सोडारी सरकारमा विश्वासको मत छ, मन छैन – Nepal Press

सोडारी सरकारमा विश्वासको मत छ, मन छैन

कैलाली । मंगलबार एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलसँग अधिकांश पत्रकारहरूले एउटै प्रश्न गरिरहे, ‘विश्वासको मत दिएर पनि एमाले किन सरकारमा गइरहेको छैन । ’

पूर्व मुख्यमन्त्री समेत रहेका रावलले केन्द्रमा माधव कुमार नेपाल र प्रदेशमा दीर्घ सोडारी सच्चिनुपर्ने र दुबै सच्चिए मन्त्री पठाउन २ मिनेट पनि नलाग्ने बताए ।

विश्वासको मत दिएको २ सातासम्म पनि सरकारमा सहभागी नभएको एमालेले विश्वासको वातावरण सृजना भए २ मिनेटमै मन्त्री पठाउने अभिव्यक्तिले सोडारी सरकारप्रति अझै एमाले विश्वस्त नभएको देखिन्छ ।

एमाले मात्र होइन माओवादी केन्द्र पनि अहिलेसम्म सरकारमा सहभागी भएको छैन । केन्द्रमा ओली, प्रचण्ड र नेपाल एक ठाउँ नहुँदा प्रदेशमा सोडारी नेतृत्वको सरकारमा एमाले माओवादी सहभागी नभएका हुन् ।

एमाले र माओवादी नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारमा सहभागी हुने विषयमा केन्द्रमा नेपालको मुभ पर्खिरहेको बताइन्छ ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए । त्यसको केही दिन नाउपाकै टिका थापालाई मुख्यमन्त्री सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए । त्यस पछि अहिले सम्म सरकार विस्तार अगाडी बढेको छैन ।

सोडारीले जेठ ३ गते विश्वासको मत लिए। एमालेका ११, माओवादीका १०, नेकपा एकीकृत समाजवादीका ४, नाउपा रन्जिता पक्षका २ र स्वतन्त्र १ सांसदले सोडारीलाई विश्वासको मत दिएका थिए । अहिले विश्वासको मत दिएका मध्ये नेकपा एस र नाउपाका २ जना मात्रै सरकारमा छन् । विश्वासको मत दिएका मध्ये एमाले, माओवादी र स्वतन्त्र सांसद सरकार बाहिर छन् ।

विश्वासको मत पाए लगत्तै सरकार विस्तारको गृहकार्य गरि पनि अहिले सम्म २ जना बाहेक अन्य कुनै पनि दलका सांसदले मन्त्रीको जिम्मेवारी पाएका छैनन् ।

अहिले एमाले माओवादी मात्रै होइन नागरिक उन्मुक्ति पार्टीभित्र पनि समस्या सृजना भएको छ । नागरिक उन्मुक्तिका ७ मध्ये ५ सांसद विपक्षी बेच्नमा छन् २ मन्त्री छन् । अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली र प्रचण्डसँग प्याकेजमा सहभागीको कुरा लिए पनि सोडारीले विश्वासको मत पाएको १९ दिन पार हुँदासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

अनिर्णीत एमाले–माओवादी

सोडारी सरकारमा मन्त्री पठाउने विषयमा एमाले र माओवादीले प्रदेशमा अझै निर्णय गर्न सकेका छैन । शीर्ष नेताहरूबीच प्याकेजमा सहमति हुन नसक्दा यता प्रदेशमा सरकार विस्तारले तीव्रता नपाएको हो ।

केन्द्रमा सहमति भएपछि मात्रै प्रदेशमा सरकार विस्तार हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए । उनले मन्त्री पठाउने विषयमा पनि केन्द्रबाट टुङ्गो लाग्ने बताए ।

‘हामीले केन्द्रमा छलफल र परामर्श गरिरहेका छौँ अब केन्द्रबाट यो विषयको हल हुन्छ होला ’ उनले भने ‘केन्द्रमा सहमति भएपछि मात्रै प्रदेशमा सरकार विस्तार अगाडी बढ्छ ।’

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पनि केन्द्रबाट कुनै टुङ्गो नलागेको बताउँछन् । आफूहरू यस अघि नै सरकारलाई विश्वासको मत दिने तर, सरकारमा सहभागी नहुने निर्णय गरेको भन्दै उनले अहिलेसम्म उक्त निर्णयमा कुनै हेरफेर नभएको बताए ।

‘हामीले अहिले सम्म पनि सरकारमा सहभागी हुने निर्णय गरेका छैनौँ ’ उनले भने, ‘सरकारमा सहभागी हुने निर्णय गर्न केन्द्रबाट पनि केही विषयमा टुङ्गो लगाउनु पर्ला । अहिले सम्म केन्द्रबाट कुनै कुरा आएको छैन । हामी अहिले सम्म सरकार बाहिरै रहेर सरकारलाई समर्थन गर्ने पक्षमा छौँ । ’

केही समयअघि सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारको तयारी गरिएको थियो । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि एमाले असन्तुष्ट मात्रै भएन सरकार विस्तारको गृहकार्य नै गिजोलियो ।

अहिले फेरि शीर्ष नेताहरूबीच छलफल बाक्लिएको छ । उक्त छलफल सार्थक निष्कर्षमा पुगे केहीदिनभित्रै सरकार विस्तार अगाडि बढ्ने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर