एमाले अध्यक्ष ओली आज रुपन्देही आउँदै – Nepal Press

एमाले अध्यक्ष ओली आज रुपन्देही आउँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । भैरहवामा आजदेखि सुरु हुने एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी रुपन्देही आउन लागेका हुन् । यसअघि १६ र १७ गते गर्न लागिएको अधिवेशन अध्यक्ष ओलीको समय नमिलेका कारण सारिएको थियो ।

अधिवेशनमा ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज प‌द्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्यहरू लीला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टराई लगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले पार्टीलाई नेतृत्व सर्वसम्मत बनाउने प्रयास हुने बताए । उनले रुपन्देहीमा अधिकांश अधिवेशनमा पार्टीको सर्वसम्मत भएको उल्लेख गर्ने यो अधिवेशनमा बजार आएका नामबाट नै सर्वसम्मत हुने सम्भावना धेरै रहेको बताए ।

रुपन्देही अध्यक्षमा हालका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ पोखरेल, उपसचिव चित्रबहादुर केसी, हितराज पन्थीले दाबी गरेका छन् । तर नेतृत्व सर्वसम्मत बनाउन पहल हुने जिल्लास्तरका नेताहरू बताउँछन् ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट ८५३ जना प्रतिनिधि छानिएका छन् । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य सङ्गठित रहेको र अधिवेशनमा प्रतिनिधिसहित उद्घाटन सत्रमा ३ हजार ५ सय भन्दा बढीको उपस्थिति रहने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर