उपचारको अधिकार पूर्ण कार्यान्वयन हुन नसकेकाले दलहरु गरिबी,बेरोजगारी असमानता र विभेदविरुद्ध मिलेर काम गर्नुपर्ने खांचो रहेको उनले बताए ।

दलहरु र नागरिक चुनावको मिति घोषणादेखि मतदानसम्म मात्र राजनीतिक हिसाबले बाँंडिनु पर्ने तर अरु बाह्रै महिना मिलेर विकास र समृद्धिको लागि सहकार्य गर्नुपर्ने पौडेलले आग्रह गरे ।

अहिलेको बजेट अप्ठेरो अवस्थामा आएको भन्दै पौडेलले ऋण तिर्न ऋण लिनुपर्ने वाध्यता र राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था रहेको नर्बिसेर मितव्ययी ढंगले काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।

नगरपालिकाका प्रमुख रामकृष्ण खांणले चुनावी घोषणापत्र अनुसार नगरलाई स्मार्ट र सूचनाप्रविधि मैत्री बनाउन आईटी उद्यान निर्माण गरेको बताउँदै यसबाट लाभ लिन नगरवासीलाई आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको ४० लाख आन्तरिक स्रोतबाट बनेको उद्यानमा राष्ट्रिय झण्डा, एलईडी बोर्ड र नगरभित्रका धार्मिक र सांस्कृतिक सम्पदाहरु झल्किने गरी कम्पाउण्डवालको भित्री भागमा पेन्टिङ गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर